किन गरे दाहालले चितवनबाट निर्वाचन लड्ने घोषणा ? यस्ता छन ४ कारण…
काठमाडौं, २३ भदौ । आम नागरिकले गरेको अपेक्षा अनुसार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाको आगामी निर्वाचन चितवनबाट लड्ने घोषणा गर्नुभएको छ । भरतपुरमा बिहीवार पत्रकार सम्मेलन आयोजना गरेर दाहालले आगामी निर्वाचन आफूले चितवनबाट लड्ने वताउनुभयो ।
दाहालको घोषणासँगै दीर्घकालीन चुनावी गठबन्धन बनाउने वताउँदै आएको कांग्रेसले चितवनमा आफ्नो राजनीतिक धरातल भने माओवादीका लागि समर्पण गर्नुपर्ने निश्चित भएको छ । स्थानीय तहको गत निर्वाचनमा दाहालपुत्री रेणुलाई भरतपुरको मेयर बनाउन दाहाल–देउवा गठबन्धन सरकारले गरेको शक्तिको खर्च यसैका लागि थियो भन्ने आम धारणा पनि सही सावित भएको छ । संविधानसभाका दुईवटा निर्वाचनमा दाहालले संसदमा प्रतिनिधित्व गरेका क्षेत्रहरु उहाँलाई फेरि संसदमा पुर्याउन ज्यादै कमजोर रहेको बुझाईपछि कांग्रेसको राजनीतिक धरातल प्रयोग गर्दै आफ्नो निर्वाचन क्षेत्र चितवनलाई बनाउन लाग्नुभएको हो ।
दाहालले संविधानसभाको पहिलो चुनाव रोल्पा र काठमाडौंबाट लड्नुभयो र दुवै ठाउँबाट जित्नुभयो । रोल्प माओवादीका धेरै नेता भएको ठाउँ हो, त्यसैले दाहालले उक्त क्षेत्र उनीहरुका लागि नै छोड्नु पर्ने वाध्यता छ । काठमाडौंमा संविधानसभाको दोस्रो चुनावमै दाहाल तेस्रो स्थानमा रहेर पराजित रहनुभयो । बल्ल बल्ल सिराहाबाट दाहाल दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्न सफल हुनुभयो । यसकारण अवको चुनावमा सिराहा पनि दाहालका लागि जोखिमयुक्त क्षेत्र बन्न पुग्यो । त्यसैले दाहालले आफ्ना सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँगको घनिष्ठताको लाभ उठाउँदै चितवनलाई आफ्नो चुनावी क्षेत्र बनाउने अभ्यास गर्नुभयो, स्थानीय चुनाव अघिदेखि नै । कांग्रेस सभापति देउवाले पनि केन्द्रीय सत्तामा आफ्नो पकड कायम राख्न चितवनका कार्यकर्ताको असन्तुष्टिका बाबजुद चितवनको कांग्रेस राजनीतिको धरातल माओवादीलाई हस्तान्तरण गर्नुभयो ।
रेणुलाई मेयरमा समर्थन गर्दा र उहाँलाई जिताउँदा दाहाल चुनावमा उठ्न आउँने बुझेरै कांग्रेसले पछिसम्म त्यहाँको राजनीतिक जमिन छाड्नुपर्ने अनुमानकासाथ कांग्रेसका कार्यकर्ताहरुले त्यसको विरोध पनि गरेका थिए । तर, सभापति देउवा र दाहालबीच यस्तो सम्वन्ध बन्यो कि, कांग्रेसका नेता—कार्यकर्ताको त्यो विरोधको कुनै अर्थ रहेन । उचित अनुचित सबै हथकण्डा, सत्ता, निर्वाचन आयोग, अदालत जे जे प्रयोग गर्नुपर्छ गरेर दाहालपुत्री रेणुलाई भरतपुरको मेयर बनाइछाडियो । यसले सत्ता गठबन्धनका एक मुख्य नेतालाई निर्वाचन क्षेत्र त मिलेको छ तर, चितवनको राजनीतिक जमीन भने कांग्रेसले सधैंका लागि छोड्नु पर्ने अवस्था उत्पन्न भएको छ ।
काठमाडौंबाट पहिले पनि तेश्रो नम्बर बनेर पराजित भएको तथा बल्ल जितेको सिराहाको अवस्था झन् कमजोर भएकाले दाहाललाई बलियो निर्वाचन क्षेत्र चाहिएको थियो । माओवादी स्रोतका अनुसार, निर्वाचन क्षेत्र खोजीको क्रममा दाहालले गत निर्वाचनमा गिरिराजमणि पोखरेलले जितेको महोत्तरी र हरिबोल गजुरेलले जितेको सिन्धुलीको क्षेत्रलाई पनि नजिकबाट नियालीरहनु भएको थियो । ती क्षेत्रमा पनि नयाँ विभाजन हुँदा जित्ने निश्चित नदेखिएपछि दाहालले चितवन नै रोज्नुभयो । रुकुममा माओवादी बलियो भए पनि संसदमा ल्याउनै पर्ने अन्य केही नेतालाई सो क्षेत्र चाहिएकाले दाहाल चितवनमा जान वाध्य हुनुभयो ।
चितवनबाट दाहालको उम्मेदवारी घोषणाले भारतीय नीति निर्माताले भने झैं आगामी प्रदेश र संसदको चुनावमा कांग्रेस–माओवादी गठबन्धन बनाइने स्पष्ट भएको छ । नत्र तुलनात्मक रुपमा कांग्रेस बलियो ठानिएको क्षेत्रमा दाहालको उम्मेदवारी घोषणा हुने थिएन । दाहालले सांसद हुन कांग्रेसको सामथ्र्य प्रयोग गर्नुपर्ने भएपछि कांग्रेस र माओवादी निश्चितै रुपमा चुनावी तालमेलमा जान वाध्य हुन्छन् भन्ने भारतीय पक्षको पनि बुझाई छ । भारतीय विदेशमन्त्री सुश्मा स्वराजले गत महिना नेपाल आउँदा नै ‘मिल्ने जोडी’ भन्दै दाहाल देउवालाई गठबन्धन दीर्घकालीन बनाउन निर्देशन शैलीमै सुझाव दिनुभएको थियो । सोही सुझावलाई केन्द्रमा राखेर दाहाल माओवादीले एक्लै नजित्ने क्षेत्रमा उम्मेदवार बन्दै हुनुहुन्छ ।
वर्तमान सत्ता गठवन्धनका निर्माता तथा शुभचिन्तक भारतीय सत्ता र त्यहाँको नेपाल सम्बन्धी नीति निर्माताहरुले आउँदो प्रदेश र केन्द्रीय संसदको चुनावमा कांग्रेस र माओवादीबीच बलियो गठवन्धन हुनुपर्ने तथा त्यसमा राष्ट्रिय जनता पार्टीलाई पनि सामेल गरिने सार्वजनिक रुपमै वताउँदै आएका छन् । खासगरी भारतले चाहे अनुसार संविधान संशोधन गर्नु पर्ने र अहिलेको संसदमा त्यसका लागि दुईतिहाई नपुगेको गुनासो प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष गरिसक्नु भएको छ । साथै देउवाले आगामी चुनावमा दुईतिहाई पुर्याएर भारतले चाहे अनुसार संशोधन गर्ने सार्वजनिक वचनवद्धता नै ब्यक्त गर्नुभएको छ । संविधान संशोधनका लागि दुईतिहाई जुटाउन कांग्रेस, माओवादी र राजपाको आफूपक्षीय मोर्चा बनाएर आगामी चुनावमा जाने भारतले खुलेरै ब्यक्त गरेको छ ।


