‘भारतको चाकरी नगरेसम्म सत्तामा पुग्न सक्दैनौ’ : माधव नेपाल
काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजा महेन्द्रले नेपालको स्वाभिमान जोगाएका कारण उनलाई गाली गर्न नहुने बताएका छन् ।

अनेरास्ववियु विदेश विभागले आयोजना गरेको ‘परिवर्तित विश्व सन्दर्भमा नेपालको विदेश नीति र युवाहरुको भूमिका’ विषयक गोष्ठीमा बोल्दै माधवकुमार नेपाले स्वाभिमानको कुरा गर्दा महेन्द्रीय राष्ट्रवाद भनिनु दुखद् भएको बताएका हुन् ।
‘अहिले राष्ट्रिय स्वाभिमानको कुरा गर्दा महेन्द्रीय राष्ट्रवाद भन्ने गरिन्छ । त्यो गलत कुरा हो,’ नेता नेपालले भने, ‘राजा महेन्द्रले हाम्रो स्वाभिमान जोगाएका हुन् । राजा भन्नेबित्तिकै गाली गर्नुपर्छ भन्ने छैन ।’
गोष्ठीमा उनले भारतको चाकरी नगरेसम्म सत्तामा पुग्न सक्दैनौँ भन्ने मानसिकता नेपाली नेताहरुमा रहेको भन्दै आलोचना गरे ।
उनले विदेशनीतिमा शब्दहरुको ठूलो अर्थ रहने बताउँदै ‘समदूरी’ को सट्टामा ‘समनिकटता’ शब्द प्रयोग गरिनुपर्ने बताए ।
वरिष्ठ नेता नेपालले माओवादी र अन्य दलबीच भएको १२ बुँदे सम्झौताम भारतको कुनै हात नरहेको दाबी पनि गरे।
‘म प्रत्यक्ष साक्षी छु, १२ बुँदे सम्झौतामा भारतको कुनै हात छैन,’ नेता नेपालले भने, ‘नारायणमान बिजुक्छेले भनेजस्तो त्यो सम्झौता पहिले अङ्ग्रेजीमा लेखेर पछि नेपालीमा उल्था गरेको कुरा साँचो होइन।’
‘यो कुरा होइन भनेर म कराएको करायै छु, कोही सुनिरहेको छैन,’ नेपालले थपे ।


