१३ सय माओवादीले रगत बगाएपछि मधेसवादी दलहरुले संघीयता भन्न पाए : प्रचण्ड
काठमाडौं, २४ भदौ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १३ सय माओवादीको त्याग, तपस्या र बलिदानीबाट मधेसवादी दलहरुले संघीयता भन्न पाएको बताएका छन् ।

फाईल फोटो
शनिबार बारा जिल्लाको कलैयामा आयोजित चुनावी सभालाई सम्बोधन गदै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ”हामीले जनयुद्ध लडेर मधेसमा १३ सयको रगत बगाएर सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाइँ उचाइमा पुगेपछि मधेसवादी दल पनि संघीयता भन्न सक्ने भए ।’
अध्यक्ष प्रचण्डले मधेसीको तागतले संघीयता नआएको बताउँदै उनीहरुले अहिले संघीयता ‘हाम्रो’ भन्न खोजेको आरोप समेत लगाए । उनले अगाडि भने, ‘अहिले मधेसी दलहरु संघीयता हाम्रो भन्न खोज्दैछन्, उनीहरुको तागतले संघीयता आएको होइन, क्षेत्रीय र पृथकतावादी शक्तिले देशको नेतृत्व गर्न सक्दैनन् ।’- साझापोष्ट


