फोन, एसएमएस तथा प्रत्यक्ष भेटी धम्की दिँदै पैसा असुल्ने एकजना पक्राउ
भैरहवा, २५ भदौ । व्यवसायीहरुलाई फोन, एसएमएस तथा प्रत्यक्ष भेटी धम्की दिँदै पैसा असुल्ने एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ । यही समूहले भैरहवाका उद्योगी कुलप्रसाद न्यौपाने र व्यवसायी विष्णु शर्मालाई गोली प्रहारसमेत गरेको थियो, दृष्टीन्यूजमा खबर छ ।
डीएसपी धर्म भण्डारीको कमाण्डमा खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान टोलीले पक्राउ गरेका भारत रक्सौल नगरपालिका–१ मोतिहारी जिल्लाका रामसिंह यादव भन्ने पंचम तिवारीका छोरा पचास बर्षीय अरविन्द भनिने बब्लु तिवारीलाई आइतवार जिल्ला प्रहरी कार्यालय भैरहवामा सार्वजनिक गरीएको हो । उनले सीमावर्ती भारतीय बजार सुनौलीमा गिट्टी–बालुवाको काम गर्ने र त्यही आवरणमा अपराधिक गतिबिधि गर्दै आएका थिए ।
यसअघि उनलाई २०६६ सालमा पनि रुपन्देही प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला उनलाई लागूऔषध, ब्राउनसुगर र हतियार ओसारपसारको अभियोगमा मुद्दा लगाइ पुर्पक्षका लागि थुनामा राखिएको थियो । थुनामुक्त भएपछि भारत नौतनवा ग्राम सुनौली टोल बस्ने पंचम तिवारीको ३० वर्षको छोरा बब्लु तिवारी भनी नाम र ठेगना परीवर्तन गरी पुन अपराधमा फर्किएका थिए ।
त्यसपछि उनी पुनः लागूऔषध, फोनमार्फत् धम्की र रकम असुली गरेको आरोपमा २०७३ पुस २९ गते लागू औषध व्यूरो कोटेश्वरले पक्रा गरी मुद्दा चलाउँदा तिवारीले आफ्नो नाम बब्लु तिवारी नलेखाई भारतको मोतीहारी थाना रक्सौल नगरपालिका १ बस्ने रामसिंह यादवको छोरा अरविन्द यादव लेखाएको पाइएको प्रहरीले जनाएको छ । तिवारी हत्याको ठिक एक महिनापछि उनलाई लागूऔषधको आरोपमा कोटेश्वर प्रहरीले पक्राउ गरेको हो ।
तत्कालीन समयमा युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या हुने बेला तिवारीले ‘दुर्गा तिवारीको मौत तो अभि ट्रेलर है, पुरी फिल्म देखाएगें’ भन्दै मधेशी जनमुक्ति सेनाको संयोजक प्रतापसिंह मधेशी हुँ भन्दै भैरहवाका उद्योगी व्यवसायी र पत्रकारहरुलाई एसएमएस गरी धम्क्याएको प्रहरीले जनाएको छ ।


