‘रन्जु दर्शना’लाई मुलुक पारिवाट यस्तो खुल्ला पत्र…

प्रिय रन्जु दर्शना,
तिमी अचेल चर्चामा छौ। बजारमा तिम्रो बिषयमा चर्चा भईरहेको छ। कसैले तिम्रो बिरोध गरिरहेको छ भने कसैले तिम्रो समर्थन। आकाश पाताल फरक छ तिम्रो र मेरो बिचारमा तर एउटा कुरा चाहिँ मिल्छ, तिमी पनि युवा हौ, जोस र जांगर भएका नयाँ अनुहारका युवाहरु राजनितिमा आउनुपर्छ भन्ने मेरो पनि मत हो।

त्यसैले केही क्षणको लागि आ-आफ्ना सिद्धान्त र वादहरुलाई थाती राखेर एक पटक देश बनाउने अभियानमा लागौं। यहि अपेक्षाका साथ मैले मेरो वादलाई विश्राम राखेरै भएपनि तिम्रो समर्थनमा यो पत्र धेरै टाडावाट लेख्न गईरहेको छु। समय पाए अबस्य हेर्नुहोला।

हामीले करिव पौने शताब्दी राजनितीक क्रान्तिमा समय गुजारा गर्‍यौं। इतिहासकै महत्त्वपूर्ण कडि आज हाम्रो अगाडी आईसकेको छ। यसमा तिमी जुन कदम उठाएकी छौ, त्यसमा मेरो समर्थन छ। तिमी बर्तमान हौ। म पनि बर्तमान नै हुँ। अहिले हामी वर्तमानमा जिइरहेका छौँ। यो युग तिम्रो हो र मेरो पनि। त्यसैले युगले तिम्रो भुमिका मागेको छ। युवाको भुमिका मागेको छ। त्यसैले तिमि जुन भुमिकामा देखिएकी छौ, त्यसमा मेरो समर्थन छ पूराका पुरा।

हाम्रो देश धमिरा लागेर वर्वाद भएको छ। मैले भन्दैन यो मुलुक सतिले सरापेको देश हो। मैले त भन्छु यो मुलुक भ्रष्ट नेताहरुले बर्वाद भएको देश हो। नेता भ्रष्ट छ त्यसैले उनिहरुवाट नेतृत्व गरिएको राजनिती पनि भ्रष्ट छ। आज जनमानसमा राजनितिको परिभाषा एउटा फोहरी खेलको रुपमा चित्रण हुन पुगेको छ। दु:ख लाग्दैन? दु:ख लागेरै होला, छोए दाग लाग्ला जस्तो तिम्रो सुन्दर अस्तित्व भित्रको आत्माले पनि बर्षौ देखि जहरको रुपमा जमेर बसेको त्यो फोहरलाई सफा नगरी केहि हुँदैन भनेर तिमि जुन सोचका साथ राजनितिको मैदानमा सार्वजनिक भएका छौ त्यसले मलाई छोएको छ र तिमिलाई सलाम ठोक्न मन लागिरहेको छ।

तिमी आलोचित पनि छौ। याद राख, तिमी जुन जोखिम उठाउन गईरहेका छौ, त्यसमा आलोचना अबस्य हुन्छ। तिमिलाई थाहै छ, यहाँ खुट्टा तान्ने प्रवृत्तिको कमि छैन। त्यसैले यसलाई स्वभाविक प्रकृयाको रुपमा ग्रहण गर्न सक्नुपर्छ तिमिले। यो राजनीतिक संस्कारलाई अब बढल्नुको विकल्प छैन। यसमा तिम्रो उपस्थिती पक्कै कोसेढुङा सावित हुनेछ भन्ने कुरामा म विस्वस्त छु।

भनिन्छ, झिंगाको गालीले टिङ्गा मर्दैन। झिङ्गाहरुको माहोल छ नेपाली राजनितिमा। तिमी टिङ्गा वन्नुपर्छ। ती झिङ्गाहरुको भुनभुनाहटले तिमी डग्मगाउनु हुँदैन। तिमिलाई थाहै छ, ती झिङ्गाहरुकै काम चिजलाई दुषित बनाउनु हो। जब तिमी डग्मगाउछौ तब झिंगाले तिब्र रुपमा आक्रमण गर्न थाल्ने छ। किनभने किटाणुले आक्रमण जिवको कमजोर सेलमै गर्छ। त्यसैले पनि तिमी आफ्नो मनोबललाई बलियो बनाईरहनु पर्दछ।

कसैकसैले आरोप लगाएको पनि सुनेको छु कि तिम्रो दल डलरले चलेको छ। मलाई तिम्रो दल प्रति खासै दिलचस्पी छैन। अहिलेका चल्तीका ठुला दलहरुमा मलाई खासै भारोषा पनि छैन। डलरले पार्टी नचलाउने दल नेपालमा कुन छ? कुनै दल राष्ट्रिय दलालहरुको कालो धनवाट चलेको होला। कुनै दल दक्षिणी भारुले चलेको होला। कुनै दल हरियो डलरले चलेको होला। केही दिन अगाडी मात्रै एकजना वामपन्थी नेताले खुलासा गरेका थिए कि बालुवाटारमा भारतीयहरुले चुनावको लागि पैसा बाँडे। तिम्रो दललाई पनि डलरवादीको आरोप लागेको सुनेको थिएँ। त्यसमा मलाई नौलो लाग्दैन। किनभने हाम्रो देश बिदेशीले चलाएको छ।

मलाई ज्ञात छ, कमल हिलोमै फुल्दछ। सामान्यतया हिलो फोहरै हुन्छ। एकछिनलाई मानौँ, त्यही फोहर भित्र फुलेका कमल हौ तिमी। तिमीले फुल्नुपर्छ। जब कमल फुल्दछ तब कमलको फुलले हिलोलाई सुन्दर बनाइदिन्छ। मैले त्यो सुन्दरता पनि देखिसकेको छु।

हरेक दल भित्र दलाल प्रवृत्ति भएका मान्छेहरुको कमि छैन। इमान्दार र देश भक्तिभाव भएका मान्छेहरुको पनि कमि छैन। मलाई आशा छ, तिमि जुन कुरा वोलिरहेका छौ, ब्यबहारमा त्यसलाई रुपान्तरण पनि गर्ने छौ। तिमीलाई थाहै छ, हामीसंग वोल्ने नेताको अभाव छैन। कमि सामर्थ्यको छ। आशा छ, तिमि कम वोल्ने छौ, वोलेको पुरा गरिछाड्ने छौ।

देशमा धेरै तन्त्रहरु आए। राणा शासनको अन्त्यपछिका करिव आधा शताब्दी मध्ये केही बर्ष पन्चायतले खायो, केही बर्ष राजतन्त्रको निरंकुशताले खायो। फेरि प्रजातन्त्रवादीहरुले खाए। आज गणतन्त्रवादीहरुले खाईरहेका छन्।

ब्यबस्था फेरियो तर अबस्था फेरिएन। कारण, पात्रहरु पुरानै रहे। जसले पन्चायतमा नेतृत्व गरेको थियो त्यही अनुहारहरु आज गणतन्त्रको युगमा पनि नेतृत्व तहमै रहेर काम गरेको देखेका छौँ।

अब नयाँ अनुहारहरु आउनुपर्छ भन्छु म। त्यसैले तत्कालिन विविसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र राजनितिमा आउँदा पनि म निकै हर्षित भएको थिएँ। मिश्रलाई पनि धेरैले आलोचना गरे। मान्छेले सवैभन्दा सजिलै गर्न सक्ने काम भनेको आलोचना हो। आलोचना गर्नेले गरिरहन्छ तर हात्तिको चाल रोकिनु हुँदैन। आलोचना गर्छ आफै थाक्छ। चाल रोकिनु हुँदैन। गतिवान भईरहनु पर्छ।

तिम्रो बिषयमा धेरै नकारात्मक समाचारहरु पनि बाहिर आए, तर तिमी प्रतिको मेरो दृष्टिकोणमा कुनै फेरबदल आएन। पुरानो मक्केको बूढो रुखहरुका हाङ्गाविङ्गाहरु झरिसकेको अबस्थामा प्रकृतिको नियम अथवा समाज बिज्ञानको प्रवाहलाई नियमित राख्नको लागि पनि नयाँ पालुवाहरुको खाँचो छ।

भबिस्यको गर्भमा के छ ? हुन सक्दछ, तिमी पनि पुर्वकी छोरी पाकिस्तानका बेनिजिर भुट्टो जस्तो बन्न सक्दछौ। बर्माका प्रजातान्त्रिक नेतृ आङसाङ सुकि जस्तो पनि वन्न सक्दछौ। कम्युनिस्ट आन्दोलनका नेतृ रोजा लक्जेम्बर्ग, क्लारा जेटिकान जस्तो पनि बन्न सक्दछौ। तर होइन, तिमी नेपालको छोरी रन्जु दर्शना वन्नु पर्छ। युगले युवाको नेतृत्व मागेको छ। त्यसको अभाव पुर्ती गर्न तिमी षड्यन्त्रको जालोले छोपिएको फोहरी राजनितिमा हाम फाल्न जुन साहस देखाएका छौ, यसमा निरन्तर लागिरहने छौ भन्ने अपेक्षाका साथ तिम्रो सफलताको शुभकामना ब्यक्त गर्दछु।

देशमा परिवर्तन चाहने एकजना युवा।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।