कविता लेख्नु नै कविको राजनीति हो : विप्लव ढकाल

कवि विप्लव ढकालको जन्म वि.सं. २०२४ वैशाख १ गते भोजपुरको याकुमा भएको हो । समकालीन नेपाली कवितामा उनी एक क्रियाशील स्रष्टा हुन् । उनका चिताको ज्वाला, हिउँको यात्रा, भोजपुरको साहित्यिक रुपरेखा, निर्जन बन्दरगाह, अन्तिम नायिका, कालो मध्यान्तर, प्रोफेसर शर्माको डायरी, च्याउको जङ्गल नामक कृतिहरु प्रकाशित छन् । उनले षडानन्द प्रतिभा पुरस्कार, युवावर्ष मोती पुरस्कार, गरिमा पु्रस्कार, प्रतिभा पुरस्कार (बेलायत), ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार, नन्दिकेश्वर अधिकारी शोधसम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, ज्योति स्रष्टा सम्मान आदि आदि अनेकौँ पुरस्कार र मानसम्मान प्राप्त गरिसकेका छन् । प्रस्तुत छ धनकुटा खबरका लागि ओमप्रकाश निरौलाद्वारा उनीसँग समकालीन नेपाली कविता र राजनीतिका विषयमा गरिएको अन्तर्वार्ता ।

१. तपाईँको विचारमा कविता के हो ? सामान्य मान्छेले बुझ्ने भाषामा बताइदिनोस् न ।

हरेक कविका लागि सरल जस्तो लाग्ने तर एउटा जटिल प्रश्न हो यो । सामान्य भाषामा भन्दा कविता भनेको साहित्यका विभिन्न विधाहरुमध्ये एउटा प्राचीन र लोकप्रिय विधा हो । एउटा गतिशील र जीउँदो विधा हो । यो भाषाको सबैभन्दा सुन्दर आविष्कार पनि हो । विचार र कलाको सन्तुलन कविताको पहिलो सर्त हो । म कवितालाई जीवन र समयसँग जोडेर हेर्छु । मानिसको परिष्कृत चेतनासँग जोडेर हेर्छु । त्यसैले मेरा लागि कविता भनेको आफ्नो समयसँग संवाद गर्ने सबैभन्दा प्रिय माध्यम हो ।

२. आजकाल तपाईँ के लेख्दै हुनुहुन्छ ?

पहिले विभिन्न विधाहरुमा लेख्ने रहर थियो । तर अब कवितामै केन्द्रित छु । मैले धेरैपछि अनुभव गरेको एउटा सत्य के हो भने गुणस्तरीय रचनाका लागि आफूलाई सबैभन्दा प्रिय लागेको कुनै निश्चित विधामा नै क्रियाशील हुनुपर्छ । बहुमुखी बन्ने रहर गर्दा आफूसँग भएको एउटा मुख पनि गुम्न सक्छ । म कविता नै लेख्न जन्मिएको हुँ जस्तो लाग्छ । त्यसैले कवितामा आजसम्म आफैले हिँडेको बाटोभन्दा अलिक फरक बाटो हिँड्न चाहन्छु ।

३. अब तपाईँको नयाँ कृति कहिले आउँदै छ ?

पछिल्लो समयमा निरन्तर लेखिरहेको छु । पहिले एउटा गल्ती गरेँछु । मनमा आएका विचार र भावका झिल्काहरुलाई कहिल्यै टिपोट गरिनँ । फुर्सदमा लेखुँला भन्दाभन्दै ती कतै बिलाएर गए । अहिले लेख्नकै लागि विभिन्न ठाउँको भ्रमण गरिरहेको छु र समाजका विविधताहरुको सूक्ष्म अध्ययन गर्दै योजनाबद्ध र व्यवस्थित ढङ्गले कवितामा रुपान्तरण गरिरहेको छु । एउटा कवितासङ्ग्रह र एउटा लामो कविता तयारीको क्रममा छन् । कडा आलोचकीय चेतसहित तिनको आत्मसम्पादन गरिरहेको छु । आफूभित्रको पाठक सन्तुष्ट भएपछि सार्वजनिक गर्नेछु । हतार छैन, धैर्य गर्छु ।

४. तपाईँको लेखनयात्राका मोड र प्रवृत्तिहरुका बारेमा केही बताइदिनोस् न ।

कवितामा आफ्नो भाषा र आफ्नो अनुहारको खोजी गर्दागर्दै म बाङ्गो र धुमाउरो बाटो हिँड्दै आएको रहेछु । किशोर अवस्थामा स्वच्छन्द प्रेमका कोमल अभिव्यक्तिहरुभित्र कविता खोजेँ । पञ्चायत कालमा क्रान्ति, परिवर्तन र विद्रोहका मुखर आवाजहरुभित्र कविता खोजेँ । त्यसपछिको दशकमा जीवन र समाजका अराजकता, विसङ्गति, कुरुपता, निःसारता र अन्धकारका सुस्केराहरुभित्र कविता खोजेँ । पछिल्लो समयमा सही बाटोमा आइपुगेको छु कि जस्तो लागेको छ । सामाजिक सरोकारका विषय र सीमान्तीकृत मानिसका आवाजहरुलाई समेटेर आफ्नो समयसँग संवाद गरिरहेको छु ।

५. आजको नेपाली कविताका शक्ति र सीमाका बारेमा तपाईँको आत्मधारणा के छ ?

बहुलता आजका कविताहरुको मूल पहिचान हो । विचारमा बहुलता, शैलीशिल्पमा बहुलता र भाषामा बहुलता । यही बहुलताभित्र नै आजका सामाजिक, राजनीतिक तथा सांस्कृतिक मुद्धाहरु र कविताका मुद्धाहरु एकाकार बनेका छन् । आजका कविताको समाजशास्त्र फेरिएको छ । कवितामा सांस्कृतिक रुपान्तरण तीव्र गतिमा भइरहेको छ । आजका कविताको मिसन छ । धेरै कविहरु सामाजिक सरोकारप्रति सचेत छन् । किनाराका आवाजहरु केन्द्रमा आइरहेका छन् । यो आजका कविताको शक्ति र सौन्दर्य हो । तर यति हुँदाहुँदै पनि कविताको शिर ढल्नबाट कसरी बचाउने भन्ने चिन्ता बाँकी नै छ । कमजोर र कुरुप कविताहरुको पनि बिगबिगी छ । कमजोर कवितालाई राम्रो भनेर प्रशंसा मात्रै गर्दा आजको मानक कविता त्यही हो कि भनेर समाजमा भ्रम पर्छ र पाठकहरु दिग्भ्रमित हुन्छन् । कविताप्रति नै आम पाठकमा वितृष्णा पैदा हुन सक्छ । यसबाट सामाजिक चेतनाले निकै ठूलो क्षति बेहोर्नुपर्छ ।

६. कविताको सामाजिकीकरणका लागि के गर्नु जरुरी छ ?

कविताको सामाजिकीकरणका लागि सर्वप्रथम कविहरुले नै आफूलाई रिन्यु गर्नु जरुरी छ । आफूलाई रिन्यु गर्न सकेनौँ भने हामी कि म्युजियममा जानेछौँ कि सडकमा फालिनेछौ । हाम्रा कविताहरुको बास मान्छेको हृदयमा होइन, समयको अँध्यारो कारागारभित्र हुनेछ । कवितामा आजको मानिसले आफ्नो उपस्थिति र स्वामित्व खोजेको छ । त्यसैले कवितामा आजका सामाजिक मुद्धाहरुलाई केन्द्रमा राख्नु जरुरी छ । परम्परागत ढाँचाका गोष्ठीहरु कविताका श्राद्ध जस्ता बनिसके । यसलाई एउटा सशक्त पर्फमिङ आर्टका रुपमा स्थापित गर्नु जरुरी छ ।

७. तपाईँ राजनीतिलाई कसरी हेर्नुहुन्छ ? कविले राजनीति गर्नु कत्तिको जरुरी छ ?

राजनीति मुलुकको मेरुदण्ड हो । त्यसैले हरेक कविले राजनीतिक रुपमा सचेत हुनैपर्छ । राजनीतिमा धेरै कुराहरु झुटो बोलिएलान् । तर कविले सत्य बोल्ने साहस गर्नुपर्छ । आज कुनै पार्टीको झोला नबोकी असली कवि बनिँदैन कि भन्ने त्रास व्याप्त छ । गाली र नारालाई नै कविता ठान्ने भ्रमबाट धेरै कविहरु मुक्त हुन सकेका छैनन् । तर गाली र नारामा कविता बाँच्दैन । कवितालाई नारा होइन, आजका राजनीतिक र साँस्कृतिक मुद्धाहरुका नारालाई पो कविता बनाउनु आवश्यक छ । कवि सत्ताको प्रतिपक्षमा रहन्छ । उसले विचारको राजनीति गर्छ । कविता लेख्नु नै कविको राजनीति हो ।

८. निकट भविष्यमै स्थानीय चुनाव हुँदै छ । तपाईँ कस्तो उम्मेदवारलाई भोट दिन चाहनुहुन्छ ?

लगभग दुई दशकपछि स्थानीय चुनाव हुन लागेको छ । स्थानीय चुनाव भनेको के हो भन्ने थाहै नपाई एउटा पुस्ता वयस्क बनिसक्यो । त्यसैले यो चुनाव हामी सबैका लागि अत्यन्त महङ्खवपूर्ण अवसर हो । हाम्रो पुस्ता त सपना देख्दादेख्दै रिटायर्ड बन्न लागिसक्यो । भोलिको इतिहासले सोध्ने प्रश्नको जवाफ हामीसँग छैन । हामी नरकका नागरिक बनेका छौँ । देशलाई अझै पनि विभिन्न बाहनामा बन्धक बनाउनु अपराध हो । अब यो देशले संविधानको उचित कार्यान्वयनसहित अग्रगति लिनैपर्छ । त्यसका लागि स्थानीय चुनाव महङ्खवपूर्ण आधारशीला हो । अबको नेतृत्व र जिम्मोवारी युवा पुस्ताले लिनु जरुरी छ । सिर्जनशील क्षमता, दक्षता र योग्यता भएका सचेत, इमानदार र कर्मशील युवाहरुको नेतृत्वमा मात्रै देशले आर्थिक क्रान्तिको सपना पूरा गर्छ भन्ने मलाई विश्वास छ । बूढाहरुले आफूलाई सही ढङ्गले नवीकरण गर्न र यो देशको रुपान्तरण गर्न सक्लान् भन्ने कुरामा मलाई शङ्का छ । त्यसैले म कुनै राजनीतिक पूर्वाग्रह नराखी अबको चुनावमा परिपक्व विचार बोकेका योग्य युवाहरुको पक्षमा उभिनेछु ।

९. अन्त्यमा, नयाँ कविहरुलाई तपाईँका सुझावहरु के हुन सक्छन् ?

कवि उमेरले होइन विचारले नयाँ हुन्छ । कविताको जिउँदो इतिहास निकै ठूलो दुःखले मात्र आर्जन गर्न सकिन्छ । कविता लेख्नु भनेको लङ रेसको यात्रा हो । सर्टकट बाटो हिँडेर छिटो पुग्ने हतार नगर्नुहोस् । रातारात सेलिब्रेटी बन्ने मनोरोगले आज थुप्रै नयाँ कविहरुको धैर्य र सिर्जनशीलता कमजोर बनेको छ । हाम्रो विचारको सौन्दर्य परिपक्व बन्नु जरुरी छ । कवितासँग समय हुन्छ । शब्दको शक्तिबाट समयको नवीकरण गरौँ । कविको सामाजिक जिम्मेवारी हुन्छ । कविताको शक्तिबाट सामाजिक चेतनाको निर्माणका लागि क्रियाशील बनौँ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।