‘बाघले घाँस खाँदैन भन्ने चेत नहुँदा चुनावमा धक्का !’
बाघले कहिल्यै घाँस खाएको देख्नु भएको छ ? प्रतिप्रश्न आइलाग्यो । मलिन स्वरमा शब्दको वर्षा हुन थाले । तपाईले विश्वमा कतै सुन्नु भएको छैन होला ? पराजयमा पनि विजय भाव उद्देलित हुने । तर हामी कांग्रेसजनहरु पराजयमा पनि मनभित्रै विजयको उत्सव मनाइरहेका छौँ । बाघलाई घाँस आहार दिएर प्रधान शत्रुसँग एउटै जुवामा नारेको परिणती यही हो । वाक्यांशले झनै भावुक बनायो ।
सबैले अनुमान लगाउन थालेका छन् । कांग्रेसी जनका लागि माओवादीसँगको तालमेल प्राकृतिक सृजनामा बाघले कहिल्यै घाँस खानै नसके जस्तै नेपाली कांग्रेस र माओवादीबीचको तालमेल यही यर्थाथका आधारमा अप्राकृतिक थियो । न राजनीतिक सिद्धान्त मिल्छ न कायशैली नै। अझ विगत कोट्याउने हो भने त उनीहरु एक ठाँउ उभिन सम्म असम्भव छैन । त्यो माओवादीले निम्त्याएको द्वन्द्वले दिएको पिडा सबैभन्दा बढी कांग्रेसजनमा नै छ । खाटा मात्रै बसेका घाउहरु दिनरात चर्किरहेका हुन्छन् । जसले मुटुमा तिर रोपेर छियाछिया बनाएको छ उसैसँग कुम जोड्न सक्छ त? ती सबैको मनले सोधिरहेको छ ।
त्यसैले त्यो अप्राकृतिक चुनावी तालमेलदेखि नै कांग्रेसजनका कुडिएका भावना जताततै पोखिएका थिए । निहित स्वार्थका लागि पार्टी सभापति शेरबहादुर देउवाले सबै कांग्रेस समर्थकलाई माओवादीसँगको जु्वामा नारिदिएपछि तिब्र असन्तुष्टिका भावनाहरु उद्देलित भएका छन् । त्यो दिन कांग्रेसजनका पुराना घाउहरु बेस्सरी चर्किए । किनकी माओवादीले निम्त्याएको कथित द्वन्द्वले सबैभन्दा बढी घाउ कांग्रेसजनमा नै लगाएको थियो । कति सम्मको पिडा छ होला ? आफ्नै आँखा अगाडी परिवारका सदस्यलाई टुक्रा–टुक्रा बनाएर गिँडेको त्यो दिनको पिडाले सायद काठमाडौमा शासकसँग चाकडी गरेर सत्ताको सिंहाशनमा बसेका पार्टी सभापति देउवाले कहिलै बुझेका छैनन् ।
रगतमा होली खेलेर कांग्रेसी जनको बलि चढाउँदै यहाँ आइपुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि उनले गिँडेका ती अनुहार सायद कहिलै याद गरेनन् होला ।
क्षणभर मै शरीर छिन्नभिन्न अचार हुनेगरी कुटेका ती शरीर र अनुहारको याद सायद प्रचण्डको मनस्थितीले कहिल्यै देखेन होला । तर त्यो सबै परिघटना कांग्रेसजनमा अहिले जस्तै छर्लङ्ग आइरहेको छ । ती अपाङ्ग ती चिहान ती पारिवारीक सुखसयलमा विताइरहेका जीवन आफ्नो सबै थातथलो छोडेर सहर विस्थापित हुनु परेको दिन र अहिले पनि झारमात्र रमाईरहेका मानव बस्ति मेटिएका छैनन् । त्यो चोट बेस्सरी चर्किन्छ होला जब उनै प्रचण्डको अनुहार आँखामा पर्छ ।
अनि सम्भव थियो उनै प्रचण्डकी पुत्रीलाई सत्तामा पुर्याउन कांग्रेसीले पिठ्युँमा बोक्न ? सबैले बुझे हुन्छ चुनावी तालमेलमा आएको मत परिणाम यसैको एउटा बिम्व हो । जसले कांग्रेसजनको चर्किएको घाउमा केही मात्रा मलम लगाउँदैछ । त्यसैले विश्वमै अनौठो पराजयमा पनि विजयको महसुस भइरहेको भाव उद्देलित भइरहेको छ । उसो त टाउकाको मोल तोक्ने शेर बहादुर देउवा माओवादीहरुले पनि विर्सेका छैनन् ।


