घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्न प्रयास गर्ने एक जना व्यक्ति नक्कली रिभल्भर सहित पक्राउ
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगर क्षेत्रमा आफूलाई घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का स्थायी बासिन्दा तथा हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार साँझ करिब ७:३० बजे भैरहवा बजार क्षेत्रमा राणाले आफू जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग रु. १० हजार मागिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
प्रहरीले राणालाई नियन्त्रणमा लिएर शरीर तथा डेरा कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको नक्कली रिभल्भर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, ५०० ग्राम गाँजा, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान तथा नेपाली नगद रु. २ हजार ६ सय बरामद गरेको जनाएको छ।
बरामद सामग्रीसहित राणालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


