मोरङमा मिनी ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक फरार
मोरङ — कोशी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित शिवम् पेट्रोल पम्पअगाडि मिनी ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ५ः२० बजे विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४३८८ नम्बरको मिनी ट्रकले बाटो क्रस गर्दै गरेका मोरङको बेलबारी नगरपालिका–५ निवासी ४५ वर्षीय सन्ते खवासले चलाएको साइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका खवासलाई तत्काल बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति १०ः१२ बजे उनको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए।
दुर्घटनापछि मिनी ट्रक चालक फरार भएकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


