मोरङमा ४ वर्षीया बालिकाको हत्या, घाँसीबारीमा शव फेला
मोरङ — मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलमा ४ वर्षीया बालिकाको हत्या भएको अवस्थामा शव फेला परेको छ।
प्रहरीका अनुसार स्थानीय जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुन शुक्रबार साँझ मृत अवस्थामा भेटिएकी हुन्। उनको शव घरदेखि करिब २०० मिटर पूर्वतर्फ रहेको घाँसीबारीमा साँझ करिब ७:३० बजे फेला परेको थियो।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार बालिका शुक्रबार अपराह्न करिब ४ बजेदेखि सम्पर्कविहीन भएपछि परिवार र स्थानीयवासीले खोजी थालेका थिए। खोजीका क्रममा घाँसीबारीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ एसपी कटवालसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको निधार र कन्चटमा गहिरो चोट रहेको पाइएको प्रहरीले जनाएको छ।
एसपी कटवालका अनुसार शव फेला पर्दाको अवस्थामा बालिकाको शरीरको माथिल्लो भागमा कपडा थिएन भने तल्लो भागमा कपडा लगाएको अवस्था थियो। प्रारम्भिक रूपमा घटनाको प्रकृति हेर्दा यौन दुर्व्यवहार भएको जस्तो नदेखिएको उनले बताएका छन्।
प्रहरीका अनुसार घटनाको स्वरूप हेर्दा अभिभावकसँग रहेको कुनै पुरानो रिसइबीका कारण बालिकाको हत्या गरी शव घाँसीबारीमा फालिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, हत्या किन र कसले गरेको भन्ने विषय अझै खुलिनसकेको प्रहरीले जनाएको छ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि घटनाको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान तथा हत्यामा संलग्न व्यक्तिको खोजीका लागि इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अशोककुमार झाको नेतृत्वमा टोली परिचालन गरिएको छ।


