एउटा डिएसपीले आँशु दिए, अर्का डिएसपीले न्याय – यस्तो छ डिल्लीमायाको पीडा… (हेर्नुहोस् भिडियोसहित)
असार १३, काठमाडौं। ५ बर्ष अघि १४ बर्षीया बालिका सुन्तली तामाङको बलात्कारपछि हत्या गरियो । उनकी आमा डिल्लीमाया तामाङले छोरीलाई घुमाइन् । उनी छोरीको न्यायको लागि प्रहरीका गइन् । तर आफ्नी छोरीलाई बलात्कारपछि हत्या गर्ने अभियुक्त श्याम राउतलाई प्रहरीले बचाउने कोसिस गर्यो । जसको कारणले डिल्लीमायालाई प्रहरी प्रशासन प्रतिको विश्वास टुटेर गयो ।
यहाँ बलात्कारका घटना बढे भनेर माइतीघर मण्डलामा मैनबत्ती बाल्ने धेरै छन्। अनि मैनबत्ती बालेसँगै सबै कुरा बिर्सने पनि । मनमा भएका पिडा र आफुलाई दिएका दुख अनि छोरी घुमाउनुको पिडासँगै पोखिन् डिल्लीमायाले । आफ्नी छोरी सुन्तलीलाई बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई तत्कालिन डिएसपी सन्जिव शर्माले नै भगाएको र डिएसपीले नै आफुलाई कति सम्मको पिडा दिएको कुरा उनले खुलेर गरिन् ।
सोमबार नेपाल प्रहरीले सुन्तलीको हत्या र बलात्कारका अभियुक्त श्याम राउतलाई काठमाडौंमा सार्वजनिक गर्यो । छोरीको हत्यारालाई सार्वजनिक गर्दैगर्दा डिल्लीमाया पनि रामेछापका डिएसपी कुमोद ढुंगेलसँगै नेपाल पुलिस क्लबमा थिइन् । प्रहरीको भरोसा गर्न छाडिसकेकी डिल्लीमायालाई अहिले आएर लागेको छ– सबै पुसिल अफिसर भ्रष्ट र बेइमान हुँदैनन्, जनताको पीडामा साथ दिनेहरु पनि छन् ।
उनी न्यायका लागि कहाँसम्म गइनन् ? के-सम्म गरिनन् ? सिंहदरवारमा पुगेर मुख्य सचिवसँग रोइन् । नक्साल पुगेर आइजिपीको सामुन्ने रोइन् । अदालतमा न्यायाधीशको इजलासमा रोइन् । पत्रकारका सामुन्ने धित खोलेर रोइन् । अन्ततः उनको आँशु पुछन् डिएसपी कुमोद ढुंगेल अग्रसर भए । एउटा डिएसपीले आँशु दिए, अर्का डिएसपीले न्याय ।
तर अझै एउटा धोको बाँकी नै छ– बलात्कारीलाई भगाउने र मुद्दाको अनुसन्धान गर्न लिखु खोलोको खेत पास गरिदेऊ भन्ने डिएसपी सन्जिव शर्मा दासलाई कारवाही गराउने । सोमबार नेपाल प्रहरीले सुन्तलीको हत्या र बलात्कारका अभियुक्त राउतलाई काठमाडौंमा सार्वजनिक गरिरहेको बेला उनले पत्रकारहरु सामु डिएसपी सन्जिव शर्माले बलात्कारी हत्यारालाई कारवाही नगरी भगाएको बताइन् र जसको कारण प्रहरीसँग विश्वास टुटिसकेको उनले बताइन्। यसपाली प्रहरी दिवसको दिन रामेछापका नयाँ डिएसपीलाई मेरो कहानी सुनाएँ । तपाईको हल्लीचल्ली छ, मलाई न्याय दिनुस् भनेँ । उहाँले छातीमा हात राखेर बचन दिनुभएको थियो आज पूरा गर्नुभयो ।
मेरो बच्चाको रगत र मेरो आँशुले हत्यारा र उसको संरक्षकलाई जीवनभर पिरोस्, अनि मेरी छोरीको आत्मालाई न्याय दिने डिएसपीको जीवनभर राम्रो होस् । सबै पुलिस घुसमा बिक्ने हुँदा रहेनछन् । राम्रा पुसिल पनि हुँदा रहेछन् । त्यतिबेलाको डिएसपी सन्जिव शर्मा दासले मलाई बोक्सीको जस्तो व्यवहार गरेर प्रहरी चौकीको कुनामा राख्यो । हत्यारालाई ज्वाँइ जस्तो सम्मान गरेर राख्यो । मैले छोरीको न्यायका लागि लड्दा सारा सम्पत्ति सकेँ । डिएसपीले हत्यारालाई छाडेपछि २०६९ सालको शुरुमै श्याम राउतको दाजु प्रदीप राउतले ६४ ओटा मोटरसाइकलमा गुण्डा लगेर हामीलाई ५ दिनभित्र गाउँ नछाडे सबै परिवारलाई खोलाको किनारमा बिलाइदिने धम्की दियो । हतियारसहित आएका गुण्डालाई डिएसपी सन्जिव शर्मा दासले इलाका प्रहरी कार्यालय धोबीले रोक्न खोज्दा नरोक्नु भनेको हो उनले भनिन् ।
६ महिनासम्म विस्थापित भएर सिन्धुलीको माइखोलामा ढुंगामा नाबालक छोरालाई राखेर गिटी कुटेँ । मेरै छोरीको हत्या भयो, मैलाई हत्याराले गाउँमा बस्न दिएनन् । उनले भनिन् खुर्कोट पुलमा त्यहिँ डिएसपी सन्जिव शर्मा दास डिएसपी पनि के भनु त्यो भ्रष्टचारी भटियो । उसले डिल्लीमाया दिदी बसाई सर्नुभयो कि के हो भनेर सोध्यो । मैले तपाईले गर्दा म बिस्थापित भएँ भनेर जवाफ दिएँ । उसले अनि त्यो लिखु खोलाको खेत चाहिँ के गर्नुभयो भन्यो । मैलै विस्थापित भएपछि के गर्नु भनेर जवाफ दिएँ । उसले त्यसो भए अब आउँदा त्यो खेत मेरो नाममा पास गरिदिनुस् भन्यो ।
डिएसपीले ‘केटी पाए जसले पनि गर्छ’ भनेर भन्यो । मुद्दा मामिला र न्यायको लडाइमा लाग्दा सबै घरखेत सकियो । केहि बाकी रहेको पनि बन्दकी दिएकी छु । अब अरु त केही छैन, यो हत्यारालाई जेल होस् । अनि त्यो डिएसपीलाई पनि कारवाही होस्, यतिमात्र छ अब बाँकी । किनकी मेरी छोरी त अब फर्केर आउँदिन तर उसको आत्माले शान्ति पाउनेछ ।


