एमाले सासूले हराइन् माओवादी बुहारी !
इलाम, १६ असार । सन्दकपुर गाउँपालिका वडा नं. १ मा एकाघरका सासू-बुहारी चुनावी प्रतिस्पर्धामा उत्रिए थिए । विहीबार मत परिणाम आउँदा सासूले बुहारीलाई जितेकी छिन् ।
सासू र बुहारी छुट्टा-छुट्टै दलबाट दलित महिलाको उम्मेदवार बनेका थिए । साविक माईपोखरी गाविस र हाल सन्दकपुर १ मा यस्तो रोचक प्रतिस्पर्धा भएको हो ।
सासू ६२ वर्षीया दिलमाया कमिनी नेकपा एमालेबाट र उनकी कान्छी बुहारी २८ वर्षीया सीतादेवी विश्वकर्मा माओवादी केन्द्रबाट दलित महिला उम्मेद्वार बनेकी थिइन् ।
सासू दिलमायाले ३६१ मत ल्याएर बुहारीलाई पछि पारेकी हुन् । बुहारी सीतादेवीले भने सासूभन्दा ३७ मत कम ल्याएकी थिइन् ।
सो वडामा अन्य दलका दलित महिला उम्मेदवार नभएकाले सासू-बुहारीबीच मात्र प्रतिस्पर्धा भएको थियो । सो वडाको वडाध्यक्षमा भने माओवादी केन्द्रका नन्दकुमार राईले अध्यक्षमा जितेका छन् ।


