पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जिल्लामा राप्रपालाई ठूलो धक्का

जिल्ला अध्यक्ष कुमारबहादुर थापा भन्छन्, हामीलाई चेपुवामा पारियो

धनकुटा । पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको गृह जिल्ला धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टी नराम्ररी पराजित भएको छ । पूर्वप्रधानमन्त्री थापाको गृह नगर पाख्रिवास नगरपालिकामा समेत राप्रपाले लज्जास्पद हार वेहोरको छ ।

थापा जन्मिएको पाख्रिवास नगरपालिकाअन्तर्गत वडा नं. ७ र ८ मुगामा राप्रपाले वडा सदस्य समेत जित्न सकेन । थापाको गाउँ मुगामा २ वडा छन् । त्यसमध्ये वडा नं. ७ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल जित्ने अपेक्षा गरिएको थियो । तर, सो वडामा नेकपा एमालेका फडिन्द्रबहादुर तामाङले राप्रपाका कृष्णबहादुर थापालाई ८२ मतले पछि पार्दै एमालेले वडा कब्जा ग¥यो ।

थापाको गृह नगर भएकाले पनि पाख्रिवास नगरपालिकाका राप्रपाले जित्ने अपेक्षा गरिएको थियो । तर, पाख्रिवास नगरपालिकामा राप्रपाले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

पाख्रिवासमा नेकपा एमालेले १० वटै वडामा प्यानलसहित विजयी बन्दा नेपाली कांग्रेस, राप्रपा र नेकपा माओवादी केन्द्र पराजयले निरीह बन्न पुग्यो ।

राप्रपालाई जिल्लामा ठूलो धक्का
दोस्रो संविधानसभाको निर्वाचनमा धनकुटा क्षेत्र नं. २ मा प्रत्यक्ष सिट जितेको राप्रपाले स्थानीय तहको निर्वाचनमा एउटा वडा पनि जित्न सकेन । खासगरी राप्रपाले आफुलाई बलियो मानेको पाख्रिवास नगरपालिका र छथर जोरपार्टी गाउँपालिकाका पनि हार वेहोरेको छ ।

राप्रपाका महामन्त्री तथा सांसद सुनीलबहादुर थापा र जिल्ला अध्यक्ष कुमारबहादुर थापाको गृहनगर पाख्रिवासमा राप्रपाले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । यहाँ राप्रपाका श्यामबहादुर गुरुङले मेयर पदमा १ हजार ५ सय ६५ मत ल्याए ।

पाख्रिवासमा एमालेका वृषबहादुर राईले ४ हजार ४ सय ३९ मत ल्याएर मेयर बनेका छन् । संगठनात्मक रुपमा कमजोर मानिएको नेपाली कांग्रेसकी उम्मेदवार इन्दिरा थापाले भने १ हजार ६ सय २८ मत ल्याएर दोस्रो बनेकी छन् ।

त्यसैगरी छथर जोरपाटीमा एमालेका शेरबहादुर लिम्बुले ३ हजार ३ सय ४९ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्द्धी माओवादीका विष्णु पारघरेले १ हजार ५ सय ३१ मत ल्याए भने राप्रपाका माधव भट्टराईले १ हजार ४ सय ५१ मत ल्याए । जुन स्थानमा राप्रपाले जित्ने दावी गर्दै आएको थियो ।

राप्रपाले स्थानीय तहको निर्वाचनमा पाख्रिवास वडा नं. ५, ६ ७ र ९ मा जित्ने दावी गरेको थियो । त्यसैगरी छथर जोरपाटीको ५ र ९, महालक्ष्मी नगरपालिकाको ४ लगायतका वडामा जित्ने आस गरेको थियो । तर, जिल्लामा एउटा सदस्य पनि जित्न सकेको छैन ।

हामीलाई चेपुवामा पारियो : थापा

संसदीय निर्वाचनहरुमा धनकुटा क्षेत्र नम्बर २ मा राप्रपाले लज्जास्पद हार वेहोरे पनि यसलाई राप्रपाले स्वभाविक रुपमा लिएको छ । यसलाई हार भन्दा पनि जितको रुपमा लिने राप्रपाले जनाएको छ ।

राप्रपाका जिल्ला अध्यक्ष कुमारबहादुर थापाले स्थानीय तहको निर्वाचनमा जित हात नपारे पनि आफुले हार नमानेको बताएका छन् । निशान न्युजसँग कुरा गर्दै अध्यक्ष थापाले तीन पार्टीको चेपुवा परे पनि पार्टीले राम्रो मत ल्याएको बताए ।

राष्ट्रिय व्यक्तित्व तथा धनकुटाका अविभावक सूर्यबहादुर थापाको अवसान भएको २ वर्ष वर्षपछि भएको निर्वाचन, कमजोर संगठनात्मक अवस्था, विभिन्न राजनीतिक पार्टीको चेपुवा आदी कारणले धनकुटामा राप्रपाले हार्नुपरेको राप्रपाको तर्क छ ।

अध्यक्ष थापाले नेपाली कांग्रेस, एमाले र माओवादीको चेपुवामा पर्दा पनि जिल्लामा राप्रपाले हार भोगेको बताउँछन् । ‘एमालेका स्थायी मतटदाता छन्, तर कांग्रेस र माओवादीले राप्रपाको मात्र मत तान्ने काम गरे’ थापाले भने, ‘त्यसैका आधारमा आफ्नै पार्टीभित्र पनि आन्तरिक रुपमा छुरा हान्ने काम भयो, यसको समिक्षा गर्दैछौं ।’

थापाले आफ्नो गृहनगरमा एमालेले जित हात पारेपछि एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईलाई फोन गरे बधाई दिएका छन् । उनले भने, ‘निर्वाचनमा हात जित जे भए पनि विकासका काममा सँगै मिलेर जान आग्रह गर्दै बधाई दिएँ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।