आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले दार्जीलिङलाई नाकाबन्दी लगाएपछि नेपालबाट दाल-चामल, सिक्किमका मुख्यमन्त्री पनि रुष्ट

इलाम, २५ असार । दार्जीलिङमा चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका छन् ।

दार्जीलिङ, कालेम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा तीन सातादेखि चलेको गोर्खाल्याण्ड आन्दोलनका कारण आम हड्ताल हुनका साथै पश्चिम बंगाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक लगाएपछि भारतीय नागरिकहरु नेपाली बजारमा आश्रित हुन थालेका हुन् ।

सिलीगुडीबाट पहाड तर्फ खाद्यान्न ढुवानीमा रोक लगाइए पनि झापाको चारआली हुँदै इलामको पशुपतिनगर नाकाबाट दार्जीलिङ प्रवेश गर्न सकिने भएकाले भारतले यो नाका थुन्न सम्भव छैन । आवश्यक परेका यो नेपाली नाकाबाट सिक्किमसम्म खाद्यान्न ढुवानी गर्न सकिने स्थानीय बताउँछन् ।

सामरिक हिसाबले ‘चिकेन नेक’ मानिने भारतको पूर्वोत्तर नाकामा खाद्यान्न आपूर्ति बन्द गर्ने र दार्जीलिङ एवं सिक्किमबासीलाई भोकै पारेर गलाउने पश्चि बंगाल सरकारको नीति अन्ततः निस्प्रभावी बन्ने देखिएको छ ।

पशुपतिनगरको वैधानिक बाटोबाट भारततर्फ खाद्यान्न नलगिए पनि पशुपतिनगर-मानेभञ्ज्याङे कच्ची सडकमार्फत् सीमा बजार माने भञ्ज्याङमा दैनिकरुपमा पिकअप भ्यानबाट दाल, चामल लगायतका खाद्यान्न जाने गरेको मानेभञ्ज्याङका यातायात व्यवसायी पासाङ्ग तामाङले बताए ।

सामान्य अवस्थामा भारतीय बजारमा खाद्य सामाग्रीहरु तुलनात्मक रुपमा सस्तो पाइने भएकाले सीमा क्षेत्रका नेपालीहरुसमेत भारतीय बजारबाटजाने गर्दथे । तर, आन्दोलन र भारतीय सरकारको नाकाबन्दीका कारण त्यसको ठीक उल्टो भारतीय नागरिकहरु चाहिँ नेपाली बजारमा आश्रित हुन थालेका छन् ।

लामो बन्द र सरकारी नाकाबन्दीका कारण खाद्यान्न अभाव भएकाले सीमा क्षेत्रका भारतीयहरुले नेपाली बजारबाट खाद्यान्न किनेर लैजाने गरेको तामाङले बताए । ‘इलाममा पर्ने भारतीय सीमा क्षेत्रका बजारहरुमा खाद्यान्न भारतबाटै आउने गरेको थियो’ तामाङले भने– ‘अहिले नेपालबाट भारततिर खाद्यान्न गइराखेको छ । जौबारी, कालपोखरीलगायत सीमा बजारहरुमा चालम सकियो पठाइदिनु भनेर फोन आइरहेको छ ।’

उता दार्जीलिङ लगायत नेपालीहरुको संघन बसोबास भएको क्षेत्रमा गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्ड माग गर्दै तीन सातादेखि आम हड्ताल गरेपछि पशुतिनगर बजार पनि पूरै बन्द छ । खाद्यान्नका पसलहरु भने खुलेका छन् ।

सीमा क्षेत्रका बासिन्दाहरुले त्यही पसलहरुबाट खाद्यान्न किनेर लैजाने गरेका छन् । गाडी नचल्ने र भारतीय सुरक्षाकर्मीले तीन जनाभन्दा बढी हिँडडुल गर्न नदिने भएकाले थो–थोरै किनेर लैजाने गरेको पशुपनितगरका व्यवसायी मिलन क्षेत्रीले बताए । दार्जीलिङ लगायत पहाडी क्षेत्रमा खाद्यान्न आउन रोक्ने प्रहरी र सेना नभई पश्चिम बंगाल सरकारको समर्थकहरु रहेको पनि बताइएको छ ।

उता गोजमुमोले भने पश्चिम बंगाल सरकारले दार्जीलिङ, सिक्किमलगायत पहाडी क्षेत्रमा खाद्यान्न र औषधि आयातमा समेत रोग लगाएको जनाएको छ । उसले पश्चिम बंगाल सरकारको यो कार्य अमानवीय भएको भन्दै आपत्ति पनि जनाएको छ ।

पश्चिम बंगाल सरकारकी मूख्यमन्त्री ममता बेनर्जीले दार्जीलिङलगायत नेपाली भाषी भारतीयहरुको संघन बसोबास भएको विद्यालयहरुमा बंगाली भाषा अनिवार्य गर्ने बताएपछि गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन शुरु गरेको हो ।

भाषाबाट उठान भएको आन्दोलन अहिले अलग राज्य गोर्खाल्याण्डमा पुगेको छ । आन्दोलनका क्रममा तीन जनाको ज्यान गइसकेको छ । मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्डको लागि भइरहेको यो आन्दोलनलाई अन्तिम बनाउने बताउँदै आएका छन् ।

सिक्किमका मुख्यमन्त्री पनि रुष्ट

गोर्खाल्याण्ड आन्दोलन वैधानिक हुँदा हुँदै पनि पश्चिम बंगाल सरकारले दमन गरेको र त्यसको मार सिक्किमलाई परेको भन्दै सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ राईले पश्चिम बंगाल सरकारलाई सर्वोच्च न्यायालयमा मुद्दा लगाउने बताएका छन् ।

पश्चिम बंगाल सरकारलाई ६० हजार करोडको क्षपिूर्ति दाबी गर्दै मुद्धा दायर गर्ने मुख्यमन्त्री चाम्लिङले बताएका छन् । उनले यसपटक खुलेरै गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेका छन् । – अनलाइनखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।