“कम्युनिष्ट बिरुद्ध डाँको छोडेर ह्वा-ह्वा रुने लेखक” भनेर ओलीले कसलाई संकेत गरेका हुन् ? के लेखेका थिए र ओलीले यसो भने ?
काठमाडौं ३ साउन । बैदेशिक रोजगार व्यबसायी संघको नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा कार्यक्रम आयोजना गरियो ।
बैदेशिक रोजगार व्यबसायीलाई बधाई र शुभकामना दिने क्रममा ओलीले अवको वामपन्थी आन्दोलन लोकतन्त्र, देशभक्ति सामाजिक सद्भाव र राष्ट्रिय एकतासँग जोडिएको बताए ।
सम्वोधनका क्रममा ओलीले सोमवार राजधानी दैनिकमा प्रकाशित पूर्व सचिवको एक लेखको प्रसंग कोट्टाए । ‘अहिले सम्म पनि केही पढेलेखेका भनिएका सर्टिफिकेटधारी बुद्धिजीवीहरु समेत वामपन्थी दलका लोकतान्त्रिक क्रियाकलापलाई अलोकतान्त्रिक देख्छन् । मैले हिजो मात्र एउटा लेख पढे राजधानीमा । ती लेखक नेपाल सरकारका पूर्व अधिकृत होलान्, विशिष्ठ श्रेणीकै होलान् । स्वाक्क स्वाक्य, धुरधुर होइन, ह्वाँ ह्वाँ गरेर डाको छाडेर रोएको छ, बामपन्थी भनेको प्रजातिन्त्रिक होइनन भनेर’ ओलीले भने, ‘प्रजातान्त्रिक आचारण गरे पनि वामपन्थी प्रजातान्त्रिक होइन कांग्रेसले जे सुके गरेपनि त्यो प्रजातन्त्रवादी भन्ने उनको निश्कर्ष हो । कांग्रेसले अलोकतान्त्रिक गरेपनि त्यो प्रजातान्त्रिक पनि उनको निश्कर्ष छ, प्रजातन्त्र भनेको ती नामसँग आग्रहसंग जोडिएको बिषय हो ?’
ओलीले नामै नलिइ डाँको छोडेर रुने भनेका लेखक को होलान ? हुनत ओलीले राजधानी दैनिकमा प्रकाशित लेख भनेका छन् । सोमवार राजधानी दैनिकमा नेपाल सरकारका पूर्व सचिव श्यामप्रसाद मैनालीको ‘वर्तमान राजनीतिमा भूमिकाहिन कांग्रेस’ शीर्षकको लेख छापिएको छ ।
राजधानी दैनिकमा श्यामप्रसाद मैनाली ले “वर्तमान राजनीतिमा भूमिकाविहीन कांग्रेस” शिर्षकमा छापिएको लेख यस्तो छ ।
वर्तमान राजनीतिमा भूमिकाविहीन कांग्रेस

नेपालको राजनीति लामो समयदेखि नेपाली कांग्रेस पार्टीकै वरिपरि घुमेको छ । इतिहासतर्फ फर्किएर हेर्ने हो भने यो दलको सुदृढीकरणमा थुप्रै इमानदार कार्यकर्ताले आफ्नो जीवन कुर्बानी गरेका छन् । स्व. बीपी कोइरालाको लामो समयको त्याग, तपस्या र विलक्षण नेतृत्व क्षमताका कारण यस दलले नेपाली जनताको मन, मस्तिष्क र हृदयमा स्थान बनाएको छ । यसको स्थापना र विकासको सन्दर्भमा बीपीको कुशल नेतृत्व नै निर्णायक भएको देखिन्छ । बीपीले नतिजामा देखिने गरी केकस्ता राम्रा काम लोकतन्त्र, राष्ट्रियता र समाजवादको पक्षमा गरे, त्यसको थोरै विश्लेषण गर्नु उपयुक्त देखिन्छ ।
बीपीमा राष्ट्रियताको भावना अत्यन्त ज्यादा थियो । नेपालको राजनीति प्रायः सबै कालखण्डमा भारतबाट प्रभावित एवं परिचालित भएको पाइन्छ र यस छिमेकी देशले पटकपटक भारतको हितको लागि नेपाली राजनीतिलाई उपयोग गरेको छ । तर बीपीले राष्ट्रियता र सार्वभौम नेपालको पक्षमा सधैं आफ्ना क्रियाकलाप केन्द्रित गर्दै अघि बढे । उदाहरणको रूपमा राणाकालमा श्री ३ महाराज पद्मशमशेर, मोहनशमशेरलगायत रोलक्रमवाला राणाहरूसँग आतंकित बनी भारत पुगे । उनी आफ्नो ज्यान जोखिममा रहेको निष्कर्षमा पुगी नेपाल फर्किने वातावरण निर्माण गरिदिन भारत सरकारसमक्ष शरणार्थीको रूपमा प्रस्तुत भए । नेहरूले बीपीसँग समन्वय गरी पद्मशमशेरलाई नेपाल फर्काउने र नेपालका लागि एउटा संविधान दिने उद्देश्यले भारतीय नागरिक श्रीप्रकाशलाई संविधान मस्यौदा गर्न लगाए । उनले पेस गरेको संविधान गैरप्रजातान्त्रिक देखियो, बीपीले त्यसलाई अस्वीकार गरे । पछि त्यही मस्यौदाको संविधान राजा महेन्द्रले २०१९ को संविधान जारी गर्दा स्वीकार गर्न पुगेका थिए । भारतसँग बीपी पारस्परिक हितका विषयमा छलफल गर्दा भारतभन्दा नेपाल बढी लाभान्वित हुनु पर्दछ भन्ने दलिल पेस गर्थे ।
भैसालोटनमा गण्डक परियोजनाको शिलान्यासपछि बीपीलाई अत्यन्त ठूलो सम्मानका साथ राजधानी लगी नेपाल भारत व्यापार तथा पारवाहन सन्धिका सम्बन्धमा छलफलको आयोजना भारतले गर्दा बीपीले सानो देश र भारतसँग व्यापारघाटाका कारण भारतीय सामान नेपाल पैठारी गर्दा नेपालले भन्सार महसुुल लगाउन पाउने, तर नेपाली सामान भारततर्फ निकासी गर्दा भन्सार महसुललगायत कुनै पनि शुल्क भारतले नलिने गरी असमान सन्धि गर्ने प्रस्ताव जोडदार रूपमा उठाएका थिए । भारत सरकारको इच्छाविपरीत पाकिस्तान र चीनसँगको दौत्यसम्बन्ध कायम गर्ने र अमेरिकालगायत विश्वका शक्ति सम्पन्न राष्ट्रहरू इजरायलको विपक्षमा भएको समयमा राजा महेन्द्रले समेत अस्वीकार गर्दा पनि इजरायलसँग दौत्यसम्बन्ध कायम गरी नेपाल सानै देश भए पनि आफ्नो बारेमा निर्णय लिन स्वतन्त्र र सार्वभौम रहेको सन्देश विश्व रंगमञ्चमा प्रवाहित गर्न सफल भएका थिए ।
बीपी भारतसँग मात्रै होइन, चीनसँग पनि आफ्नो देशको हितका लागि कहिल्यै झुकेनन् । उनी प्रधानमन्त्री हुँदा सगरमाथाको चुचुरोलाई चीनले आफ्नो भनी दाबी गरिराखेको थियो । माओत्सेतुङसँग चीनमा वार्ता हुँदा यसलाई साझा शिखर बनाउने माओको प्रस्तावलाई उक्त चुचुरो नेपालकै भएको तर्क गर्दै विश्वस्त बनाई सर्वोच्च शिखर सगरमाथा नेपालकै भूभाग भएकोमा चीनलाई सहमत गराई आफ्नो भूभागको संरक्षण र सुरक्षा गर्न अब्बल देखिएका थिए । मुस्ताङको नेपाली भूभागमा चिनियाँ पक्षले चलाएको गोली लागी एक जना नेपाली सुरक्षाकर्मीको मृत्यु भएको विषयलाई नेपालको सार्वभौम सत्ताको अतिक्रमणका रूपमा लिँदै चिनियाँ पक्षलाई माफी माग्न लगाएर ५० हजार रुपैयाँ क्षतिपूर्ति तिराउन बाध्य बनाएका थिए । आर्थिक मामिलामा उनी निक्कै इमानदार थिए । उनका पिए (पारिवारिक सदस्य) ले एकजना प्रहरी निरीक्षकमा नियुक्ति गराई रिसवत लिएको सूचना प्राप्त गर्नासाथ जिम्मेवारीबाट मुक्त गराएका थिए । कांग्रेसको पार्टी कार्यालयको भाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन असमर्थ भएको अवस्थामा डा. तुलसी गिरीले ठेकेदारहरूसँग पैसा उठाउने र पार्टीको बदनाम हुन गएमा त्यसको जिम्मेवारी आफंैले लिई मन्त्री पदबाट राजीनामा दिने वचनसहित बीपीसमक्ष प्रस्ताव गर्दा उनले ठाडै अस्वीकार गरिदिए । माओत्सेतुङले बीपीलाई दिएको सल्लाह ‘ठूला देशका कुरा सुन्नु हुँदैन, जे गर्दा आफ्नो देशलाई फाइदा हुन्छ, त्यही गर्नुपर्छ, चीनले तत्कालीन सोभियत संघको कुरा सुन्दासम्म अघि बढ्न नसकेको, तर सुन्न छाडेपछि विकासले गति लिएको’ लाई मूल मन्त्रका रूपमा स्वीकार गरेका थिए । राष्ट्रिय ढुकुटीको दुरुपयोग होला भन्ने ठूलो चिन्ता उनमा थियो ।
टंकप्रसाद र केआई सिंह प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको मासिक खर्च क्रमशः १८ हजार र १८ हजार ७ सय ७५ भएकोमा उनले ५ हजार ६ सय ६६ मात्र कायम गरेका थिए । बीपी साम्यवादी शक्तिलाई कहिल्यै पनि प्रजातान्त्रिक शक्तिका रूपमा मान्न तयार भएनन् । उनका अनुसार साम्यवाद र प्रजातन्त्रवाद भनेको नदीका दुई किनारा हुन्, जसको मिलन कहिल्यै सम्भव छैन, हुनु पनि हुँदैन भन्ने मान्यता राख्थे । त्यसैले अस्तित्वमा आउँदै गरेका नगन्य साम्यवादीहरूसँग कार्यगत एकता गर्न अस्वीकार गर्दै आए । यसप्रकार बीपी राष्ट्रियता, लोकतन्त्र समाजवादका पक्षमा प्रस्ट अडान राख्थे । जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार हुन्थे । तर यसमा समझदारी गर्नेतर्फ कहिल्यै सोचेनन् । यसकारण पनि हामीले आज लोकतान्त्रिक अधिकारको उपयोग गर्न पाइराखेका छौं ।
अब पञ्चायत काल, प्रजातान्त्रिक काल र लोकतान्त्रिक कालमा नेपाली कांग्रेसको भूमिकाबारे विश्लेषण गरौं । पञ्चायत कालमा राजा महेन्द्रले नेपाली कांग्रेसलाई राजतन्त्रविरोधी शक्तिका रूपमा लिँदैै साम्यवादीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गर्न पुगे, यसैको निरन्तरता राजा वीरेन्द्रले गरे । साम्यवादी संस्कार प्रायः नभएको नेपालमा राजदरबारको सहयोगकै कारण कम्युनिस्टहरूले फस्टाउने अवसर प्राप्त गर्दै गए । थोरै इमानदार देखिएका कम्युनिस्टले कार्यगत एकताको प्रस्ताव पटकपटक राख्दा बीपीले मानेनन् । उनको देहावसानपछि पञ्चायती व्यवस्थाविरुद्धको २०४६ को जनआन्दोलनमा बीपीको सिद्धान्तविपरीत नेपाली कांग्रेसले कम्युनिस्टहरूसँग कार्यगत एकता ग¥यो । पञ्चायती व्यवस्था ढल्यो, राजतन्त्र समाप्त भयो, कम्युनिस्टहरूले भस्मासुरका रूपमा प्रभाव जमाउँदै गएका छन् ।
सबै प्रकारका निर्णयमा विदेशीकै मुख ताक्ने, लोकतान्त्रिक देशका कर्मचारीलाई सरकारको नेतृत्व दिनेदेखि एउटा संवैधानिक निकायको प्रमुखमा देशका सबै
राजनीतिक शक्तिले स्वीकार गर्न नसकेका व्यक्तिलाई नियुक्ति गर्ने सम्मका कामहरू हामीले गर्दै ग¥यांै । प्रहरी उपरीक्षकको हत्या गर्नेलाई मन्त्री बनाई
बिरामी र बालकको निर्मम हत्या गर्नेहरूलाई देशको सुसभ्य नागरिक धर्तीपूत्रको सम्मान दिन हामी प्रतिस्पर्धा गरिराखेका छौं । यी राजनीतिक घटनाहरूको श्रृंखलामा खोई कहाँ छ नेपाली कांग्रेसको भूमिका
राजतन्त्रपछि प्रजातन्त्र समाप्त पारी अघि बढ्ने अभीष्ट उनीहरूको छ । यसलाई सन्तुलनमा राख्ने दूरगामी सोचको अभाव खड्किएको छ । नेपाली कांग्रेसमा बीपीकोे दूरगामी सोचको अभाव मात्रै होइन, राष्ट्रियता, प्रजातन्त्र र समाजवादबाटै विमुख हुँदै गएको आलोचना हुन थालेको छ । हामी सानातिना व्यवस्थापनमा पनि भारतपरस्त बन्न थालेका छौं । भ्रष्टाचारलाई संस्थागत बनाउँदै नातावाद, कृपावादलाई प्रोत्साहित गरिराखेका छौं । गुण्डाराज राम्ररी फस्टाएको छ । लामो समयदेखि त्याग गरेका नेता तथा कार्यकता छायामा पर्दै नवआगन्तुक अवसरवादी शासनमा पुगेका छन् । निर्लज्ज तरिकाले भागबन्डाको राजनीति फस्टाइराखेको छ । शासक वर्गबाट हुने भ्रष्टाचारको खोजी गर्न नपाइने संवैधानिक व्यवस्था मिलाइएको छ । नेपालको राष्ट्रिय झण्डा जलिराखेको छ, नेपाललाई विखण्डन गर्ने कार्यक्रमका साथ अघि बढेको शक्तिलाई नै प्रश्रय दिने काम भइराखेको छ । लोकतन्त्र भएको देशमा २० वर्षसम्म पनि स्थानीय तहको निर्वाचन गराउन तत्परता देखाइएन । संसारको कुनै पनि देशमा प्रतिनिधिमूलक निकायमा निर्वाचनबाहेक विकल्पको सोचाइ राखिन्न, तर हामी यसैमा अभ्यस्त भएका छौं । कतिपय दलका नेता भारतीय राजदूतलाई आफूखुसी नेपालमा लगानी गर्ने स्वतन्त्रता प्रदान गर्न प्रतिस्पर्धा गरिराखेका छन्, बिप्पा सम्झौता गरी देशलाई दाउमा राखेको अभिव्यक्ति दिन्छन् । टीकापुरमा प्रहरीका एसएसपीलगायत सुरक्षाकर्मीलाई भाला प्रहार गर्दै र दुधेबालकलाई गोली प्रहार गरी हत्या हुन्छ । मधेस आन्दोलनको नाममा एम्बुलेन्स रोकी बिरामीलाई मार्दासमेत हामी यसविरुद्ध आवाज उठाउने कल्पनासम्म गर्न सकेनौं । यिनै अपराधीहरूलाई आममाफी दिन आतुर भएका छौं । राष्ट्रिय ढुकुटीको चरम दुरुपयोग भइराखेको छ, जिम्मेवारीमा रहेकाहरू विदेशीहरूसँग खुलेआम रकमको माग गर्छन् । राजदूतावासका कर्मचारीसँग सोधेर आदेशानुसार संसद्मा बोल्ने तराईका २२ जिल्ला अलग गर्ने धम्की वहालवाला मन्त्रीले दिन पुग्छन् । नेपाली कांग्रेस आवश्यकताभन्दा ज्यादा भारतपरस्त भएको आलोचना कांग्रेस समर्थक सचेत नेपालीले गर्न थालेका छन् ।
विदेशी शक्तिसामु नेपाल सार्वभौम राष्ट्र भएको जनाई निर्णय लिन नसक्ने, सबै प्रकारका निर्णयमा विदेशीकै मुख ताक्ने, लोकतान्त्रिक देशका कर्मचारीलाई सरकारको नेतृत्व दिनेदेखि एउटा संवैधानिक निकायको प्रमुखमा देशका सबै राजनीतिक शक्तिले स्वीकार गर्न नसकेका व्यक्तिलाई नियुक्ति गर्ने सम्मका काम हामीले गर्दै गयांै । प्रहरी उपरीक्षकको हत्या गर्नेलाई मन्त्री बनाई बिरामी र बालकको निर्मम हत्या गर्नेहरूलाई देशको सुसभ्य नागरिक धर्तीपुत्रको सम्मान दिन हामी प्रतिस्पर्धा गरिराखेका छौं । यी राजनीतिक घटनाहरूको शृंखलामा खोइ कहाँ छ नेपाली कांग्रेसको भूमिका ? के यो पार्टीले अन्य दलहरू जस्तै गैरजिम्मेवार बन्न मिल्छ ? प्रजातन्त्रको सुदृढीकरणको अहं दायित्व नेपाली कांग्रेसको काँधमा छ । सबै प्रकारका आन्दोलनमा यसै दलको निर्णायक भूमिका रहेको छ । देशका प्रजातन्त्रवादीहरू कांग्रेस नेतृत्व पंक्तिसँग असन्तुष्टि जनाउँदै रूख चिह्नमा मतदान गरिराखेका छन् । नेपाली कांग्रेसप्रतिको यो स्नेह र सम्मान व्यक्त गर्ने मतदातालाई समेट्ने हिसाबले क्रियाकलाप अघि बढ्नुपर्ने हो, तर सो हुन सकेको छैन । विवेकशील र साझा पार्टीका उम्मेदवारहरूले प्राप्त गरेको उल्लेख्य मत प्रजातन्त्रवादीहरूकै हो । कांग्रेसले यो यथार्थलाई बुझ्नुपर्छ । पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा खस्कँदो अवस्था देखिएकोले अब हुने प्रदेश र केन्द्रको चुनावमा मतदाताको मनोविज्ञानको अध्ययन गर्दै विशेष खालका रणनीतिहरू बनाउनुपर्छ ।
– मैनाली पूर्वसचिव हुन् ।


