जसले अपाङ्ग व्यक्तिलाई ढलबाट यसरी उद्धार गरिन्… (भिडियो सहित)

काठमाण्डौ, स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किंदै थिइन्। पानी परिरहेको थियो। सधंै ओहोरदोहोर गर्ने बाटो टोलभरिको ढलले हिँड्न सक्ने थिएन। पानीले भिजेकी महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हँुदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँबस्तीस्थित कोठमा जाने सुरमा थिइन्।

उनीसँगै कक्षाका साथीहरू पनि थिए। अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विलचेयरमा ढलको पानीमा डुबेको देखिन्। उनी हातमा बोकेको पुस्तक साथीलाई दिएर हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन्। ढलको पानी छिचोल्न वैकल्पिक बाटो खोज्दै अघि बढेकी उनी जुत्तासमेत नखोली जमेको पानीमा छिरिन्। उनी पुग्नुभन्दा अघिदेखि नै भलको पानीमा अडकिएका ती मानिस र उनको ह्विलचेयरलाई चारैतिरबाट मानिसले हेरिरहेका थिए। तर, कोही ढलको पानीमा छिरेको थिएन। गोले हेरेर बस्न सकिनन्।

उनी ढलमा जुत्ता र पाइन्ट भिजाएर पानीमा फसेका मानिसलाई तान्न अघि सरिन्। ढलको पानीमा ह्विलचेयरमा अड्किएका मान्छेले सुरुमा उद्धारका लागि बोलाइरहेका थिए। तर, जब सुजाता उनको नजिक पुगिन्, उनले तिमीलाई बोलाएको होइन, तिमी नआउ भन्न थाले। ‘तर मैले उहाँले भनेको कुरा मानिनँ। मैले जबरजस्ती ह्विलचेयर समाएर तानें,’ गोलेले भनिन्। गोले आफूमा सानैदेखि सेवाभाव भएको बताउँछिन्। ‘त्यस्तो पानीमा ह्विलचेयरमा मान्छे फसेको देखेपछि लुगा, जुत्ता पानीले भिज्छ भन्नेतिर मैले सोच्दै सोचिनँ,’ उनले भनिन्, ‘ढलको पानीले लुगा भिजे धुन सकिन्छ तर बीचमा फसेको मान्छेलाई त बगाउन सक्थ्यो नि !’ दोलखा मेलुङ गाउँपालिका ४ भेट्पुकी गोले एक वर्षअघि काठमाडौं आएकी हुन्।

गाउँकै विद्यालयमा आठ कक्षासम्म पढेकी उनलाई काठमाडौं पढाउनु परिवारको रहर नभई बाध्यता पर्‍यो। गत वर्ष असारमा उनकी आमाको मृत्यु भयो। आमाको मृत्युपछि उनी बिरामी परिन्। गाउँमै राखेर पढाउँदा आमाको सम्झानाले पढ्न नसक्ने भएपछि उनका बुबाले बौद्ध नयाँबस्तीमा फुपूकोमा राखेर पढाउन थाले। आमा बितेपछि उनको पढाइ एक वर्ष पछि सर्‍यो।

उनी अरूलाई पनि सामाजिक काम गर्न पनि हौसला दिन्छिन्। नियमित विद्यालय आएर पढ्दैमा र परीक्षामा राम्रो नम्बर ल्याउँदैमा नहुने उनी बताउँछिन्। ‘विद्यालयमा सिकेको कुरा व्यवहारमा प्रयोग गर्न सकेमात्रै सफल विद्यार्थी हुन सकिन्छ,’ उनले भनिन्।

– कान्तिपुर दैनिकबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।