मन्त्री बन्ने सूचीबाट एकाएक नाम गायव भएपछि आक्रोसित कांग्रेस सांसद भन्छन,- सपथमा जान दराजबाट निकालेको दौरा सुरुवाल त्यसै थन्क्याएँ
काठमाडौ, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्री बन्ने सूचीबाट एकाएक नाम गायव भएपछि कांग्रेस सांसद अर्जुन जोशी आक्रोसित हुनुहुन्छ । तर त्यो आक्रोस व्यक्त पनि गर्न सक्नुभएको छैन ।

मन्त्रिपरिषद् बिस्तारको गृहकार्य भइरहँदा अन्त्यसम्म पनि उहाँको नाम मन्त्री बन्नेको सूचीमै थियो । घुमाइफिराई जसरी नाम तय गर्दा पनि उहाँ सूची बाहिर पर्नुभएको थिएन । साउन १० गते नै मन्त्रिपरिषद् बिस्तार गर्ने तय हुँदा उहाँलाई प्रधानमन्त्री देउवाले सपथग्रहणका लागि तयार रहन भन्नुभएको थियो । तर मन्त्रिपरिषद् बिस्तार बुधबार (११ गते) भयो ।
सपथग्रहणका लागि फोन आउला भन्दाभन्दै अरुले शीतल निवासमा मन्त्रीको सपथ लिइसकेका थिए । ‘नाम चर्चामा आउँदा देखि नै बधाई आइरहेको थियो, मन्त्री भएपछि बधाई दिनुहोला भनेको थिएँ । तर नाम अन्तिममा काटिएछ’ उहाँले चक्रपथ डटकमसँग बिहिबार अपरान्ह भन्नुभयो, ‘दराजमा राखेको दौरा सुरवाल बाहिर निकालेर सपथमा जान तयारी गर्दै थिएँ तर मेरो नाम त हटाइसकेको रहेछ ।’
प्रधानमन्त्रीमा शेरवहादुर देउवा निर्वाचित भएदेखि नै पर्वतका यी माननीयको नाम मन्त्री बन्नेको सूचीमा अग्रपंक्तिमा थियो । उहाँ पनि दँग नै हुनुहुन्थ्यो । तर जव मन्त्रिपरिषद् बिस्तार लम्बिंदै गयो तव जोशीको मन्त्री बन्ने संभावना भने खुम्चियो । ‘राजनीतिमा जे पनि हुनसक्छ भन्ने त थियो’ उहाँ भन्नुहुन्छ । आफ्नो नाम मन्त्री बन्नेको लिष्टमा साउन १० सम्म नहटेको र मंगलबार बेलुकी ५ बजे शपथ खाने कार्यक्रमका लागि तयारी अवस्थामा रहेको उहाँले वताउनुभयो । बुधवारको सपथग्रहण कार्यक्रम राख्नुअघि नै मंगलवार साँझ ५ बजे सपथ कार्यक्रम राखेर स्थगित गरिएको थियो । ‘त्यसदिन विहानै देखि वधाईको फोन आइरहेको थियो, भरे सपथपछि बधाई खाउँला भन्ने थियो । त्यसदिन फोन पनि उठाएको थिइनँ’ उहाँले भन्नुभयो, ‘मन्त्री हुन सकिनँ । अहिले पनि फोन उठाउन सकिरहेको छैन । एकातिर तनाव अर्कातिर गुनासो ।’
‘नाम चर्चामा आउँदा देखि नै बधाई आइरहेको थियो, मन्त्री भएपछि बधाई दिनुहोला भनेको थिएँ । अन्तिममा नाम काटिएछ दराजमा राखेको दौरा सुरुवाल बाहिर निकालेर सपथमा जाने तयारी गर्दै थिएँ तर मेरो नाम त हटाइसकेको रहेछ । अनि भित्रै थन्क्याएँ ।’
बुधबार पनि दिउँसो दुईबजेसम्म शपथका लागि जानुपर्ला भनेर घरमै बसीरहेको उहाँले वताउनुभयो । ‘शपथग्रहणमा जानका लागि दराजमा तयार गरेर राखेको दौरा सुरुवाल, टोपी कोट सबै तयारी अवस्थामा थियो । यसै पनि हामी सांसदको तयारी नै हुन्छ’ उहाँले भन्नुभयो, ‘शपथका लागि आउनुस् भनेपछि दराज खोलेर लगाएर जाउला भनेको थिएँ । तर फोन नै आएन ।’
करिब डेढ महिनादेखि निरन्तर आएको नाम अचानक काटिंदा दुख लाग्नु स्वभाबिक भएको उहाँले बताउनुभयो । ‘म त हेर्नुस २० बर्षअघि नै आरआर क्याम्पसको स्थायी लेक्चर थिएँ, पोलिटिकल साइन्सको । सरकारी जागिर छोडेर राजनीतिमा आएको १६ बर्षसम्म म जिल्लाको सभापति र निरन्तर तीनपटक सम्म निर्वाचित सांसद बनेको व्यक्ति हुँ’ उहाँले भन्नुभयो, ‘त्यही भएर म यस पदका लागि योग्य छु, मेरो कुनै कमी कमजोरी छैन भन्ने लागेको थियो, तर पनि मलाइ हटाइयो । अहिले मलाई भन्दा पनि मेरो जिल्लाका जनतामा आक्रोश छ ।’
आफूलाई कसले सूचीबाट हटाएको भन्ने जानकारी नभए पनि जिल्लाकै नेताहरुले बन्न नदिएको भन्ने जानकारी प्राप्त गरिरहेको उहाँले बताउनुभयो । ‘आफ्नै जिल्लाका नेताले बन्न दिएनन् पनि भन्छन् । त्यही अनेकथरी सुन्नुपर्ला भनेर मैले हिजो देखि फोन उठाएको पनि छैनँ । नम्बर विचार गरेर फोन उठाइरहेको छु’ उहाँले भन्नुभयो, ‘मैले चाकडी गर्न नसकेका कारण चलखेल भयो कि भन्ने लाग्छ । तर मलाई त्यसमा गर्व छ किनकि मैले अहिलेसम्म कसैको चाकडी गरेको छैन । मेरो कमजोरी नै त्यही हो कि ?’ – चक्रपथबाट


