एमाले एक्लै ले बनायो डोल्पामा जिसस, गाउँपालिका प्रमुख नै एमालेमा प्रवेश
डोल्पा, १७ साउन । स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेले डोल्पा जिल्लामा एकलौटी जिल्ला समन्वय समिति बनाएको छ । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु एमालेबाट निर्विरोध निर्वाचित भएका हुन् । दैनिक नेपालमा खबर छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा निर्वा्चित हुने संयोजक, उपसंयोजकलगायत नौ सदस्यीय समिति सबै निर्वाचनअगावै निर्विरोध निर्वाचित भएको एमालेले जानकारी दिएको छ । नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य हंशबहादुर शाहीका अनुसार निर्वाचित हुनेमा एमालेको तर्फबाट संयोजकमा काइके गाउँपालिकाका शेरबहादुर बुढा, उपसंयोजकमा ठूलीभेरी नगरपालिकाका एमालेकै नरबहादुर बुढा, सदस्यहरुमा ठूलीभेरी नगरपालिकाबाट एमालेकै क्रमशः रामप्रसाद महत, देवालक्ष्मी रोकाय, प्रेमलाल विक, एमालेबाटै त्रिपुरासुन्दरी नगरपालिकाबाट देवी घर्ती, एमालेबाटै मुड्केचुला गाउँपालिकाबाट माया ठकुल्ला, एमालेकै काइके गाउँपालिकाबाट मैन ठकुल्ला र सोही गाउँपालिकाबाट राप्रपाका चन्द्र बुढा छन् ।
निर्विरोध निर्वाचित प्रतिनिधिहरुलाई सोमबार सदरमुकाम दुनैमा आ–आफ्ना पार्टीका प्रतिनिधि तथा शुभचिन्तकले बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।
सोमबार मात्रै सदरमुकाम दुनैमा आयोजित विशेष कार्यक्रमका बीच स्वतन्त्रबाट निर्वाचित डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष पेम्बा गुुरुङ पनि एमालेमा प्रवेश गर्नुभएको छ । डोल्पाका आठवटै स्थानीय तहमा एमालेबाट प्रमुख तथा उपप्रमुखलगायत जनप्रतिनिधिहरुको बहुमत रहेको छ ।


