धनकुटामा अन्तर विद्यालय चित्रकला प्रतियोगिताको आयोजना, १० विद्यालयका २५ विद्यार्थी सहभागि
धनकुटा खबर,२७ साउन । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आज धनकुटामा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक विकासका लागी युवाहरुको प्रयास,युवा मञ्च र नेपाल परिवार नियोजन सघं धनकुटका संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगितामा १० विद्यालयका २५ जना विद्यार्थीको सहभागिता रहेको थियो । सामाजिक विकासका लागी युवाहरुको प्रयास धनकुटाका अध्यक्ष रिजन पोख्रेलको अध्यक्षतामा भएको प्रतियोगितामा गोकुण्डेश्वर मावि सिरानवजार धनकुटाका छात्र दिपक मगर प्रथम हुनुभएको छ ।
यस्तै गरि तुलसी मेहर ईङ्गिस वोडिङ्ग स्कुल धनकुटाका ईशान लिम्वु दोश्रो र धनकुटा ईङ्गिस वोडिङ्ग स्कुल धनकुटाका पुजा लिम्बु तेश्रो हुनुभएको छ । प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई नगद ३ हजार,प्रमाण पत्र र मायाको चिनो,दोश्रो हुने विद्यार्थीलाई नगद २ हजार प्रमाणपत्र र मायाको चिनो र तेश्रो हुने विद्यार्थीलाई नगद १ हजार प्रमाणपत्र र मायाको चिनो पुरस्कार प्रदान गरिएको छ ।
चित्रकला प्रतियोगिता अन्र्तगत विद्यार्थीहरुले वैदेशिक रोजगारका सकरात्मक र नकरात्मक पक्षलाई चित्रकलाको माध्यमवाट प्रस्तुत गरेको सामाजिक विकासका लागी युवाहरुको प्रयास धनकुटाका अध्यक्ष रिजन पोख्रेलले वताउनुभयो ।
चित्रकलाको निर्णायकमा कलाकार श्रीकृष्ण जोशी र शुशिल शाक्य रहनुभएको थियो । प्रतियोगितामा विजयी विद्यालयका विद्यार्थीहरुलाई जिल्ला युवा समिति धनकुटाका अध्यक्ष अर्जुन छारा,धनकुटा नगरपालिका वडा न.५ का वडा सदस्य अम्विका परियार लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।


