जिसस धनकुटामा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित
आज प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्य सम्पन्न गरियो
धनकुटा खबर, ३१ साउन । जिल्ला समन्वय समिति धनकुटामा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । धनकुटाका सातै वटा तहमा जित हासिल गरेको नेकपा एमाले बाहेक जिल्ला समन्वय समिति धनकुटामा अरु कुनै पार्टीको उम्मेदवारी नपरेपछि नेकपा एमालेको तर्फबाट जिल्ला समन्वय समितिको प्रमुख,उपप्रमुख सहित सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समिति धनकुटाको प्रमुखमा टंक बहादुर चुवान,उपप्रमुखमा बंगला राई निर्विरोध निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले वताउनुभयो । त्यस्तै जिसस सदस्यमा शिवबहादुर लिम्बू,डागमकुमार राई,हरिकुमार राई,ओङदा तामाङ, अम्बिका बुढाथोकी,आयुष्मा विश्वकर्मा र पदममाया लिम्बु निर्विरोध निर्वाचित हुनुभएको छ ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाको आयोजना तथा जिल्ला समन्वय समिति धनकुटाको संयोजनमा जिल्ला समन्वय समिति धनकुटाका निर्वाचित प्रमुख,उपप्रमुख र सदस्यहरुको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण समारोह सम्पन्न भएको छ । नवनिर्वाचित प्रमुख र उपप्रमुखलाई मुख्य निर्वाचन अधिकृत घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराएर प्रमाण–पत्र वितरण गर्नुभयो । यस्तै निर्वाचित सदस्यहरुलाई नवनिर्वाचित प्रमुख टंक चुवानले सपथ ग्रहण गराउनुभयो ।

प्रमाणपत्र वितरण तथा सपथ ग्रहण समारोहमा वोल्ने वक्ताहरुले जिल्लावासीको चाहाना र आवश्यकता अनुसार कार्य गरेर अगाडि वढनुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्व्य समिति मार्फत जिल्लाका सवै तहमा हुने विकास निमार्ण तथा विभिन्न योजना तथा कार्यक्रमहरुको अनुगमन,समन्वय,निरिक्षण जस्ता कार्यहरुलाई प्रभावकारी रुपमा गर्नुपर्नेमा वताएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग,नेकपा एमाले जिल्ला कमिटि धनकुटाका अध्यक्ष राजेन्द्र राई,नेपाली काग्रेसका उपसभापति नबिन किशोर शाक्य, पूर्व सांसद गोपाल गुरागाँई,दुर्गा लिंखा,पुर्व जिविस सभापति धर्मराज पौडेल लगायतले शुभकामना मन्तव्य दिदै सफल कार्यकालका सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सपथ ग्रहण पछि आजै नवनिर्वाचित जिसस प्रमुख चुवान र उपप्रमुख राईले पदभार ग्रहण गर्नुभएको छ । प्रमुख चुवानले जिल्ला समन्वय समितिको बैठक २०७४ भदौ ८ र ९ गते गर्ने निर्णयमा हस्ताक्षर गर्दै पदभार गरेको स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले बताउनुभयो ।


