नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा खटायो एघार हजार भन्दा बढी सैनिक, सातवटा हेलिकोप्टर परिचालन

काठमाडौं । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन फौजको संख्या बढाएको छ। मंगलबार बेलुकासम्ममा नेपाली सेनाबाट करिव ११,४०० जना सैनिकहरु परिचालित भएका छन् । सातवटा हेलिकोप्टर तथा अन्य सवारी एवं संचार उपकरणहरु पनि प्रभावकारी रुपमा प्रयोग गरिएका छन्।

जनधनको क्षती न्युनिकरण एवं उद्धार तथा राहतको लागि स्थानीय प्रशासनसँगको समन्वयमा भईरहेको कार्यमा नेपाली सेनाका उद्धार टोली तथा हेलिकप्टरहरु निरन्तर रुपमा खटिइ उद्धार तथा राहत कार्यमा जुटिरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले बताए।

उद्धार तथा राहतको अतिरिक्त नेपाली सेनाबाट खटिएका टोलीले अवरुद्ध सडक खुलाउने, अवरुद्ध ढल खुलाई पानीको निकास दिने, हिलो तथा अन्य अवरोध पन्छाई एयरपोर्ट सञ्चालन गर्न मद्दत गर्ने कार्य गर्नुको साथै बाढी तथा पहिरोमा हराई रहेका व्यक्तिहरुको खोजी कार्य गरिरहेका छन्।

बाढी पहिरोको कारण भएको प्राकृतिक विपद्मा उद्धार तथा राहत कार्यलाई समन्वय गरी अरु प्रभावकारी बनाउन विषेश फौज बाहिनीका बाहिनीपति सहायक रथी श्री बाबु कृष्ण कार्कीको संयोजकत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर व्यारेकमा ‘प्राकृतिक विपद् उद्धार तथा राहत समन्वय केन्द्र’ खडा गरी कार्य सञ्चालन भई रहेको छ । उक्त टोलीले ड्राई रासन, टाट पोलिन, पाल जस्ता अत्यावश्यक सामानलाई प्राथमिकताका साथ अत्यन्त बाढीग्रस्त ईलाकामा गाडी तथा हवाई साधनबाट ढुवानी तथा वितरण गरी रहेको छ ।

मंगलबार विहान पाल लगायत अन्य खाद्य सामाग्री सहित नेपाली सेनाको ३ वटा ट्रक महोत्तरीको बर्दिबासतर्फ प्रस्थान गरेको छ । उक्त सामाग्रीहरु गाडीबाट लैजान सक्ने स्थानसम्म गाडीबाट पु¥याउने र गाडीबाट बाढी पीडित समक्ष पु¥याउन नसकिने स्थानमा हेलिकप्टर तथा अन्य उपयुक्त साधन मार्फत बढी प्रभावित ईलाकामा पठाईने योजना रहेको छ । उक्त केन्द्रको समन्वयमा नेपाली सेनाको हेलिकप्टरबाट टाट पोलिन २५५० केजी तथा २९१५ केजी खाद्य सामाग्री राहतको लागि रौतहट तर्फ पठाईएको छ ।

राहत तथा उद्धारकै सिलसिलामा सुनसरी जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जिल्लाको जाल्पापुर र गैरिगाउ ईलाकामा डुवानमा परेका करिव ४० घरको अत्यावश्यक सामानहरु सुरक्षित स्थानमा सार्ने कार्य गरेको । सोही जिल्लाको बुढीखोलास्थित राम मन्दिरमा बाढीबाट पसेको माटो, बालुवा हटाई डुवानबाट पीडितहरुलाई बस्ने स्थान बनाएको छ । साथै, मोरङ जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले विराटनगर विमानस्थलको धावनमार्गमा थुप्रिएको हिलोमाटो हटाई धावन मार्ग खोल्ने कार्य गरिरहेको छ । सोही जिल्लाको लोहान्द्राघाटमा बाढीले क्षति पु¥याएको बोटो मर्मत गरेको छ।

रौतहट जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जिल्लाको राजदेवी ईलाकामा करिव १००० जना र गंगापिपरा ईलाकामा १०० जनालार्ई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको साथै, राजदेवी ईलाकाका नौ घरधुरीका ८८ जनालाई विभिन्न राहत सामाग्री वितरण गरेको छ । साथै, उक्त टोलीमा रहेका डा. अधिकृत सहितको टोलीले स्थानीय ४२ जनाको उपचार समेत गरेको थियो । त्यसैगरी धनुषा जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले महेन्द्र राजमार्ग अन्तर्गत धनुषा र महोत्तरी जिल्लाको सिमानामा पर्ने रातु खोलाले कटान गरेको पुल नजिकको स्थानमा तटबन्ध निर्माण कार्य गरेको छ ।

सर्लाही जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले बाढीबाट प्रभावित स्थानीय वासिन्दाहरुको खाद्यान्न सुरक्षित स्थानमा सार्नुको साथै सोही जिल्लाको मलंगवा इलाकामा काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टरद्वारा पठाईएको १९०० केजी खाद्यान्न तथा ७२ वटा पाल वितरण गरेको छ । मकवानपुर जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जिल्लाको कमाने ईलाकाको खहरे खोलाले कटान गरी जोखिममा रहेका घरहरु जोगाउन उक्त खोलामा जाली तथा तटबन्ध निर्माण गर्ने कार्य गरेको छ ।

नवलपरासी जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जिल्लाको रामपुर खडावाला ईलाकामा ४ वटा गाँउका करिव ५०० परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुको साथै, सोही जिल्लाको रानीनगर ईलाकाका डुवानबाट प्रभावित १२ घरबाट मानिस तथा खाद्यान्न सामाग्रीहरु सुरक्षित स्थानमा सारेको छ भने सोही जिल्लाको दाउन्ने बर्दघाट ईलाकामा गएको पहिरो हटाउने कार्य समेत गरेको छ ।

बाँके जिल्लाको गंगापुर तथा फत्तेपुर ईलाकामा नेपाली सेनाको हलिकप्टरबाट खाद्य सामाग्री तथा आवश्यक औषधि सहित डा.अधिकृतको टोली पुर्‍याएको छ भने बर्दिया जिल्लाको गुलरिया न.पा. ईलाकामा नेपाली सेनाकै हेलिकप्टरद्वारा अक्सिजनका सिलिन्डरहरु पुर्‍याइएको छ ।

उद्धार तथा राहतकै सिलसिलामा माथी उल्लेखित जिल्लाहरुको अलावा सप्तरी, चितवन, पर्सा, सिन्धुली, पाल्पा, दाङ, रुपन्देही, कैलाली लगायतका जिल्लाहरुमा उद्धारका सामग्रीहरु सहितको नेपाली सेनाका उद्धार टोलीहरु स्थानीय प्रशासनसँगको सममन्वयमा उद्धार तथा राहत कार्यमा तदारुकताका साथ जुटिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।