मातृका यादव हातपातमा उत्रेपछि माओवादी केन्द्रलाई ‘प्वाँख नउमार्न’ विप्लबको चेतावनी
धनुषा । सहिद रामवृक्ष यादवको स्मृतिभामा माअोवादी केन्द्रले अाक्रमण गरेको छ । सहिद यादवको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आयोजनामा ढल्केवरमा स्मृति सभा हुँदै गर्दा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्व केही लठैतहरुले आक्रमण गरेका हुन् । आक्रमणपछि दोहोरो भीडन्त चलेको समेत बताइएको छ ।
सभा कार्यक्रम प्रारम्भ भएलगत्तै अपरान्ह १२ बजे सभास्थल प्रवेश गरेर माओवादी केन्द्रका नेता मातृका यादवले स्वयम्ले बिथोल्ने काम गरेको आयोजक पक्षको आरोप छ । प्राप्त जानकारी अनुसार मातृका यादव हातपातमा उत्रिएपछि झडप भएको थियो । यादव आफैले स्पिकर फ्याँक्ने, मञ्च भत्काउने काम गरेको बताइएको छ ।
झडपमा आधा दर्जनभन्दा बढी घाइते भएका छन् भने नेकपा ६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरी हस्तक्षेपपछि नेकपा कार्यकर्ताले प्रतिकार गरेको जनसाँस्कृतिककर्मी रमण थामीले बताए । प्रतिकारका क्रममा ब्यूरो इन्चार्ज सन्देश पौडेल, धमिललाई चोट लागेको छ । दुई पक्षबीच दोहोरो भीडन्त चलिरहँदा प्रहरी मौन बसेको आरोप घाइतेहरुले लगाए ।
प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नेता–कार्यकर्ताको गिरफ्तारीपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गृहमन्त्री शर्माको कटु आलोचना गर्दै विज्ञप्ति निकालेका छन् । बिहीबार राजधानीबाट विप्लवका अर्का नेता एवं वरिष्ठ जनकलाकार माइला लामाको समेत गिरफ्तारी भएको थियो ।
दुवै पक्षले मिलेर कार्यक्रम गरून् भनेर प्रहरीले मध्यस्तकर्ताको भूमिका निभाउन खोजे तापनि राज्य प्रशासनको दुरुपयोग गर्दै मातृका यादवको ठाडो निर्देशनमा नेकपाका नेता–कार्यकर्तामाथि आक्रमण, धरपकड र गिरफतारी गराइएको आरोप नेकपाका नेताहरुले लगाएका छन् । गिरफ्तार नेता–कार्यकर्तालाई इलाका प्रहरी कार्यालय सवैलाको हिरासतमा राखिएको छ ।
उता नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले विज्ञप्ति जारी गर्दै सरकार र माओवादी केन्द्रलाई प्वाँख नउमार्न चेतावनी दिएको छ । शुक्रबार विज्ञाप्ति जारी गर्दै प्रकाण्डले ‘मर्ने बेलामा कमिलाको प्वाँख उम्रिन्छ’ भने झैं सरकार र माओवादी केन्द्रलाई ‘प्वाँख नउमार्न’ चेतावनी दिएका हुन् । – न्युज२४ बाट ।


