६३ वर्षीय लालबहादुरले भग्नावशेषमा फेला पारेको टिनको बाकसमा त्यस्तो के थियो जस्ले उनको खुसी फर्कायो ?

मोरङ, लगातारको वर्षासँगै आएको बाढीले गत शनिबारदेखि विस्थापित विराटनगर–१ का ६३ वर्षीय लालबहादुर श्रेष्ठ शुक्रबार निकै खुसी देखिए । खुसी हुनुको कारण राहत तथा पुनःस्थापना थिएन, थियो त भग्नावशेषमा फेला परेको टिनको बाकस ।

भग्नावशेषमा भेटिएको बाकसको चाबी खोल्दै लालबहादुर

स्वर कडा पार्दै लालबहादुरले भने, ‘मलाई यही बाकसको चिन्ता थियो, भेटियो अब ढुक्क छु ।’ चाबी फोर्दै हतारहतार सानो टिनको बाकस खोल्दै भने, ‘धन्न भेटियो †’ नागरिकताको प्रमाणपत्रलगायतका केही कागजपत्र, २ सय ६५ रुपैयाँ र श्रीमतीका केही थान साडी त्यसमा थियो ।

लालबहादुरलाई घर र घरभित्र पुरिएका सबै सामग्री नष्ट भएको भन्दा त्यो बाकस हराएकामा बढी चिन्ता थियो । बाकस फेला परेपछि लामो सास फेर्दै उनले भने, ‘यति भएपछि बुढेस कालमा ओखती खाने वृद्धभत्ता त आउँछ ।’ एमाले मोरङले बाढीबाट क्षति भएका घरको पुननिर्माण तथा मर्मत गर्न परिचालन गरेको स्वयंसेवकको टोलीले भग्नावशेष खन्दा उनको बाकस भेटिएको हो ।’

बिरामी श्रीमती सुशीलालाई परोपकार घाटको किरयापुत्री बस्ने कोठामा राखेर आएका लालबहादुर त्यो बाकस बोकेर छिमेकीकहाँ पुगे र सामान निकालेर सुकाए । हिलो लागेर भिजेका ५० का तीनवटा, २० को एउटा, १० का दुईवटा र ५ का १५ वटा नोट पखाल्दै सुकाए । बाकसमा पैसा पनि थियो भन्ने प्रश्न राखी नसक्दै लालबहादुरले भने, ‘२ सय ६५ रुपैयाँ थियो ।’

सुशीलाको प्यारालाइसिसका कारण दाहिने पाटो चल्दैन भने लालबहादुर आफैं पनि मुटु रोगी हुन् । नियमित औषधि खान्छन् । घाट जाने मलामीलाई लक्षित गर्दै चिया बेचेर गुजारा चलाउँदै आएका उनीहरूको बाढीले न त चिया पकाउने भाँडो नै राख्यो न त ओत लाग्ने छाप्रो नै ।

जीवनको सहारा बनेको ३२ वर्षीय छोरोको अल्पायुमा २०५६ मा मृत्यु भएपछि बेसहारा बनेका लालबहादुर दम्पती परोपकार घाटको अघिल्तिर ऐलानी जग्गामा सानो छाप्रो बनाएर बस्दै आएका थिए । दम्पतीको एक नाति र बुहारी भए पनि उनीहरू साथमा छैनन् । ‘नाति दुई महिना पुग्न दुईदिन बाँकी थियो छोरो बित्दा,’ लालबहादुरले भने, ‘त्यसपछि नातिसँगै बुहारी माइतमै बस्छे ।’

बुहारीसँग सम्पर्क नभएको चार वर्ष भएको उनको भनाइ छ । नाति १७ वर्षको भए पनि खोजीनिती गर्न आफूसँग पहुँच नभएको उनको भनाइ छ । ‘बाढी आएपछि खै बुहारी र नातिलाई केही भयो कि केही थाहा छैन, फोन नम्बर पनि बाढीले लगिदियो,’ उनले भने, ‘बुहारी र नातिले पनि आफूलाई सम्पर्क गरेका छैनन् ।’ लालबहादुर जस्तै त्यस क्षेत्रमा सुुकुम्बासीहरूको करिब ९० घर रहेको स्थानीय एमाले नेता किशोर बस्नेतले बताए । सबै घरमा बाढीले निकै क्षति गरेको भन्दै उनले अझ वृद्ध बिरामी दम्पती मात्रै रहेकाले लालबहादुरको परिवारलाई पुनःस्थापन गर्न सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिए । सुदीप कोइराला / राजधानी दैनिक ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖