महिलाको चुल्ठो काट्ने किरा ! २० वटा उजुरीपछि अनुसन्धान सुरु !

पर्सा, भाद्र ७ । दुई साताअघि वीरगन्ज–१६ नगवाकी ३० वर्षीया बगडी चमार ओछ्यानमा बेहोस भइन् । उनलाई तत्काल नारायणी उपक्षेत्रीय अस्पताल लगियो । होसमा आएपछि उनले कसैले आफ्नो चुल्ठो काटेकाले बेहोस भएको बताइन् ।

साउन ३० गते वीरगन्ज–३ छपकैयाकी ३० वर्षीया तबस्मुन खातुन पनि सिँढीबाट ओर्लंदै गर्दा बेहोस भइन् । उनको पनि चुल्ठो काटिएको थियो । आफूलाई कसैले पछाडिबाट प्रहार गरेको खातुनको दाबी भएको आजको कान्तिपुरमा खबर छ ।

पछिल्ला दिन यस्ता घटनाको उजुरी बढेपछि प्रहरीलाई टाउको दुखाइ भएको छ । प्रहरीले यी घटनाका पीडित दाबी गरिएका महिलामाथि अनुसन्धान थालेको छ । प्रहरी उपरीक्षक सुदीप गिरीले जनजीवन आतंकित बन्दै गएपछि ठूलो रूप नलेओस् भनेर अनुसन्धान थालिएको बताए । ‘हामीले अस्पताल आएका महिलाको केस स्टडी गरेका छौं,’ उनले भने, ‘उनीहरूको अन्तर्वार्ता, भिडियो रेकर्ड राख्ने, मानसिक, शारीरिक र मनोवैज्ञानिक अवस्था अध्ययन गरिरहेका छौं ।’

उनका अनुसार अहिलेसम्म यस्ता २० वटा उजुरी आएको र तिनमा सबै घटना रातको समयमा भएको दाबी गरिएको छ । महिलाहरूले घर बाहिर शौच गर्न जाँदा, घरआँगनको काम गरिरहँदा, घाँस काटिरहँदा यस्तो घटना भएको जनाएका छन् । केहीले घरमै खाना पकाउँदा, टेलिभिजन हेरिरहँदा र सुतिरहेको अवस्थामा चुल्ठो काटिएको बताए । चार जनाले भने नौलो र ठूलो कीरा आएर कपाल टोकेको प्रतिक्रिया दिए । पछाडिबाट धक्का दिइएको, कालो बिरालो, सेतो, कालो र चम्किलो छाया आएको दाबी गर्नेहरू पनि छन् । सबैले चुल्ठो पछाडिबाट काटिएको जनाएका छन् ।

उजुरी थपिँदै गएपछि उपक्षेत्रीय अस्पतालका मेसु डा. चित्तरञ्जन साहसहितको मेडिकल टोलीसँग पनि छलफल गरिएको गिरीले बताए । यसरी उपचारका लागि आउने महिलालाई मनोचिकित्सकसँग परामर्श गराउने काम पनि भइरहेको उनले जानकारी दिए । चुल्ठो काटिएको दाबी गरिएका अधिकांश महिला शारीरिक रूपमा कमजोर, सुत्केरी र दीर्घरोगी छन् । भारतमा यस्तो घटना भएको भनी सामाजिक सञ्जालमा चर्चामा आएकाले भारतीय प्रहरीसँग पनि छलफल गरेको गिरीले बताए ।

‘इन्टरनेटमा खोजी गर्दा भारतको राजस्थान सरकारले ‘मैकी’ नामक कीराले कपाल काट्ने गरेको दाबीसहितको सूचना जनहितमा जारी गरेकोसमेत भेटियो,’ उनले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।