संविधानमा भारतलाई साझेदार बनाएर देउवाले देशको शीर झुकाए : यस्तो छ विज्ञहरुको भनाई…

भारतले सार्वजनिक रुपमा हिजो बोलेन तर, हाम्रा प्रधानमन्त्री बोले । किनकि भारतलाई बोल्न सहज थिएन । भारत त सधंै यहि चाहन्थ्यो । त्यसैले त उ अनेक मुद्दामा अवसर पाउँदा अगाडि आइरहन्छ । अहिले ठाउँ पायो, त्यो ठाँउ हाम्रा प्रधानमन्त्रीले दिनुभयो ।

मलाई अचम्म यहि लाग्छ नेपालका नेता प्रधानमन्त्री भएपछि भारत जानै पर्ने कर्मकाण्डी प्रबृत्ति कहिल्यै हटेन । १२ बुँदे सम्झौतादेखि यिनीहरुले सबै कुरा लगेर उतै सुम्पिएका हुन् । नेपालका प्रधानमन्त्रीहरुले यो हीन भावना कहिल्यै नत्याग्ने भए । नेपालको संसदले मात्र प्रधानमन्त्री बनाएर नपुग्ने, आफू प्रधानमन्त्री भएको छापा लगाइदेउ भनेर ‘अनर अफ गार्ड’ लिन भारत नै पुग्नु पर्ने भयो । यो हाम्रो नेतृत्वको हीनता हो । भारतले त अवसर पाएपछि गर्ने नै भायो तर, हाम्रै देशका प्रधानमन्त्रीले चाहिँ संयुक्त पत्रकार सम्मेलनमा जे बोल्नुभयो त्यो नेपालको सार्वभौमसत्ता प्रतिको अनादर हो ।

हाम्रो संविधानमै अन्तर्राष्ट्रिय विषयमा तटस्थ रहने भनिएको छ । दोक्लामको विषय उठेको बेला एक त भारत जानु नै हुन्थेन । गए पनि यो बेला हाम्रो तराई डुवानबारे बोल्नु पथ्र्यो । भारतले जे भने पनि हाम्रा प्रधानमन्त्रीले संविधान संशोधन हाम्रो आन्तरिक विषय हो भन्न सक्नु पथ्र्याे । संविधान संशोधन गर्ने वा नगर्ने हाम्रो आन्तरिक मामिला हो, यसमा भारतलाई साझेदार बनाउनु अत्यन्तै दुःखदायी छ ।

भारत सधैं केहि न केहि कुरा लिएर नेपाललाई अस्थीर पारिरहन चाहन्छ । संविधान संशोधनको विषय नेपालका लागि होइन, भारतीय पक्षका लागि ल्याइएको हो, यसका लागि पहिले नै भारत र अहिलेका सत्तासीन दलहरुबीच सम्झौता भएको थियो भन्ने प्रमाण सिधै प्रधानमन्त्री देउवाले पेश गरे । पहिले नै संविधान संशोधन गर्ने बाचा गरेको थिएँ, सकिनँ, दुईतिहाई पुगेन, अव पुर्याउँछु भनेका हुन् देउवाले । देशको लागि यो भन्दा ठूलो अपमान अरु के हुन्छ ? के नेपाल सार्वभौमसत्ता सम्पन्न देश होइन ?

नेपालको अस्थिरताको लागि सधैं आफू केन्द्रित भइरहन नसक्ने भएपछि अहिले भारतले नेपाल भित्रै कांगे्रस र माओवादीलाई आफ्नो पक्षमा दह्रो खुट्टा टेकाएर उभ्याउने प्रयास गरेको छ । यहिँका नेता प्रयोग गरी उसका एजेण्डा सफल बनाउने स्टाटेजीमा भारत छ । आफू मौन भएजस्तो, यहिँका जनताले संविधान संशोधन गर भनेर आवाज उठाएजस्तो देखाइदिन कांग्रेस, माओवादी र राजपा लगायतका दललाई प्रयोग गरेको छ । तर, यहाँका कुनै पनि समुदायका जनताको माग र मुद्दा होइन । भारतको योजना अनुरुप आएको हो, त्यसैले नोकरले मालिकलाई स्पष्टिकरण दिएजस्तो देउवाले स्पष्टिकरण दिएका हुन् ।

भारत आफू मौन रहेको र यहिँका दलहरुले संविधान संशोधन गर्न खोजेको देखाउन चाहन्छ । यसका तीन कारण छन् । पहिलो, भारतले तराईका केही तत्व उचालेको थियो, त्यसमा जनताको सर्मथन छैन भन्ने थाहा पायो र त्यसको विकल्पमा कांग्रेस माओवादीलाई समातेको हो । दोस्रो, कुरा दोक्लाम हो । अहिले भारत दोक्लाममा फसेको छ । उसको शक्ति त्यता केन्द्रित गर्नु परेकोले उसले नेपालमा आफ्नो कमजोर उपस्थितिमा उसले कांग्रेस माओबादीलाई उभ्याएको हो । तेस्रो कारण जति नै सहयोग गरे पनि भारतको हेपाहा प्रबृत्तिका कारण नेपालमा भारतप्रति नकरात्मक जनधारणा छ । त्यसलाई शिथिल बनाउँदै नेपालको हित खोज्ने र भारतीय दवावलाई अस्वीकार गर्ने एमालेलाई एक्ल्याउन चाहान्छ ।

त्यसैले भारत आफ्ना लागि दरिलो शक्ति तयार गर्न खोज्दैछ । हरेक संस्थाका चुनाव देखि स्थानीय चुनाव र अव आउने चुनावमा कांग्रेस–माओवादीलाई सहकार्य गर्न र तालमेल गर्न अभिभावकको रोल खेल्ने भारत हो । किनभने कांग्रेस माओवादी मार्फत उसले यहाँ आफ्नो अभिष्ट पूरा गर्ने हो । सबै राजनीतिक मुल्य मान्यता लत्याएर लाजै लाग्नेगरी कांग्रेस–माओवादी एमाले विरुद्ध गठबन्धनमा उत्रिनुको कारण यही हो । किनकि उनीहरुका मालिकले उनीहरुलाई यसै गर्नु भनेका छन् ।
भारत नेपालको समर्वभौमिकता आफ्नो हातमा लिन चाहन्छ, यसमा भ्रम पाल्नु हुँदैन । नेपालमा उसको बफादार शक्तिहरु अहिले कांग्रेस र माओवादी हो । पहिले मधेसी मोर्चा थियो, त्यसको जनाधार नदेखेपछि कांग्रेस माओवादीलाई हात लियो । एउटा सेवकले मालिकले चाहेको भन्दा फरक बोल्छ गर्छ भनेर सोच्नु नै हाम्रो मूर्खता हो । देउवालाई जे गर्नका लािग बोलाइएको थियो त्यहि गरे । उनले दुईतिहाई पुर्याएर संविधान संशोधन गर्छु भनेर गरेको कमिटमेन्ट अनुसार अव हुने चुनाव, चुनाव नभएर चुनावको नाटक मात्रै हुनेछ । दुईतिहाई पुर्याउनका लागि भरतपुरमा गरिएको जस्तो हुनेछ अव सवै चुनाव ।

नेपालको नेतृत्व गर्ने सरकारको यो भन्दा कायर र लाचारीपन अरु केही हुन सक्दैन । छिमेकीको साथ र सहयोग चहिन्छ तर, छिमेकी चाहिने नाममा देशको सार्वभौमिकता लगेर बेच्ने कुरा कदापी सैह्य हुँदैन । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीका सामु खुलमखुला रुपमा जे जे बोले त्यो घोर आपत्तिजनक छ ।

भारत त भारत नै भयो, तर नेपालकै प्रधानमन्त्रीले नेपाल एउटा स्वतन्त्र राष्ट्र हो भन्ने कुरा विर्सनु गम्भीर घात हो । हो संविधानमा कहिँ कतै त्रुटी छ, यसमा मेरो पनि भिन्न मत छ । केही पहाडीका, केही मधेसीका र केही अरुका कुरामा छन् मेरा असन्तुष्टि । तर, त्यो हाम्रो कुरा हो । तर, अर्काे देशको प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन गरेर ‘संविधान संशोधन गर्न सकिन, फेरि बहुमत जुटाएर गर्नेछु’ भन्ने कुरा सोच्न पनि सकिंदैन ।

प्रधानमन्त्री देउवाले संयुक्त पत्रकार सम्मेलनमा बोलेको कुराले पहिलो त संविधान संशोधन ताराईमा बस्ने नेपाली जनताको एजेण्डा नभएर भारतले तराईका अंगिकृतहरु मार्फत उठाउन लगाएको र कांग्रेस, माओवादीबाट अनुमोदन गराई अगाडि बढाइएको भारतको एजेण्डा थियो भन्ने प्रष्ट पारेको छ । अर्को, फेरि पनि त्यहि मुद्दा सफल बनाउने भनेर उसैको आँगनमा गएर कसम खानु भनेको नेपाललाई फेरि पनि मात्रृकाप्रसादको पालामा नेहरु हुँदा बुझाए जस्तै नेपालका सबै मामिला भारतलाई बुझाउने त्यहि काल फर्कियो नेपालमा । देश भारतको हातमा सुम्पन कांग्रेस र माओवादी एकपछि अर्को गर्दै आतुर छन् । हामी जनता यसको खिलाफमा नउभिए देश जोगाउने अब अर्को बाटो छैन ।

प्रधानमन्त्री देउवाले मेरो जागिर जोगाइदेउ म तिमीले जे भन्छौ त्यहि मान्छु भन्ने कुरा सबैले देख्नेगरी सुनाए । हुन त १२ बुँदे सम्झौताबाट नै यिनले उसैका हातमा देश सुम्पिएका छन् । अनि उसैको अदेश नमानेर के गरुन् ? वान टु वान वार्तामा के भयो भन्न सक्ने कुरा भएन । तर एसडी मुनिले ट्वीट गरेका छन्– आशा गरौ त्यो वर्तामा हिन्दु राज्यको कुरा भएन । मलाई लाग्छ, भारतले देउवालाई तेरो कुरा म हेरौंला तर, खबरदार दोक्लाममा मेरो पक्षमा बोलिनस् भने भनेका होलान् । देउवाले संविधान संशोधन गर्छु भन्ने कुरा मात्र हैन अर्को खतरनाक कुरा पनि पत्रकार सम्मेलनमा गरेका छन् । त्यो के छ भने सुरक्षाको कुरा । दुवै देशको सुरक्षाको कुरा अभिन्न रुपले जोडिएको भन्नु घुमाउरो भाषामा भारतको सुरक्षाछाता भित्र रहन्छु भन्नु हो । यसले त नेपाललाई भारतको एउटा प्रान्तको रुपमा जिम्मा लगाएको जस्तो देखिन्छ । मैले त्यो डकुमेन्ट अध्ययन गरिसकेको त छैन तर, सबै पढेर यसबारे ठूलै बहस गर्नु जरुरी छ ।
(चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीमा आधारित)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।