पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय, अब राजनीतिमा आउन ठूलै दलका नेताहरुले सघाउँदै
काठमाडौं, ‘औँशी–पूणे’ पारेर बेला–बेला वत्तव्य जारी गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय केही बोलेका छैनन् । हुन पनि राजनीतिबारे केही बोलिहाले भने दलका नेताहरुले उछित्तो काटिहाल्छन् । यद्यपी बेला–बेला उनले विद्यमान राजनीतिप्रति असन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।

पछिल्लो समय काँग्रेस–माओवादी गठबन्धनको सरकार बनेयता ज्ञानेन्द्र मौनजस्तै देखिएका छन् । आफ्नो पक्षमा झाँगिदै गरेको राष्ट्रिय प्रजातान्त्रिक पार्टी फुटका कारण कमजोर बनेपछि ज्ञानेन्द्रलाई त्यसले सताउन थालेको छ ।
तत्कालीन राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापा नेतृत्वको राप्रपा नेपालमा पार्टी मिसाएपछि अब राप्रपाले केही गर्ने आशामा थिए ज्ञानेन्द्र । तर पार्टीको एकता महाधिवेशन सकिएको एकवर्ष पनि नहुँदै फुटेपछि ज्ञानेन्द्रले राप्रपाको आश मारेका उनी निकट स्रोतको दाबी छ ।
पछिल्लो नेपाली राजनीतिको चुरो कुरा बुझ्न उनले विभिन्न दलका नेता तथा राजनीतिक विश्लेषकहरुसँग छलफल गरिरहेको स्रोतको दाबी छ । पछिल्लो राजनीति जनताको पक्षमा नभएको भन्दै उनले पटक–पटक जनतालाई एकजुट हुन आह्वान गर्दै आएका छन् । यसको अर्थ उनी आफ्नो पक्षमा जनसहानुभूति बटुल्ने प्रयास गरिरहेका छन् ।
पूर्वराजा शाहको अतिनिकट स्रोतका अनुसार उनी राजनीतिमा प्रवेश गर्ने मौका पर्खिरहेका छन् । ‘दलका नेताहरुले पूर्वराजालाई अति नै कमजोर ठानेका छन्,’ स्रोत भन्छ, ‘तर उनीहरुले सोचेजस्तो अवस्था पूर्वराजाको छैन ।’
ज्ञानेन्द्रले राजनीतिमा प्रवेश गर्ने कुरामा दलका नेताहरु पटक्कै विश्वास गर्दैनन् । तर ज्ञानेन्द्र राजनीतिमा प्रवेश गर्ने ‘इभेन्ट’को पर्खाइमा छन् । अहिले उनले राप्राका नेताहरुलाई सम्झाउन पनि छाडेका छन् ।
राप्रपाका नेताहरु सत्ताको लोभमै रुमल्लिन थालेपछि उनी राप्रपाप्रति उदाशिन भएका हुन् । यद्यपी राजनीतिमा प्रवेशका लागि उनले नयाँ योजना बनाइरहेको स्रोतको दाबी छ । यसका लागि उनलाई प्रमुख दलका केही नेताहरुले पनि साथ दिएका बुझिएको छ ।
राजनीतिमा आउन ज्ञानेन्द्रले भारतलाई मुख्य तगारो देखेका छन् । स्रोत भन्छ, ‘नेपालका नेताहरुसँग पूर्वराजालाई केही डर छैन, तर यहाँको राजनीतिमा चरम चासो राख्ने भारतसँग पनि पूर्वराजाको बढी भय छ ।’ भारतले थोरैमात्र सहयोग गरे ज्ञानेन्द्र पुनः मुलुकको राजनीतिमा फर्कने स्रोतको दाबी छ अनलाइनपानाबाट


