दिल्लीमा उदाङ्गियो देउवाको अनुहार !, भारतको स्वार्थमा देउवाको प्रयोग
काठमाडौं, १३ भदौ । एकपछि अर्को गरी राष्ट्रघाती काम गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुहार भारत भ्रमणका क्रममा थप उदांगिएको छ । कुनै मौलिक र दीर्घकालीन राष्ट्रिय हितका एजेन्डाबिना दिल्ली पुगेका उनले राष्ट्रको शिर निहुरिने, मुलुकको सार्वभौम संसद र संविधानसभाका निर्णयलाई अवमूल्यन गर्ने र महाकाली नदीमा निर्माण गर्न लागिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई भारतको एकलौटी हुने सहमति गरी उनी स्वदेश फर्किएका छन् । दुई मुलुकले संयुक्त रुपमा निर्माण गर्न लागेको र सीमानदी समेत भएकाले बराबर हक र दायित्व हुनुपर्ने परियोजनामा नेपालको हक र प्रतिफल कमजोर हुनेगरी देउवाले भारतले दुई तिहाई र नेपालले एक तिहाई लगानी गर्ने सहमति गरेका छन् । यो प्रकारान्तरले सिंगो महाकाली नदी अनन्त समयका लागि भारतलाई सुम्पिएको र त्यस परियोजनाबाट प्राप्त हुने लाभबाट समेत नेपाललाई वञ्चित गरिएको विज्ञहरुले औँल्याएका छन् ।

सार्वभौम संविधानसभाले ८ वर्ष लगाएर बनाएको र छिमेकी शक्तिको अनिच्छाबीच जारी भएको नेपालको संविधानमा राष्ट्रघाती संशोधन संसदबाट हुन नसक्ने निर्णय भइसकेपछि पनि प्रधानमन्त्री देउवाले दिल्लीमा भारतीय समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनमा भारतीय लयमै फेरि संशोधन गर्ने प्रतिबद्धता गरेका छन् । भ्रमणमा रहेकै बखत नयाँदिल्लीमा सार्वजनिक रूपमा संविधान संशोधन गर्ने प्रतिबद्धतामार्फत् सार्वभौम मुलुकको आन्तरिक मामिलालाई अन्तर्राष्ट्रियकरण गरेर आफ्नो पदीय मर्यादा नै बिर्सिए । उनका यस्तै गतिविधिले लम्पसारवादी व्यवहार पुनः देखियो । बोल्न नहुने ठाउँमा समेत देशको आन्तरिक मामलाको विषय उठाएर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको एकल भेटमा के कति प्रतिबद्धताहरू जनाएर फर्किए भन्ने अर्को आशंकाको विषय बनेको छ ।
स्पष्ट छ, देउवाले भारत भ्रमणबाट राष्ट्रिय हितमा गम्भीर कुराकानी गर्नुभन्दा भारतीय स्वार्थमा थप प्रतिबद्धताहरू गरेर फर्किएका छन् । भारतको संविधान संशोधनमा मात्र नभएर सुरक्षा, जलस्रोत र धर्मको मामिलामा समेत विशेष चासो छ भन्ने कुरा सार्वजनिक हुँदै आएको छ । यस मामलामा समेत देउवाले मोदीसामु प्रतिबद्धताहरू गरेर फर्किएको स्रोतको भनाइ छ । दोक्लाम मामिलामा भारत र चीनबीच तनाव चलिरहँदा भारतले नेपालको समर्थन खोजेको थियो । नेपाल यस मामिलामा तटस्थ रहने सार्वजनिक भइसक्दा मोदीले कुनै न कुनै तरिकाले देउवामार्फत् समर्थन पाउने रणनीति बनाएका छन् । दुवै देशका प्रधानमन्त्रीबीचको संयुक्त वक्तव्यमा सैन्य प्रतिरक्षामा सहकार्य गर्ने विषय समावेश गरियो । यो वाक्य आफैमा गम्भीर विषय हो । प्रतिरक्षामा सहकार्यको अर्थ भारतले कुनै देशसँग युद्ध वा द्वन्द्वको अवस्था रहँदा नेपालले सहकार्य गर्ने भन्ने हुन्छ । दोक्लाम मामलामा घुमाउरो तरिकाले देउवाले भारतको समर्थन गरेका छन् ।
विवादास्पद कोशी उच्च बाँधको विषय देउवाको भ्रमणमा उठ्यो । भारतको स्वार्थमा रहेको उक्त विषयमा देउवा सकारात्मक भए । नेपालको भू—भाग डुब्ने र पानीमा भारतले एकाधिकार कायम गर्ने लक्षित बाँध निर्माणमा सकारात्मक बनेर देउवाले व्यक्तिगत राजनीति बलियो बनाउन खोजे । देउवा प्रधानमन्त्री हुँदा महाकाली सम्झौता भए पनि त्यस अन्तर्गतको पञ्चेश्वरको डीपीआर अझै तयार भएको छैन । डीपीआर निर्माणमै पनि उनले राष्ट्रघाती बाटो अपएका छन् ।
देउवाले देशलाई भन्दा आफ्नो व्यक्तिगत राजनीतिलाई बलियो पार्न सुदूरपश्चिममा विकास निर्माणका केही खुद्रे परियोजनामा भारतीय सहयोगको प्रतिबद्धता पाए । यसैगरी हुलाकी राजमार्गमा गिरिजाप्रसाद कोइरालाले प्रतिबद्धता पाएका थिए तर यी परियोजना अझै अगाडि बढ्न सकेका छैनन् । कतिपय ठाउँमा भारतले आफ्नै ठेकेदारलाई खन्न लगाएको छ भने कतिपय ठाउँमा दुई दशकदेखि भारतले ओगटेर मात्र राखेको छ । विकासको आसमा बसेका जनताले स्वविवेकमा कुनै परियोजना त्यस क्षेत्रमा सञ्चालन पाएका छैनन् । भारतले सहयोग गर्छु भन्ने, काम दशकौं लगाएर बढाउने र निर्माण पूरा नगर्ने प्रवृत्ति रहेको छ ।
भारतीय विज्ञ जनरल अशोक मेहताले भारतको नेपाल मामलामा विकासभन्दा सुरक्षा प्राथमिकतामा रहेको बताइसकेका छन् । मोदीले जेजस्तो वचन दिए पनि विकासको काम तत्काल अघि बढ्ने सम्भावना छैन । पञ्चेश्वर परियोजना पनि दुई दशकदेखि अलपत्र छ र भारतले ओगटेर मात्र राखेको छ । त्यसैगरी माथिल्लो कर्णाली परियोजनादेखि अरुण तेस्रो परियोजना पनि भारतीय कम्पनीहरुले केवल ओगटेर राखेका छन् र नेपाललाई लोडसेडिङमुक्त बनाउने नाममा बिजुली आयातसम्बन्धी सम्झौतामा सही गराउँदै नेपाललाई थप भारतमुखी बनाउँदै छन् ।
यसैगरी देउवाले भारत भ्रमणका क्रममा चुनावी हल्ला पिटाउने पत्र मोदीबाट पाएका छन् । त्यो पत्रबाट सुदूरपश्चिममा प्रोपोगाण्डा मच्चाउन खोजे पनि देशका अन्य भागमा मोदीबाट प्राप्त संयुक्त वक्तव्यरुपी पत्रले काम गर्ने छैन ।
भारतको स्वार्थमा देउवा प्रयोग
भारतको सत्तारुढ भारतीय जनता पार्टी नेपालमा हिन्दु अधिराज्य कायम गर्न चाहन्छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विगतमा राजा फर्काउने अभियानमा प्रत्यक्ष लागेका व्यक्ति हुन् । भाजपाले दोहो¥याउँदै आएको धर्म निरपेक्षता संविधानबाट हटाउने विषयमा समेत देउवा सकारात्मक छन् । देउवापत्नी आरजू राणा पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिय मात्र छैनन्, हिन्दू धर्मगुरुहरूसँग उनको निकटता बढ्दै गएको छ । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसले चुनाव जितेमा हिन्दू अधिराज्य फर्काउने प्रतिबद्धतासमेत जनाएकी थिइन् । देउवाले यस्तै प्रतिबद्धता भाजपा नेताहरूलाई गरेको बुझिएको छ । कांग्रेसभित्र हिन्दुवादी हावी हुनु र देउवाको नेपाललाई पुनः हिन्दु अधिराज्य बनाउने प्रतिबद्धता रहनुबीच सम्बन्ध रहेको घटनाक्रमले देखाउँदै छ ।
देउवाले भारत भ्रमणताका हतियार खरिदमा तिर्नुपर्ने रकमलाई अनुदानमा परिणत गर्न आग्रह गरे पनि सकारात्मक जवाफ आएन । नेपालले भारतबाट खरिद गर्ने हतियारमा निश्चित प्रतिशत अनुदान पाउने गरेकोमा पछिल्लोपल्टको खरिदमा अनुदान पाएको छैन । देउवाले यो विषयलाई गतिलोसँग उठाउन नसकेपछि भारतीय पक्षले आलटाल गरिदियो । देउवाको भ्रमणमा मुलुकको दूरगामी हितमा कुनै सम्झौताहरू हुन सकेनन् । पुरानो सहमति कार्यान्वयन गर्ने अर्को सहमति हुनेबाहेक खासै उपलब्धि भएन । तैपनि देउवा मोदीसँगको अनौपचारिक वन टु वन भेट, मोदी र सुष्मा स्वराजले गिलासमा पानी हालिदिएर पिलाएको घटनाक्रमबाट दंग छन् ।
देउवाले भारतमा न्यानो स्वागत पाएको प्रचारबाजी भयो । भ्रमणमा विमानस्थलबाट भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेको र मोदीले अनौपचारिक भेट गरेकै आधारमा उच्च प्राथमिकता पाएको हल्ला पिटाइयो । जबकि प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जाँदा केपी शर्मा ओली र प्रचण्डले स्वराजकै स्वागत पाएका थिए । मोदीले आरजूतर्फ नमस्कार फर्काएको तस्वीर देखाउँदै कतिपय कांग्रेस नेताहरूले भ्रम फैलाउन खोजे । कार्टर सेन्टरसँग जोडिएका कांग्रेस नेता विश्वप्रकाश शर्माले फोटो सम्पादन गरेर देउवालाई मोदीले नमस्कार गरेजस्तो तस्बिर राखेर फेसबुकमा देउवाको गुणगान गाए । जेजस्तो हल्ला पिटाए पनि देउवा थामिनसक्नुको प्रतिबद्धताको भारी बोकेर दिल्लीबाट काठमाडौं फर्किएका छन् ।
भारतको हितमा यो या त्यो गर्छु भनेर फर्किएका उनले चुनावमा समर्थन खोजे । आफ्नो दलले जिते यो या त्यो गर्छु भनी प्रतिबद्धता जनाएर फर्किए पनि देउवा प्रचण्डको गोटी बनेर कमजोर बन्दै गएका छन् । भारतको भक्ति गरेर फर्किए पनि उनलाई भारतीय पक्षले पूर्ण विश्वास गर्न सकेको छैन । पश्चिमाहरूसँग देउवाको हिमचिमले भारतीय पक्षले टाढा हुन नदिने तर ज्यादा भरथेक नगर्ने नीति बनाएको देखिन्छ । अझ भन्दा देउवाबाट लिन सकिने जति लिने, उनलाई प्रयोग गरेर हुन सक्ने जति स्वार्थसिद्धि गर्ने तर देउवाका निम्ति काँध नथाप्ने रणनीतिमा भारतीय पक्ष लागेको उनीप्रतिको भारतीय व्यवहारबाट स्पष्ट देखिन्छ । देउवाको विगतको कार्यशैली हेर्दा पनि उनी विदेशीबाट सजिलै प्रयोग हुनेमा पर्छन् । भारतले अबको केही महिना देउवालाई जतिसक्दो प्रयोग गरेर उसको स्वार्थ पूरा त गर्छ नै, मुलुकको व्यवस्था र अस्मितामाथि नै प्रश्नचिन्ह उत्पन्न गर्ने कुनै दुर्घटनामा त पु¥याउँदैनन् भन्ने चिन्ता भने व्यापक बनेको छ । – दृष्टी न्यूजबाट साभार ।


