परराष्ट्र मामिला जानकार डा. उद्धव प्याकुरेल भन्छन,- नेपालमाथि भारत र चीनले जासुसी गरिरहेका छन्
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा विभिन्न टिका–टिप्पणी बाहिर आएका छन् । सामाजिक संजालमा देउवाको खुलेरै विरोध भइरहेको छ । यसै सन्दर्भमा परराष्ट्र मामिला जानकार डा. उद्धव प्याकुरेलसँग कुराकानी :

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले गरेका विभिन्न सम्झौतालाई कसरी लिन सकिन्छ ?
दुई प्रधानमन्त्रीले प्रेसलाई पठाएको संयुक्त वक्तव्य का ४६ बुँदा र त्यहाँका सहायक गरेर करिव ४६ बुँदाहरु वहिर आएका छन् र त्यसमध्येमा आठ वटा सम्झौता भनिएको छ । आठ वटा सम्झौतामध्ये चार वटा भूकम्प र पुननिर्माणसँग सम्बन्धित छन् । अहिले भएका भनिएका यी सम्झौता सुशील कोइरालाको पालामा भएको नेपाल सहयोग समुहको बैठकमा आएर भारतले गरेको प्रतिबद्धता कै अंश हो । बिजुली थप दिनेबाहेक कुनै नयाँ कुरा यहाँ छन् जस्तो मलाई लाग्दैन । पहिल्यै भैसकेका यस्ता कुराहरु वारम्बार हरेक प्रधानमन्त्रिका भ्रमणका एजेण्डा बनिरहनु चाँही राम्रो होइन । यसले राम्रो सन्देश पनि दिदैन । एक पटकको समझदारीलाई कार्यन्वयन गर्न सरकारका अन्य निकाय लाग्ने हो न कि फेरी प्रधानन्त्रीको अर्को भ्रमणमा एजेण्डा मात्र वनाउने । कार्यान्वयन नहुने तर सम्झौतामात्र गर्नुको कुनै अर्थ रहँदैन ।
नेपालको आन्तरिक मामिलामा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दिल्लीमा कुराकानी हुनु कत्तिको उचित होला ?
यो पक्कै पनि सकारात्मक पक्ष होइन । दुई पक्षिय बैठकमा कुनै एक देशको मात्र आन्तरिक मामिलाको चर्चा हुनु स्वभाविक होइन । दुई देशका प्रधानमन्त्रीले जारी गरको संयुक्त वतmव्यमा नेपालको आन्तरिक विषयमा नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो भन्ने आशयको भाषा गलत लाग्यो । नेपालले मात्र जानकारी गराउने भन्दा पनि दुई देशका प्रधानमन्त्रीले आन्तरिक राजनैतिक घटनाक्रमको बारेमा आपसमा छलफल गर्नुभयो भनेको भए राम्रो हुन्थ्यो । नत्र नेपालले बताउने र भारतले सुन्ने अवस्था हो भने कसरी बरावरीको सार्वभौमिकताको कुरा गर्ने । कमसेकम भाषा र शव्द चयनमा त यो कुरा देखिनु पर्यो नी । अहिले त हाम्रो देशको प्रधानमन्त्री आन्तरिक विषयवारे भारतलाई जानकारी नै गराउन गएको जस्तो देखायो । यस्तो भाषाले नेपाल–भारत सम्बन्ध सुधार गर्ने भनिरहेका बेला झन् बिगार्ने सम्भावना हुन्छ ।
देउवा र मोदीबीच दोक्लानको विषयमा पनि छलफल भयो भनिन्छ । के नेपाल दोक्लानको विषयमा मुछिनु आवश्यक थियो ? यसले चीन र नेपालबीचको कुटनीतिक सम्बन्धमा कस्तो असर पार्छ ?
हामी अहिले निकै अफ्ट्यारो परिस्थितिमा छौँ । हाम्रो प्रधानमन्त्री भारत भ्रमणमा जाने कुरा चलेसँगै चिनियाँ उपप्रधानमन्त्री नेपाल भ्रमणमा आएर जानुभयो । देउवा भारतमै हुँदा पनि चिनियाँ कुटनीतिक व्यक्ति नेपाल आए । यसमा नेपालले के गर्छ भनेर दुई छिमेकी देशले जासुसी गरिरहेको जस्तो देखियो । तर, प्रधानमन्त्रीले अलिकति चलाखी या सावधानी अपनाउनु भएको हो कि जस्तो लाग्छ । भारत भ्रमणका क्रममा उहाँलाई त्यहाँका एक मन्त्रिले चीनको बारेमा प्रश्न सोध्दा उहाँले हाम्रो चीनसँग पनि असाध्यै राम्रो सम्बन्ध छ भन्नुले राम्रो म्यासेज गएको हो कि भन्ने लाग्छ ।
तर, हाम्रा नेपालका नेताहरुको एक्लै–एक्लै भेट्ने निकै खराब बानी छ । त्यसलाई यसपाली देउवाले पनि अपनाउनु भयो र १ घण्टा मोदीसंग वान टु वान मिटिङ भएको छ । त्यसमा के भयो भन्ने जिज्ञासा नेपाललाई मात्र नभएर चीनलाई पनि छ । र, अवश्य त्यहाँ दोक्लानको कुरा उठ्यो होला भन्ने जिज्ञासा आउनु स्वभाविक हो । तर, खुल्ला रुपमा भएका बैठकहरुमा भने यस विषयमा देउवा सजक रहेको देखिएको छ ।
नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा भारतले उच्च सम्मान गर्छ । उतिबेला तत्कालिन प्रधानमन्त्री गिरिराजाप्रसाद कोइरालालाई तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन एयरपोर्टमै लिन आएका छन् । त्यसपछि सबैभन्दा बढी सम्मान पाउने देउवा हुन् भनिन्छ । यसमा भारतको के स्वार्थ होला ?
नेपाल कुन सन्दर्शबाट गुज्रीएर अगाडि बढिरहेको सन्दर्भको प्रम भारत गएको हो, प्रमको नेपालमा हैसियत कहाँ छ आदी कुराले भारतमा कस्तो स्वागत पाउने भन्ने कुरा निर्धारण गर्छ होला । गिरिजाप्रसाद कोइराला जनआन्दोलन सफल भए पश्चात भारत जाँदै गर्दा द्वन्द्वको स्थितिबाट शान्तिको स्थितिमा नेपाललाई ल्याउन गिरिजाप्रसाद आफैंले एउटा अहम भुमिका निभाएको सन्दर्भमा र गिरिजाप्रसाद र भारतको निकै पुरानो सम्बन्धका कारण पनि उनलाई त्यो प्रकारको सम्मान गरेको होला । तर तिनै गिरिजाप्रसादले अन्य भ्रमणमा त्यस्तै उच्च सम्मान नपाएका उदाहरण पनि छन् ।
जहाँसम्म देउवाजीको प्रसंग छ, काँग्रेसभित्र उनलाई युवापुस्ता भन्दैगर्दा र उनका विगतलाई हेरेर टिप्पणी गर्दैगर्दा उमेर र चारचार पटक प्रधानमन्त्री भइसकेको अनुभवका आधारमा देउवाजी पनि त नेपाल कै सवभन्दा पाका नेता भइसकेको विर्सन हुदैन नी । त्यस्तै उनि अहिले भारतले नजिक मान्ने गरेको नेपाली काँग्रेसको सभापति पनि भइसके । यहाँ कहिलेकाँही स्वार्थ भन्दा पनि व्यक्तिको व्यक्तित्वको कारणले सम्मान दिनैपर्नै अवस्था वन्न सक्छ र त्यस आधारमा यसपाली भव्य स्वागत भयो होला ।
भारतले नेपालमा संविधान जारी हुँदा परराष्ट्र सचिवलाई नेपाल पठाएर संविधान रोक्न लगाएको थियो । त्यसको वावजुत संविधान जारी हुँदा नाकाबन्दीसम्म लगायो । के अहिले भारतले त्यसको रियलाइज गरेको हो ?
त्यत्ति रियलाइज गरे जसतो लाग्दैन किन भने संविधान रोक्न नेपाल आएका तिनै सचिवले भर्खरै एउटा अन्तर्वातामा नेपालले संविधान संशोधन गर्नुपर्छ भन्ने हाम्रो अडान यथावत छ भनेको अवस्था छ । त्यस्तै गरेर भारतीय प्रधानमन्त्रीले पनि अलिकति भाषा मिलाएर आफ्ना नेपालमा सबै पक्षलाई लिएर जानुहोस् भन्न्ो पुरानो अडानलाई यस पटक पनि राखे । अर्काको आन्तरिक मामिलामा यसो गरिदिए हुन्थ्यो भन्ने सदीक्षा भारतले व्यक्त गरिदिँदा चाँही नेपाल काम गरिरहेको शक्ति नै कमजोर हुने अवस्था हाम्रोमा छ । देउवाजी आएर अब संविधान संशोधनमा प्रयास गरे भने उनले भारतले भनेका कारण गरेको भनेर आलोचना शुरु हुने अवस्थामा भारतले यसबारेमा आफ्नो पोजिसन यसरी नराखिदिएको भए हुन्थ्यो ।
नेपाललाई ट्रान्जिट बनाउन चीन र भारत आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । यसले नेपाललाई फाइदा हुन्छ कि नोक्सानी ?
मलाई लाग्दैन यसले ट्रान्जिट बनाउन खोजेको भनेर नेपाललाई भारत र चीन दुवैले आफ्नो प्रभावमा राख्न खोजेका हुन् । ट्रान्जिट बनाउन खोजेको भए त नेपाललाई ठुलो फाइदा लिन सक्छ । यत्रो दुईटा ठुला राष्ट्रबीचको ट्रान्जिट हुन पाउनु त ठुलो अहोभाग्य हो । त्यो होइन होला तिनिहरुको चीन र भारतले आफ्नो प्रभाव क्षेत्र बनाउन खोजेका हुन् । ट्रान्जिट भनेको त दुईटैले प्रयोग गर्न पाउने भयो नि त । तर, यिनिहरुले चाँही अर्काले ‘युज’ नगरोस मैले मात्र प्रयोग गँरु भनेर प्रभावमा राख्न खोजेको प्रसंग हो । यसमा मेरो अर्कौ बुझाइ छ । उनीहरुले मात्र चाँहेर प्रभाव क्षेत्र पार्न सक्दैनन । नेपाली मानसिकता पनि प्रभाव क्षेत्र नै बन्दिने मानसिकता छ । चाँइना गए चाइनै ठिक भारत गए भारत ठिक भन्ने हाम्रो मानसिकता । यो कुरा ठिक हो यो कुरा गलत हो भन्ने हैसियत नराख्ने हाम्रो नेतृत्व र कतिपय सन्दर्भमा दुरासय राखेर धारणा वनाउने हामी नेपाली जनता दुवै यस मामलामा दोषी हो । छिमेकीको सन्दर्भमा नेपालमा एकले जे गरे पनि “यो मेरो मित्र हो त्यसैले आलोचना गर्दिन” भन्ने एउटा समुह र त्यही सवालमा उसले जती राम्रो गरे नी “उ त मेरो शत्रु हो म कसरी सकारात्मक बनुँ” भन्ने पूर्वाग्राही सोचकोे दलदलबाट फसिरहेका कारण समस्या भएको हो । नेपाली जनतालाई कताबाट फाइदा हुन्छ भनेर कतिपय कुराहरु भारतवाट र कतिपय कुरा चीनबाट लिएर जान सकिन्छ । कसैको पनि प्रभावमा पर्न र त्यसैका आधारमा धारणा वनाउन आवश्यक छैन बन्न हुन पनि हुँदैन ।
– निशेष खनालको प्रस्तुत कुराकानी काठमाण्डौ टुडेबाट साभार गरिएको ।


