ओली नेपालको सत्तामा फेरि आउनु भारतका लागि दुर्घटना/डिजाष्टर हो… उनलाई जसरि पनि एक्ल्याउनुपर्छ…

काठमाडौं, १५ भदौ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले समानताका आधारमा द्विपक्षीय सम्बन्धबारे उठाउनु पर्ने कुरा उठाउनु भएन । तर, संविधान संशोधन सम्बन्धी घरेलु मुद्दालाई भने जोडदार रुपमा प्रस्तुत गर्दै भविश्यमा दुई तिहाई पुर्याएर संशोधन गर्ने प्रतिवद्धता समकक्षी नरेन्द्र मोदीसमक्ष ब्यक्त गर्नुभयो ।

तर देउवाको भारत भ्रमणको सन्दर्भ पारेर भएका अनेक छलफलमा नेपालका एक नेताका बारेमा प्रधानमन्त्री मोदीदेखि त्यहाँको कर्मचारीतन्त्र, पूर्व राजदुत, परराष्ट्रबिज्ञ र पत्रकारहरुका बीचमा ठूलै वहस भयो । उहाँ हुनुहुन्थ्यो–नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ।

संविधान जारी नगर्न दिल्लीको सन्देश लिएर बालकोट पुगेका भारतीय विदेश सचिव एस जयशंकरलाई ओलीले कूटनीतिक मर्यादामात्र सम्झाउनुभएको थियो । तर, भारतका लागि त्यो ठूलै मुद्दा बन्यो ।

त्यसयता लगातार नेपालको राजनीति ओली वरपर नै केन्द्रित छ । हो, त्यही नेपाली राजनीतिलाई आफू अनुकूल बनाउन एकमात्र बाधकका रुपमा ओली देखिएको निश्कर्षमा दिल्लीको राजनीतिक नेतृत्व त पहिले नै पुगेको हो, अव त्यहाँको ‘इलिट सर्कल’ पनि पुगेको देखिंदैछ ।

जव नेपालका प्रधानमन्त्री देउवा भारतको भ्रमणमा जानुभयो, त्यसको तेश्रो दिन भारतीय राज्यसभा टेलिभिजनमा ‘द बिग पिक्चर’ शीर्षकको समसामयिक वहस कार्यक्रममा प्रधानमन्त्री देउवाको भ्रमणबारे वहस चलाइयो । वहसमा सहभागि अतिथि बक्तामा भारतीय पूर्व विदेशसचिव कंवल सिबल, प्राध्यापक तथा पूर्व राजदूत एसडी मुनी र पत्रकार भारत भूषण । पत्रकार भूषण पहिला त्यही राज्यसभा टेलिभिजनमा कार्यक्रम चलाउनुहुन्थ्यो तर त्यो वहसमा भने उहाँ एउटा विश्लेषकका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

बहसमा बोल्दै पूर्व विदेश सचिव सिबलले एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँको पार्टीलाई ‘ओली र उहाँको ‘ग्याङ’ भन्ने आपत्तीजनक भाषा प्रयोग गर्नुभएको छ । भारतीय परराष्ट्र सेवामा लामो समय काम गरेर विदेश सचिवबाट अवकाश पाएका सिबलले एउटा छिमेकी राष्ट्रको प्रधानमन्त्री भइसकेको, ठूलो दलको प्रमुख र प्रमुख प्रतिपक्षी दलको नेतालाई सम्बोधन गर्ने सामान्य शिष्टता पनि देखाउनुभएको छैन ।

त्यतिमात्र होइन, नेपालको सत्तामा ओली फेरि आउनु भारतका लागि सेटब्याक भएको भन्दै हरसम्भव सबै उपाय लगाएर ओलीलाई सत्तामा आउनबाट रोक्नुपर्ने बताउनुभएको छ । ‘यदि तपाईले ओली र उहाँको ग्याङ नेपालको सत्तामा आउँछ भन्ने अनुमानका आधारमा यो कुरा गरेको हो भने ओलीलाई शक्तिमा आउन नदिन हामीले सबै सम्भव उपाय लगाउनुपर्छ । त्यसलाई नेपालीले संविधानमाथिको भारतीय हस्तक्षेप मानुन् वा नमानुन्, त्यो मतलव छैन । तर ओली र उनको ग्याङलाई नेपालको सत्तामा आउन नदिन सबै उपाय हामीले लगाउनै पर्छ’ उहाँले वहसमा भन्नुभयो, ‘नेपालमा भारतविरोधी शक्तिलाई सत्तामा आउन नदिन हामीले प्रयास गर्नु हाम्रो वैधानिक अधिकार नै हो । मलाई कसैले भनेकाछन् कि नेपालको सत्तामा ओली फेरि आउने सम्भावना छंदैछ । तर त्यसलाई हामीले जसरी पनि रोक्नुपर्छ ।’

उहाँले कांग्रेस पनि सधंै भारतको समर्थक भएको र उनीहरुले पनि आफ्नै प्रकारको खेल खेलेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘कांग्रेस पनि आफ्नै गेम खेल्छ । माओवादी पनि विभाजित छ । उसलाई हामीले आफ्नै प्रकारले व्यवहार गर्नुपर्छ । नेपालको स्थिति तरल छ । तर निश्कर्ष के हो भने ओली सत्तामा फेरि आउनु भनेको भारतका लागि ‘सेटब्याक’ हो । त्यसैले त्यसलाई रोक्न हामीले सबै उपाय गर्नुपर्छ ।’

यति भनिसकेपछि भने सिबलको टोन फेरियो । अचानक नेपालको सार्वभौमसत्ताको याद गर्दै उहाँले नेपाललाई भारतले सबै सहयोग गर्नु पर्ने र विशेष सम्बन्ध कायम राख्नु पर्ने वताउनुभयो । सिबलको थप भनाई थियो– ‘नेपालमा भारतले हस्तक्षेप गर्नु हुँदैन, गरेको पनि छैन । नेपालमा भारतले हस्तक्षेप गरेको भनेर प्रचार गरिंदैछ, जसले भारतबिरोधी भावना बढाएको छ । त्यसलाई चिर्न हामीले विश्वास बढाउनुपर्छ ।’

वहसमा पत्रकार भारत भूषणले केपी ओली नेपालको सत्तामा फेरि आउनु भारतका लागि दुर्घटना (डिजाष्टर) भएको बताउनुभयो । ‘केपी ओली सत्तामा आउनु भनेको भारतका लागि डिजाष्टर हो । उनलाई जसरी पनि रोक्नुपर्छ’ उहाँले भन्नुभयो, ‘केपी ओलीले व्यक्तिगत स्वार्थको राजनीति गर्नुहुन्छ । उहाँ विभाजित राजनीति गर्नुहुन्छ । उहाँलाई एक्ल्याउनुपर्छ ।’

नेपालमा चीन कार्डको प्रयोग वास्तविक रुपमा अहिले भइरहेको भन्दै चीनले हात हालेको अफ्रिका श्रीलंका लगायतको उदारण दिँदै नेपालमा त्यसलाई रोक्नुपर्ने भुषणको भनाई थियो । उहाँले भन्नुभयो, ‘आज भारतबाट निराश भएको एउटा समुहले ओलीलाई सहयोग गरेको छ । हामीले हाम्रा मित्र र शत्रु पहिचान गर्नुपर्छ ।’
नेपाल आइरहने पत्रकार भूषणले नेपाली ‘एलिट’ र ‘पावर एलिट’ले काठमाडौंलाई नियन्त्रण गरेको भन्दै उनीहरुले नै भारतबिरुद्ध चीन कार्ड प्रयोग गरेको आरोप लगाउनुभयो । ‘पाँचमहिने नाकाबन्दीले मात्र होइन, नेपाली हिल एलिटहरुले भारतबिरुद्ध चीनलाई कार्डका रुपमा प्रयोग गर्न सकिने ठानेका छन् र त्यो प्रयोग गर्छन्, गरिरहेका छन्’ उहाँले भन्नुभयो, ‘भारतले नेपालमा हस्तक्षेप गरेको छैन भन्ने ठान्नुहुन्छ भने त्यो गलत हो, कहिले यसले सहजीकरणका नाममा गरेको छ, कहिले माओवादीलाई राजनीतिक प्रक्रियामा ल्याउनका लागि गरेको छ । ‘कल्चरल’ राजा चाहियो भन्ने खालका वैचारिक प्रश्नसमेत आएका छन्, यद्यपि यो राजनीतिक थिएन ।’

मधेशी दलहरुलाई भारतले सहयोग नगरेकोमा उहाँले आक्रोश पोख्नुभयो । ‘तपाईंले पाँच महिना लामो नाकाबन्दी लगाउनुभयो, त्यसमा ‘ट्यासिट सपोर्ट’ गर्नुभयो । अधिकारका लागि भन्दै मधेशीलाई आन्दोलन गर्न उचाल्नुभयो । अनी ती पूरा नभई तपार्इं अहिले आएर अव चुनावमा जाउ भन्दै हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘मधेशीलाई सहयोग नगरेर तपाईंले एउटा रणनीतिक सम्पत्ती (स्ट्राटेजिक एसेट) गुमाउनुभयो, पहाडी कहिले पनि तपाईको पक्षमा छैनन् । मिडिया तपाईंको पक्षमा छैन, सम्पूर्ण काठमाडौं तपाइको बिपक्षमा छ । मधेशी तपाईहरुप्रति लोयल छन्, तर तपाईंले उनीहरुका लागि केही गर्नुभएन ।’

भारतले चीनसँग प्रतिस्पर्धा गर्न नसक्ने उहाँले बताउनुभयो । ‘चीनले नेपालमा जे गरिरहेको छ, त्यसमा भारतले प्रतिस्पर्धा गर्न सक्दैन । कुनै प्रतिस्पर्धा नै छैन । हामीले नेपाललाई सोध्न सक्नुपर्छ, चीनलाई भित्र्याएर तपाईंहरु के गर्न खोज्दै हुनुहुन्छ ? अफ्रिकामा चीनले के गर्यो ? श्रीलंका ‘डेट ट्रयाप’ (ऋणको पासो) मा पर्यो । के तपाईंहरु पनि ‘डेट ट्रयाप’मा पर्ने हो ?’

प्राध्यापक तथा राजदूत एसडी मुनीले भने केपी ओलीबाट भारतले डराउनु नपर्ने भन्दै त्यसलाई सामना गर्ने शक्ति आफूहरुसँग भएको बताउनुभयो । ‘ओली फ्याक्टरबाट त्यति नडराउनुहोस् । दुई कारणले गर्दा डराउनुपर्दैन । ओलीले निरन्तर रुपमा भन्दै आएका छन्– म भारतको मित्र हुँ । उनीसँग धेरै हिप्पोक्रेसी छ, त्यसमा कुनै शंका छैन’ उहाँले भन्नुभयो, ‘जहाँसम्म स्थानीय निर्वाचनको परिणामको कुरा छ, ओलीको पार्टी पूर्ण बहुमतमा छैन । नेपाली कांग्रेस र माओवादीसँग जोड्दा ओलीको पार्टीको भन्दा बढी सिट हुन्छ । त्यसमा मधेशी पार्टीले निर्वाचन नै लडेनन् । त्यसैले कांग्रेस, माओवादी र मधेसी दलको गठबन्धन अझ बलियो गराउनुपर्छ । यो हामीले गर्नुपर्छ । यसो भयो भने उनीहरुले निश्चितरुपमा ओलीको चुनौतीको सामना गर्न सक्छन् ।’

नेपालमा नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी दलहरुको संयुक्त गठबन्धनलाई बलियो गरेर कायम राख्न सकेमा ओलीको चुनौती सामना गर्न सकिने भन्दै तर सत्तागठबन्धन भित्रै समस्या रहेको उहाँले बताउनुभयो । ‘हामी नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी पार्टीको संयुक्त गठबन्धन हेर्न चाहन्छौं । किन संविधान संशोधन फेल भयो ? किनभने एमालेले भोट दिएन । तर किन कांग्रेस र माओवादीका २० सांसद भोट हाल्न संसदमा गएनन् ? कसैले मलाई यो भन्नसक्छ ? ४८ भोट पुगेन’ उहाँले भन्नुभयो, ‘यसमा को जिम्मेबार छ ? के देउवाले आफ्नो पार्टी पूरै नियन्त्रण गरेका छन् ? के प्रचण्डले नियन्त्रण गरेका छन् ? देउवाले भारत भ्रमणमा क्रममा दुईतिहाई मतले संशोधन फेरि पारित गर्छु भनेका छन् । तर यो संयुक्त गठबन्धन कायम रहँदामात्र सम्भव छ । त्यसैले कायम राख्नुपर्छ ।’

चीन भारतका लागि चुनौती भएको भन्दै त्यसको सामना गर्न भारत तयार रहनुपर्ने उहाँले बताउनुभयो । ‘यसलाई कसरी सामना गर्ने हो भन्ने भारतले सोच्नुपर्छ । यदि तपाई आफैं चीनसँग रेल सहयोग माग्नुहुन्छ भने श्रीलंका र नेपालले चिनियाँ रेल्वेको कुरा गर्दा तपाईं कसरी बिरोध गर्न सक्नुहुन्छ । यो गर्न सकिंदैन’ उहाँले भन्नुभयो, ‘हाम्रो डेलिभरी डेफिसिट छ । हामी गर्दैनौं, भन्छौं मात्र । त्यही पुनर्निर्माणमा हामीले गरेको प्रतिबद्धता र सहयोगलाई हेरौं न । भुईंचालो अढाई वर्षअघि गयो, अहिले सहयोगको सम्झौता हुँदैछ । आजसम्म एक रुपैयाँ दिइएको छैन ।’ – चक्रपथ डटकमबाट

भिडियो हेर्नुहोस्:



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖