भारतबाट भित्रियो यस्तो अन्धविश्वास ! चुल्ठो काँटिने त्रास, यस्तो छ यथार्थ…

आयातित ‘अन्धविश्वास’ : चुल्ठो (चोटि) काँटिने त्रास

‘सुनसरीको कप्तानगञ्जमा भारतमै जस्तै चुल्ठो (चोटि) काट्ने एउटा घटना भएछ, विरामीलाई विराटनगरको एक निजी अस्पतालमा ल्याएको छ, बुझ्नुस् न’ गत ३ भदौ शनिबार कान्तिपुरको विराटनगर वरगाछी पीपलचोकस्थित पूर्वाञ्चल ब्यूरोमा फोन गरेर एक नागरिकले दिएको सूचना थियो यो ।

केही साताअघि भारतीय सञ्चार माध्यमको नीकै समय, ठाउँ र श्रम बर्बाद पारेको टाउको न पुच्छरको यो हल्ला अन्तत: पारीवाट वारी प्रवेश गरेकोमा अचम्म चाँहि लागेन । बाढीपछिको स्थिति बारे एक सामग्री तयार पारिरहेकै क्रममा उक्त अनपेक्षित फोन कल आएको थियो ।

भिषण वर्षा र बाढीपछि सर्वत्र त्राहीत्राही भइरहेको बेला यस्तो घटना सार्वजनिक भएमा जनजीवनलाई थप आतंकित वा अस्थिर बनाइ दिने मलाई हेक्का थियो । सूचना दातालाई धन्यवाद दिंदै भने, ‘सर, समाचार बनाउने खाले विषयवस्तु हुन सक्छ वा सक्दैन, बुझेपछि विचार गरौंला ।’

अन्धविश्वाससँग जोडिएका यस्ता समाचारले नागरिक समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले बढावा दिनुहुन्न भन्ने मेरो बुझाइ थियो । आपसी छलफलपछि मलगायत पूर्वाञ्चल ब्यूरोमा कार्यरत मित्रहरु पनि बाढीकै प्रभाव सम्बन्धी विषयवस्तुमा केन्द्रित भयौं तर नचाहेर पनि यो हल्ला रोकिनेवाला थिएन ।

भोलिपल्टदेखि सामाजिक सञ्जालमा आवश्यकताभन्दा बढी लिपपोत गरी यही बारेमा चर्चा हुन थाल्यो । हरेक खाले व्यक्तिको हातहातमा मोबाइल र इन्टरनेटको सुविधा भएको युगमा यो त हुनु नै थियो । यो वास्तवमा यसअघि भारतको केही राज्यको जनजीवनलाई प्रभावित बनाइसकेको घटनाहरुकै पुनरावृति थियो ।

त्योभन्दा थोरै पनि फरक नभएकोले यसलाई निकट छिमेकी मुलुकबाट आयातित ‘अन्धविश्वास’ नै भन्नुपर्छ । उसै पनि उताको धेरैथोकले ढिलोचाँडो यता असर पारिरहेकै हुन्छ । केही समयपछि कुनै पुरानै फिल्मलाई नयाँ पात्र र परिवेशमा ढालेर प्रदर्शन गरेजस्तै यहाँ पनि ‘चुल्ठो काण्ड’ प्रदर्शन हुन थाल्यो ।

भारतको विभिन्न राज्यमा केही मनोरोगी, परिवार वा छिमेकका उपेक्षित सदस्यले आफूतिर सबैको ध्यान तान्न र उच्छृखल तथा आपराधिक सोच भएकाले आफ्नै वा थाहै नहुनेगरी अरुको चुल्ठो (चोटि) काटेर यस्तै खैलाबैला मचाएको सम्झिरहेको थिएँ । त्यहाँ पनि यो हर्कत भूत वा चूडैलले गरेको भन्ने व्यापक हल्ला फैलाइयो । यथार्थ बुझेका हाँसे । नबुझ्नेहरु तर्से ।

यसकै सेरोफेरोमा मनगढन्ते कथाहरु रचियो एवं सुनाइयो । कोठामा आएको कुकुर वा विरालो अचानक चूडैलको रुप लिएको रे, अनि देख्ने चाँहि बेहोस भएको रे र होसमा आउँदा कपालको केही अंश काटिएको थाहा पाएको भनि सुनेका वा सुनाइएका लघुकथाको सबैतिर एकोहोरो प्रचारप्रसार भयो । यो उडन्ते गफले सर्वत्र डर फैलिएर मास हिस्टिरियाको रुप लिन थाल्यो ।

अज्ञात शक्तिको भयले स्थानीयले आलैपालो रातभरी पहरा दिन थाले । निंद्रासँगै स्थानीयको दैनिकी प्रभावित बन्यो । महिलाहरुले कपाल कसेर बाँधी घरमा बस्न थाले । सम्साँझ बस्तीहरु सुन्य हुन थाल्यो । तन्त्रमन्त्र गर्ने बाबा र माताको पसल राम्ररी चल्न थाल्यो । हल्लैहल्लामा एकपछि अर्को राज्यमा सम्हाल्नै नसक्ने गरी स्थिति अराजक भएपछि प्रहरी प्रशासन अघि सर्नुपर्यो ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महत्वका मुद्दाभन्दा यो प्रकरणले भारतीय सञ्चार माध्यममा ठाउँ पाएको थियो । यो मनोरोगबाट ग्रसित र केही आपराधिक मनोवृति भएकाको कर्तुत भएको हुनाले हल्लाको पछि नलाग्न जिम्मेबार सञ्चार माध्यमहरुले नागरिकलाई सचेत गराइराखेकै थियो ।

मिडियाले मनोचिकित्सक, विज्ञ एवं केही घटनास्थलको सीसीटीभी तस्बिरको मद्दतले यस्ता खाले बदमासीको खुलासा गरेपछि बल्ल त्यहाँ माहोल साम्य भयो । सीसीटीभी फुटेजमा भारतको पुणे नजिकको मलमा एक महिलाले घरबाटै काटेर ल्याएको कपाल फालेर आफ्नो चुल्ठो कसैले काटिदियो भन्दै हल्ला गरेको पोल समेत खुल्यो ।

कतै कुनै ठट्यौली प्रवृतिका वा बदमास स्वभावका व्यक्तिले मजा लिनलाई झुक्याएर अरुको कपाल काटेको पाइयो भने कतै उपेक्षित सदस्यले परिवारको माया पाउन, सहजै प्रचारमा आउन र कतै छोराछोरीले परिवारजनको इच्छाअनुरुप कपाल छोटो नपार्न वा लामो राख्न दबाब दिनलाई त्यस्तो गरेको पाइयो । ठुट्टा कपालका कारणले विद्यालयमा सबैले जिस्काउने हुनाले एक छात्राले आफैले काटी चूडैलमाथि दोष थोपारिन् । आफैले चुल्ठो काटेर कहानी रच्ने केही त मनोरोगी नै थिए ।

अहिले यस्तै खाले भ्रामक प्रचार हाम्रोतिर पनि भइरहेको छ । घरदेखि सार्वजनिक थलोसम्म महिलाले कसेर चुल्ठो बाँधी र मजाले कपाल छोपी मात्र निस्किरहेका देखिन्छन् । ‘विरामी आफन्तलाई हेर्न अस्पताल जाँदैछु, सबैतिर भूतले कपाल काटिरहेको हल्ला चलिरहेको हुनाले एक घण्टामै घर फर्किहाल्छु,’ स्थानीय गृहिणी रीता झाले भनिन् । सफा टेम्पोमा भेटिएकी उनी र अरु सबैलाई यस्तो वाहियात बातको पछि लागेर समय खेर फाल्न नहुने बुझाएँ ।

अझैं राहत सामग्री नपाएर छटपटाइरेको विराटनगरका सिंघिया खोला किनारका बाढीपीडितलाई भेट्न जाँदा उनीहरु पनि यो विषयमा चिन्तित पाएँ । कोही घरको मुख्य द्वारमा कागती र हरियो खुर्सानी झुन्डयाइरहेका थिए भने कोही त झाँक्रीलाई बोलाएर वस्तीमा भूतप्रेतको आगमनमा रोक लगाउने भनिरहेका थिए ।

म चाँहि यो कथित प्रेत आत्माले कपाल काटनलाई कैंची वा छुरी कहाँबाट ल्याउँछन भनेर सोच्दै मुस्कुराइरहेको थिएँ । ‘यस्तो हिलोपानीमा भूत कहाँ आउँछ नि, सबै सामान खोलाले बगाएपछि त्यो चूडैलले कपाल काटनलाई कैंची कहाँबाट फेला पार्छे नि ?, भन्न नपाउँदै उनीहरु पनि हाँस्न थाले । एउटा परिवार भने निकै तर्सेका थिए ।

‘चुल्ठो काटिने डरले दुई दिनदेखि मेरी बुहारी सुतेकी छैनन्, कतै एक्लै जान पनि डराउँछिन्,’ ७० वर्षीया मिनादेवीले भनिन् । बाढीको खोलामा घर डुबेपछि झन्डै दुई सातादेखि टेन्ट गाडेर बसिरहेकी उनले पानी र यो हल्लाले गर्दा निकै तनाव भएको बताइन् । उनकी नातिनीले कसैको मोबाइलमा चूडैलले चुल्ठो काटिरहेको चित्र देखेर आएको भनेपछि त उनी त झनै तर्सिइन् । मैंले भने ‘आमा, यो एउटा चित्र कला हो, कम्प्युटरको ज्ञान हुने जो सुकैले बनाउन सक्छन्’ भनेपछि बल्ल शान्त भइन् ।

हुन त यस्तो कुराको पछि लाग्नेमा सबै जमातका छन् तर उही शिक्षा एवं चेतनाको कमी भएको गरिब बस्तीमा अन्धविश्वासले सहजै डेरा जमाउँछ । नआतिई सामान्य विवेकको प्रयोग गरेमा यस्तो अन्धविश्वासबाट बच्न सकिन्छ । वरिपरि यस्तो केही भएको छ भने तत्काल प्रहरी एवं चिकित्सकलाई सम्पर्क गर्नु उतम हुन्छ । सत्य वा झुठको फरक नबुझि बोल्दा हल्ला फैलिएर अनाहकमा स्थानीय आतंकित हुन्छन् ।

– जितेन्द्र साह, विराटनगर द्वारा लिखित प्रस्तुत सामाग्री कान्तिपुर दैनिकबाट साभार गरिएको ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।