आचारसंहिता : एमालेलाई टोपी लगाउन प्रतिबन्ध, माओवादीलाई ग्यास सिलिण्डर बाँड्न छुट

काठमाडौं, १६ भदौ । जनकपुरमा भएको एमाले मोर्चा संगठनको भेलामा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सूर्य चिन्ह अंकित टोपी लगाएको भन्दै निर्वाचन आयोगले नेपालमाथि २४ घन्टे स्पष्टिकरण सोध्यो । आयोगले औपचारिक रुपमै पत्र काटेर एमाले वरिष्ठ नेता नेपालमाथि निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप लगायो ।

एमाले वरिष्ठ नेता नेपालले सम्बोधन गरेको त्यही भेलामा बाहिरबाट ढुंगामुढा गर्ने राजपालाई भने आयोगले अहिलेसम्म एउटा पत्रसमेत काटेको छैन । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग एक अनलाइन न्युज पोर्टलले लिएको अन्तरवार्तामा उहाँले मौखिक रुपमा त्यस घटनाप्रति आयोगको चासो भएको अनौपचारिक अभिब्यक्ति त दिनुभयो तर, एउटा टोपी लगाएको विषयमा एमालेमाथि यसरी २४ घन्टे पत्र काट्ने आयोगले दलको शान्तिपूर्ण कार्यक्रममा ढुंगामुढा गर्ने जस्तो हिंस्रह र आचार संहिता विरोधी अपराधमा औपचारिक रुपमा मुख खोलेको छैन ।

यही टोपी देखाएर आयोगले २४ घन्टे पत्र काटेको थियो

सञ्चार माध्यमले अन्तरवार्ताका क्रममा प्रश्न सोध्दा प्रतिक्रिया दिनु बाहेक एमाले कार्यक्रममाथि भएको ढुंगामुढामा आयोगले कुनै औपचारिक कारवाही अगाडि बढाएको छैन । हुन त भरतपुरमा मतपत्र च्यात्नेको माग बमोजिम नै फेरि चुनाव गराएको आयोगका प्रमुख आयुक्त यादवले भरतपुर सम्झेर चित्त नदुखाउन एमाले नेताहरुलाई आग्रह गर्नु भएको छ । यो जवाफका लागि जवाफ त होला, तर यसले न्यायिक औचित्य पुष्टि गर्न सकेको छैन र सक्नेछैन पनि ।

माधव नेपालले धनुषामा टोपी लगाएकोप्रति आपत्ती जनाउँदै आयोगले २४ घन्टे पत्र काटेको भोलिपल्टै माओवादी अध्यक्ष पुष्पकमल दाहालले रौतहटमा मतदातालाई १००० वटा ग्यास सिलिण्डर र चुल्होसमेत बाँड्न भ्याउनु भयो । कार्यकर्ता भेलामा चुनाव चिन्ह अंकित टोपी लगाउनु आचार संहिता विपरित भएको भन्दै पत्र काट्ने आयोगले मतदातालाई ग्यास सहितका सिलिण्डर र चुल्हो बाँड्नुलाई आचार संहिता उल्लंघन मान्छ कि मान्दैन ? निश्पक्ष रहनुपर्ने निर्वाचन आयोगको भूमिकामाथि अघिल्लै चरणका चुनावमा प्रश्न उठेको थियो ।

माधव नेपालको टोपी र पुष्पकमल दाहालको ग्यास सिलिण्डर प्रकरणले आयोगको निश्पक्ष भूमिकामाथि थप प्रश्न उठाइदिएको छ ।

रौतहटमा ग्यास र चुल्हो बाँड्दै दाहाल

बिहीवार रौतहटमा चुनावी अभियान लिएर पुग्नु भएका दाहालले बाढी पीडितका लागि सरकारबाट सहुलियत मिलाइदिने आश्वासन दिंदै एक हजार थान ग्यास सिलिण्डर र चुल्हो वितरण गर्नु भएको थियो । – चक्रपथ अन्लाईनबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।