प्रदेश नम्बर २ का वास्तविक विजेता उपेन्द्र, प्रधानमन्त्री बन्ने सम्भावना बोकेका मधेसी नेता
प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको अन्तिम नतिजा करिव करिव आइसकेको छ । निर्वाचनको नतिजामाथि आम सञ्चारमा विश्लेषणहरु आउँदैगर्दा प्रदेश २ को निर्वाचनले एउटा संकेत चाहिँ स्पष्टैसँग गरेको छ– त्यहाँको ‘अग्र्यानिक पोलिटिक्स’का एक नम्बरका खेलाडी उपेन्द्र यादव हुन् र उनी राजनीतिमा लामो रेसको घोडा बन्न सक्छन् । यो किन पनि भने तराई खासगरी २ नम्बर प्रदेश नेपालको राष्ट्रिय राजनीतिलाई प्रभाव पार्न बाहिरैबाट शक्तिहरु बनाउने र भत्काउने उद्गम थलो बन्दै आएको थियो र त्यसमा उपेन्द्र यादवले अहिले आफ्नै सामथ्र्यले आफूलाई सावित गरेका छन् ।

प्रदेश २ का १३६ तह मध्ये तीन तहको मात्रै नतिजा आउन बाँकी हुँदा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले २५ स्थानीय तहमा जितेको छ र एक मात्र महानगरपालिका बीरगञ्जमा आफ्नो अग्रतालाई फराकिलो बनाएको छ । यसअघि पहिलो र दोस्रो चरणको निर्वाचनबाट प्राप्त स्थानीय तह समेत जोड्दा समाजवादी फोरमले ३५ स्थानीय तहमा जित हात पार्ने पक्का छ ।
प्रदेश नम्बर २ मा ३९ स्थानीय तह जितेर उक्त प्रदेशमा पहिलो भएको कांग्रेसलाई विजेता भन्न सकिन्थ्यो । तर, कांग्रेसको यो जित प्रायोजित र प्राविधिक मात्रै बन्न पुग्यो । कसरी भने चुनावकै मुखमा सत्ता र राज्यका अंग प्रयोग गरी मनोमानी रेखाङकन गरी थपिएका स्थानीय तहका स–साना इकाई जोडेर कांग्रेसको संख्यात्मक अग्रता देखिनु उ विजेता नभएको प्रमाण हो । त्यसमाथि जनकपुर उपमहानगरपालिकामा राजपाले जित्यो, बीरगञ्ज महानगरमा फोरमकै अग्रता छ, ठूलो जनसंख्या भएको जितपुर सिमरा उपमहानगरपालिका एमालेले जित्यो, कलैया उपमहानगरपालिकामा एमालेकै अग्रता छ । प्रदेश २ को रणनीतिक महत्व बोकेको र धेरै जनसंख्या भएको लाहान नगरपालिकामा एमालेले जित्यो र २ हजार मत हाराहारीमा जित्नेगरी पछि रेखाङकन गरि बनाइएका नगरपालिकामा जितेर कांग्रेसले संख्यात्मक लाभ हासिल गर्यो । नतिजामा कांग्रेसको अवस्थाप्रति उपेन्द्र यादवले एक अन्तरवार्तामा टिप्पणी पनि गरेका छन्– प्रदेश २ का गाउँ नगरमा विगतमा कांग्रेसको दुईतिहाई समर्थन थियो, तर अव कांग्रेसका दिनहरु सकिएजस्तो छ ।
कसरी भयो उपेन्द्रको पुनरोदय ?
संविधानसभाको पहिलो चुनावमा यसैगरी तराईको पहिलो शक्तिका रुपमा उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरमले नतिजा हात पारेको थियो । अहिले स्थानीय तहको चुनावमा तराई राजनीतिको मुख्य शक्ति भनी बाह्य शक्तिकेन्द्र र मूलधारको मिडियाले स्वतः स्थापित गरिदिएको राजपालाई पछि पार्दै उपेन्द्र यादव त्यसैगरी उदाएका छन् ।
यसका केही कारणको विवेचना गरौं ।
स्थानीय तहको चुनाव गत बैशाखमा घोषणा हुँदा संविधानको विरोधमा करिव २ वर्षदेखि मधेसी मोर्चाको ब्यानरमा आन्दोलन गरिरहेको पक्ष पूर्ण रुपमा चुनाव बहिस्कारको नारा दिइरहेको थियो र त्यसमा उपेन्द्र यादव पनि सँगै थिए । एकातिर बारम्बार बाह्य शक्तिकेन्द्रले मोर्चालाई प्रयोग गरिरहेको र अर्कातिर ‘अधिकारको आन्दोलन’ भनिए पनि उक्त आन्दोलन वर्चश्वको आन्दोलन थियो भन्ने उपेन्द्रलाई राम्रोसँग थाहा थियो । उपेन्द्रले आन्दोलनलाई वर्चश्वको आन्दोलन त भनेनन् तर चुनाव विरुद्ध कडा रुझानमा रहेका अन्य मधेसकेन्द्रित दललाई छोडेर उनले निर्वाचन आयोगमा दल दर्ता गराए । यसपछि विभिन्न ६ वटा दल जोडेर बनाइदिएइको राजपा उपेन्द्रमाथि खनिन थाल्यो । उपेन्द्रले त्यसबेलै तराई आन्दोलनको जातीय क्षेत्रीय उग्रता, संकिर्णता र निषेधको राजनीतिबाट आफू बाहिर निस्केको बलियो संकेत गरे । शब्द जस्ताको तस्तै नहोला तर, साम्प्रदायिक बन्दै गएको तराई आन्दोलनलाई राष्ट्रिय चरित्रको बनाउन उपेन्द्रले लिएको युटर्न करिवकरिव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्दाजुल्दा हुनथाले । ‘मुलुकलाई सम्पन्नतातर्फ लैजानुपर्छ, आत्मनिर्भर, बनाउनु पर्छ, नेपालीहरु स्वाभीमानी हुन् । कसैको हप्काइदप्काई र दया मायामा बाँच्नु नपरोस् । हामी हिमाल, पहाड, तराई सवैलाई जोडेर लैजान चाहन्छौं साम्प्रदायिक, क्षेत्रीयतावादी वा जातिवादी सोच राख्दैनौं’ उपेन्द्र यादवले भनेका छन्, जसको भाष्य केपी ओलीसँग मिल्न खोज्छ । उपेन्द्रले यसो भनिरहंदा राजपा, कांग्रेस र माओवादीका नेताहरु प्रदेश २ को चुनावलाई कसरी रणनैतिक बनाउने भन्दै चुनाव सार्न भारतीय दूतावासमा दौडधूपमा थिए । उपेन्द्रले त्यसबेलै कान्तिपुर टेलिभिजनमा फायरसाइड कार्यक्रमसमक्ष दिएको अन्तरवार्तामा चुनाव सार्ने सत्ता र बाह्य पक्षको मेलबारे कटाक्ष गरेका थिए ।
सतहमा हेर्दा सत्तारुढ कांग्रेस, माओवादी र राजपा फरक फ्रन्टमा उभिएका खेलाडीजस्ता देखिन्थे । तर, स्थानीय चुनावलाई खण्ड खण्डमा बाँड्ने र भूराजनीतिक स्वार्थ अनुकुलको रणनीतिक नतिजा ल्याउने दिल्ली दूतावासको रणनैतिक बैठकमा सँगै हुन्थे । उपेन्द्र नरुचाइएका कारणले हुन् कि उनले अन्तरवार्तामा भनेजस्तो नेपाली स्वाभीमानी हुनुपर्छ भन्ने वचन गिराएका कारण हो उनी त्यसबेला त्यहाँ गएनन् । राजपाका नेताहरु लैनचौर दूतावासमा लञ्च र डिनर बैठहरुमा ब्यस्त रहेका बेला उपेन्द्र प्रदेश २ का गाउँगाउँमा खटिरहेका थिए । दूतावासमा राजपा, कांग्रेस र माओवादीका नेताहरुका रणनैतिक बैठकमा नअटाइएपछि खट्नु र मेहनत गर्नु भन्दा बाहेक उनीसँग अर्काे विकल्प पनि थिएन, उनी सिधा जनतासँगै गए ।
उपेन्द्रको अग्र्यानिक राजनीति
बामपन्थी पृष्ठभूमिका उपेन्द्र यादव मदन भण्डारीको सानिध्यता पाएर एमालेको राजनीतिबाट उदाएका ब्यक्ति हुन् । मदन भण्डारी एमालेको महासचिव छंदै तराईको नागरिकता समस्या समाधान गर्न पार्टी भित्रबाट गठित आयोगमा उनी थिए । ०४८ सालको चुनावमा उनी एमालेबाट सुनसरी–५ मा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गर्ने उम्मेदवार थिए । एमालेको प्रतिस्पर्धात्मक संसदीय राजनीतिबाट गिरिजाप्रसाद जस्तो नेतासँग पंगा लडाएर राजनीतिमा माथि उठ्न सकिंदैन भन्ने लाग्यो वा माओवादीको उग्रताबाट उनी प्रभावित भए, त्यसपछि उनी माओवादीमा प्रवेश गरे ।
माओवादी नेताका रुपमा सक्रिय रहंदै ०५८ सालमा माओवादीले आफ्ना नेताहरुलाई पक्राउने र सामुहिक हत्या गराउन भूमिका खेलेको भन्दै उनलाई नै सफाया गर्नेसम्मको घोषणा माओवादीले गर्यो । भारतको चेन्नई विमानस्थलमा मोहन वैद्य, सीपी गजुरेल, देव गुरुङलाई पक्राउ गर्न उपेन्द्रले सुराकीको रोल खेलेको आरोप माओवादीले लगाएको थियो । उनलाई जासुस भनियो । तर, उपेन्द्र राजनीतिक पौरखमा विश्वास गर्ने नेताका रुपमा त्यसबेला पनि देखिए, उनले माओवादी छोडेर मधेसी जनअधिकार फोरमक नामको गैरसरकारी संस्था बनाए । अन्तरिम संविधानमा संघीयता समावेश गर्नु पर्ने माग राख्दै उनी नेतृत्वको फोरमले आन्दोलन गर्यो, संविधानमा संघीयता पनि लेखियो । यसरी उपेन्द्र यादवको राष्ट्रिय राजनीतिमा उदय भयो ।
नेपालको समग्र राजनीतिलाई प्रभाव पार्न विशेषगरी यहाँ शक्तिहरु बनाउने र भत्काउने काममा दिल्ली जतिबेलै लागेको थियो । माओवादीको राजनीतिक उत्थानस्थल दिल्ली थियो र माओवादीलाई बलियो काउण्टर गर्ने अर्काे शक्ति बनाउने योजना पनि दिल्लीकै थियो । जानेर वा नजानेर माओवादीलाई सिमित साइजमा राख्ने काममा उपेन्द्र प्रयोग भए । संविधानसभाको पहिलो चुनावताका जव माओवादीको दवदवा थियो तव उपेन्द्र यादव मधेसी जनअधिकार फोरमको नेताका रुपमा उदाएका थिए र उनको दलले संविधानसभामा एक्लै ५२ सिट जितेको थियो । त्यसै क्रममा फोरमले रौतहटको गौरमा माओवादीका १६ कार्यकर्ताको हत्या गर्यो र उपेन्द्रले माओवादीसँग पुरानो बदला समेत लिए । यसबाट उपेन्द्र परिआए कठोर र निर्दयी पनि हुन सक्छन् भन्ने देखाउँछ ।
पहिलो संविधानसभाअघि जव उपेन्द्र यादव माओवादीलाई काउण्टर गर्ने शक्तिका रुपमा तराईमा उदाए, त्यो दिल्लीलाई रुचेको थिएन । एउटा शक्ति बनाउने र त्यसलाई साइजमा राख्न समानान्तर अर्काे शक्ति बनाउने काम गर्नु दिल्लीको नियमित काम जस्तै थियो । तव उपेन्द्रलाई साइजमा राख्न दिल्लीले महन्थ ठाकुरको नेतृत्वमा अर्काे शक्ति खडा गर्यो । उपेन्द्र सिधै जनतासँग सम्बन्ध भएका बामपन्थी राजनीतिबाट उदाएका नेता थिए । उनलाई काउण्टर गर्न कांग्रेसको माथिल्लै तहको नेतालाई अघि सार्नु पर्ने वाध्यता थियो । त्यसैको उपज थियो, कांग्रेस कोषाध्यक्षबाट महन्थको राजीनामा र तराई मधेस लोकतान्त्रिक पार्टीको गठन । उपेन्द्र बामपन्थी राजनीतिबाट आएका र समाजवादी कार्यक्रममा विश्वास राख्ने नेता थिए भने महन्थ कांग्रेसको ब्यूरोक्र्याटिक पृष्ठभूमिबाट स्थापित नेता थिए । महन्थका अगाडि उपेन्द्र तराईको बलियो शक्तिका रुपमा उपस्थित हुँदा जसले उक्त शक्ति बनाएको थियो, उसलाई मन पर्ने कुरै थिएन । त्यसैले कांग्रेस पृष्ठभूमिका विजय गच्छदार, जयप्रकाश गुप्ता र राजकिशोर यादवहरुले उपेन्द्र नेतृत्वको फोरम टुक्र्याएर अलग पार्टी बनाए ।
बाहिर ‘अधिकारको आन्दनोलन’ भित्र वर्चश्वको लडाईं
मधेसी जनअधिकार फोरमको विभाजनपछि ध्रुवीकृत भएको तराई केन्द्रित राजनीति बाहिर संविधान विरुद्ध र अधिकारको आन्दोलनको आवरणमा थियो भने भित्र यी दुई समुहबीचको वर्चश्व स्थापित गर्ने होड । तराई मधेसका सिमान्तकृत समुदायलाई दवाएर आफूमा अधिकार केन्द्रित गर्न गरिएको आन्दोलनलाई अधिकारको आन्दोलन भनिएको थियो र त्यसको रुप जातीयर क्षेत्रीयतावादी थियो । क्षेत्रीय, जातीय र साम्प्रदायिक राजनीतिमा जो बढी खरो उत्रिन सक्छ उ उति लोकप्रिय हुन्छ भन्ने बुझाईले दुई वर्ष चल्यो । तर, उपेन्द्रले पछिल्लो पटक जातीय क्षेत्रीय संकिर्णताबाट माथि उठ्ने बाटो तय गरे र पार्टीको नामबाट मधेस शब्द नै हटाए । कांग्रेस पृष्ठभूमिका नेताहरुलाई समेटेर उपेन्द्रलाई काउण्टर गर्न बनाएका तराईका ६ वटा दलबीच एकीकरण गरी राजपा बनाइएको थियो, जसलाई उपेन्द्रले सिधै ‘कसैले टाउका जोडेर बनाइदिएको’ भनी टिप्पणी गर्थे । अहिले भएको स्थानीय निर्वाचनमा उपेन्द्रले तराईमा आफ्नै पौरखमा वर्चश्वको लडाईं जितेका छन् । भलै तराईमा विगतमा भएको आन्दोलनलाई अधिकारको आन्दोलन भन्न भने उनीहरु कसैले पनि छोडेका छैनन् ।
लामो रेसका घोडा
मधेसी जनअधिकार फोरमलाई ५ टुक्रा पारेर जसरी तराईको राजनीतिक वर्चश्वबाट आउट गर्न खोजिएको थियो र त्यसका ठाउँमा महन्थ ठाकुरको नेतृत्वमा धुरी बनाउन खोजिएको थियो, अहिलेको निर्वाचन नतिजाले त्यसलाई असफल पारिदिएको छ । त्यसैगरी उपेन्द्र यादवले पनि जातीय, क्षेत्रीय, साम्प्रदायिक उद्वेलनबाट आफूलाई विस्तारै अलग गर्दै लगेका छन् । पार्टीको नामबाट क्षेत्रीयतावादी झल्किने पुच्छर हटाउनु, समाजवादी विचारको राजनीतिक रंगमा पार्टीलाई उभ्याउनु, हिमाल पहाड तराईको समग्र एकताको कुरा गर्नु र नेपाली स्वाभीमानको कुरा गर्नु यसका प्रमाण हुन् । त्यसमाथि उनको पार्टीमा लामो समयसम्म कम्युनिस्ट राजनीति गरेका अशोक राईजस्ता नेता पनि छन् ।
यसरी आफ्नै पौरखले फेरि उदाएका उपेन्द्र वैचारिक राजनीतिक चातुर्यतामा उत्रिन सके र आफ्ना राजनीतिक दाउलाई सही तरिकाले प्रयोग गर्न सके पनि राष्ट्रिय राजनीतिमा सम्भावना बोकेको नेताका रुपमा उदय हुन सक्ने सम्भावना देखिएको छ । चुनावपछिका उनका सार्वजनिक प्रतिक्रियाले त्यस्तो संकेत गरेका पनि छन् । उनले आगामी चुनावमा सबै दलसँग सहकार्यको ढोका खोलेका छन् र आफ्नो राजनीतिक गन्तब्य जातीय, क्षेत्रीय नभई आर्थिक विकासतिर रहेको पनि वताएका छन् । पछिल्लो गन्तब्यमा अघि बढे भने तत्कालका लागि प्रदेश २ को मुख्यमन्त्री भएर भविश्यमा प्रधानमन्त्री हुन सक्ने नेताका रुपमा उपेन्द्र आफूलाई उभ्याउन सक्छन् । – चक्रपथबाट


