माओवादी भत्किएर देशमा अर्को शक्ति पैदा हुँदैछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र भत्किएर देशमा अर्को नयाँ पार्टी बन्न लागेको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा बढिरहेको राजनीतिक ध्रुविकरणले देशमा नयाँ शक्तिशाली पार्टी निर्माण हुने र जनताको इच्छाअनुसार काम हुने दाबी गरेका हुन् । माओवादी केन्द्र र नेकपा (संयुक्त)बीचको एकताको प्रसंग जोड्दै दाहालले भने, ‘आजको एकता र अर्को एकताको कुरा हुँदैछ । जसबाट माओवादी केन्द्र भत्किन्छ र देशमा नयाँ शक्ति पैदा हुन्छ ।’असोज १७ गते एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल गर्दै पार्टी एकता गर्नेसम्मको घोषणा गरिएको थियो ।

‘माओवादीले कहिल्यै पनि घिसेपिटे तरिकाले सोचेन, एउटा नयाँ सोच र क्रमभङ्गका रुपमा सोचेकाले हामी अहिलेको ठाउँमा आइपुगेका छौं’, अध्यक्ष दाहालले भने, ‘कतिपय कम्युनिस्ट नेता र अग्रजहरु मन्दिरमा घण्टी बजाएझैं एकै ठाउँमा बसिरहनु भएको छ, हामीले त्यसो गरेनौं ।’

मोहनविक्रम सिंह, नारायणमान विजुक्छे, मोहन वैद्यलगायत नेतालाई लक्षित गर्दै दाहालले भने ‘मेरा कतिपय गुरुहरु पुरानै पार्टीमा हुनुहुन्छ । त्यही पार्टीमा हिँडिराख्नुभएको छ । भिक्षुजस्तै घण्टी बजाइरहनुभएको छ । उहाँहरुबाट न समाजमा कुनै परिवर्तन छ । न त जीवनमा कुनै आवेग वा कुनै आक्रोश नै । उहाँहरु पुरानै ढंगले चलिरहनै रहनुभएको छ ।’ उनले थपे ‘कतिपय साथीहरु भक्तपुरमा बसिरहनुभएको छ । भक्तपुरभन्दा बाहिर हेर्नुहुन्न । कतिपय साथी प्यूठानमा हुनुहुन्छ । प्यूठानबाहिर जानुहुन्न । केही साथी त्यस्तै यस्तै हुनुहुन्छ ।’

‘तर हामी त्यो भन्दा फरक छौं । फरक ढंगले उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति अगाडि बढ्ने जमर्को गरिरहेका छौं’ दाहालले भने, ‘नयाँ तरंग र आवेग पैदा गराएर मात्रै समाजलाई रुपान्तरण गर्न सकिन्छ ।’- कान्तिपुरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।