विर्तामोड मा अनिश्चितकालीन कर्फ्यू : दुई प्रदर्शनकारीको मृत्यूको आशंका
काठमाडौं, कात्तिक १० । बालक हत्याको विरोधमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका झापा अर्जुनधारा र विर्तामोडका स्थानीयहरु माथि दमन गर्न लागेपछि भड्किएको आन्दोलनकारीको भीड नियन्त्रण गर्ने क्रममा दुइ जना प्रदर्शनकारीको मृत्यू भएको अपुष्ट खबर छ। विर्तामोडको प्रहरी ट्राफिक पोष्ट समेत प्रदर्शनकारीले ध्वस्त पारेको खबर छ ।

प्रदर्शनकारीले तोडफोड, आगजनी गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
नगरपालिकाका मेयर ध्रुव शिवाकोटीको घरमा तोडफोड गरेका छन् । हत्यारालाई बचाउनको लागि स्थानीय जनप्रतिनिधिको समेत मिलेमतो रहेको भन्दै प्रदर्शनकारीले मेयरको घर तोडफोड गरेका हुन् ।
दिउँसो दुई बजेसम्म पनि ठूलो संख्यामा प्रदर्शनकारीहरुले मेयरको घर अघि ढुंगामुढा गरिरहेका थिए । अहिले मेयर शिवाकोटीलाई उनकै घरमा प्रहरीले सुरक्षा दिएर राखेको छ । प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार मेयरले चढ्ने मे १ झ १२१ नम्बरको नगरपालिकाको सरकारी गाडीमा पनि स्थानीयले तोडफोड गरेका छन् ।
त्यस्तै मेयरको छोराले चढ्ने गरेको छोराको बुलेट मोटरसाईकल र मेयर शिवाकोटीले चढ्ने गरेको बा १० च ३०६१ नम्बरको कार पनि पूर्ण क्षतिग्रस्त भएको छ । अर्जुनधारा नगरपालिकाको सीमाबाट भित्र छिर्न रोक लगाएको प्रहरीको सुरक्षा घेरा तोड्दै स्थानीयले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सबै संरचना ध्वस्त बनाईदिएका छन् ।
अहिले कर्फयू जारी गरिएको भएपनि आन्दोलनकारीहरु मेयरको घर बाहिर आन्दोलन चर्काईरहेको खबर छ । कर्फयू जारी र प्रहरीले भटाभट अश्रु ग्यास प्रहार गरेपछि विर्तामोड सुनसान बन्न थालेको साँघुन्युजमा खबर छ ।


