वाईसिएलले किसानको धान लुट्यो !
रुपन्देहीको शुद्धोधन गाउँपालिका बेलडाडाका किसान मुनिव लोनियाको धान (नेकपा) माओवादी केन्द्र निकट योग कम्युनिष्ट लिग (वाईसीएल)ले नियन्त्रणमा लिएको छ। पाकेको धान थ्रेसर लगाउने तयारीमा राखेको अवस्थामा २०÷२२ जनाको समूहमा आएका वाईसीएल कार्यकर्ताले धान थ्रेसर लगाएर लगेका हुन।
किसान लोनियाले २० क्विन्टल धान लुटिएको बताए। उनले आफ्नो धान कार्तिक ५ गते नै लुटिएको र त्यस लगत्तै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए। तर, प्रहरीले धान लुटिएको विषयमा अनुसन्धान नगरेको आरोप लगाए।
‘दुःख गरेर उब्जाएको धान लुटियो, उनले भने, ‘मलाई न्याय दिलाइदिनु पर्यो।’ सवा ९ कट्टा जमिनमा २० क्विन्टल जति धान फलेको उनले बताए।
वाईसीएल प्रदेश ५ का सदस्य शम्भु लोनियाको नेतृत्वमा आएको टोलीले धान नियन्त्रणमा लिएको हो। उनीसंगै शुद्धोधन गाउँपालिका उपाध्यक्ष इन्द्र गैरे, हिमाल गैरे लगायत सहभागी रहेका थिए। प्रहरीले शम्भुलाई नियन्त्रणमा लिए पनि अर्काे दिन छाडेको थियो। गाउपालिका अध्यक्ष किशुनचन्द्र चौधरीले शम्भुलाई छुटाएको पीडितको आरोप छ।
वाईसीएलका नेता शम्भुले विवादित जग्गामा धान उत्पादन भएकाले धान नियन्त्रणमा लिएर पीडित परिवारलाई प्रदान गरिएको बताए। ‘तीन भाइको जग्गा विवाद छ, त्यही जग्गामा फलेको धान हामीले नियन्त्रणमा लिएका हौँ’, उनले भने-‘हामीलाई उजुरी परेकाले न्याय दिएका छौं।’
वाईसीएल नेता शम्भु, मुनिव लोनियाका माइलो दाइका छोरा हुन। दाजुहरुको धम्कीका कारण मुनिवले प्रहरीको सहयोग लिएर धान रोपेका थिए। त्यही धान भित्र्याउने समयमा वाईसिएलले झण्डा गाड्दै नियन्त्रणमा लिएको हो।


