अपराजित रहँदै आएका रामचन्द्र पौडेलले चुनाव हारे
काठमाडौं। यसअघिका निर्वाचनमा लगातार अपराजित रहँदै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो पटकको चुनावमा भने जित निकाल्न सकेनन्। पौडेललाई एमालेका जिल्ला नेताले पराजित गरे, त्यो पनि उल्लेख्य मतअन्तरले ।

तनहुँ क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका पौडेललाई वाम गठबन्धनका साझा उम्मेद्वार एमालेका कृष्णकुमार श्रेष्ठले पराजित गरेका हुन्।
उम्मेद्वार मनोनय दर्ताका बेला कांग्रेसका अर्का नेता गोविन्दराज जोशीले पौडल विरुद्ध वागी उम्मेद्वारी दिएका थिए। तर निर्वाचन आयोगले जोशीको उम्मेद्वारी खारेज गरेपछि राहत महशुस गरेका पौडेललाई निर्वाचनको परिणामले भने साथ दिएन।
एमाले उम्मेद्वारले पौडेललाई ६ हजार ८१४ मतले पराजित गरेका हुन्। एमाले उम्मेद्वार श्रेष्ठले ३४ हजार ४८९ मत प्राप्त गर्दा पौडेलले २७ हजार ६७५ मतमा चित्त बुझाउनु पर्यो।
मुलुकभरको मतपरिणामकै लयमा यहाँ पनि नतिजा आएको छ। कांग्रेसका धेरै चर्चित र वरिष्ठ नेताले यो निर्वाचनमा हार व्यहोरेका छन्। ती मध्येमा पौडेलको नाम पनि हार्ने सूचिमा दर्ज भएको छ।


