पत्रकारिताबाट राजनीतितर्फ प्रेम केडी, कांग्रेस जिल्ला सदस्यमा उम्मेदवारी
मोरङ । पत्रकारिता र सामाजिक सेवामा सक्रिय रहँदै नागरिकका आवाज, समाजका समस्या तथा जनसरोकारका विषयलाई निरन्तर उठाउँदै आएका प्रेम केडी (भट्टराई) ले नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशनमा मोरङ जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पत्रकारितालाई समाजको ऐना र नागरिकको आवाजका रूपमा आत्मसात् गर्दै आएका केडीले आफ्नो व्यावसायिक यात्रामा सामाजिक सवाल, जनताका समस्या, विकृति–विसङ्गति र सकारात्मक परिवर्तनका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्। निष्पक्ष पत्रकारितासँगै सामाजिक गतिविधिमा समेत सक्रिय उनको परिचय समाजका विभिन्न क्षेत्रमा जोडिएको छ।
पत्रकारितासँगै नेपाली कांग्रेसको विचार, सिद्धान्त, आदर्श र लोकतान्त्रिक मूल्यप्रति वैचारिक प्रतिबद्धता राख्दै आएका केडी पार्टीको संगठनात्मक गतिविधिमा पनि निरन्तर जोडिँदै आएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पथरीशनिश्चरे नगरपालिका–१० को वडा सचिवको जिम्मेवारी निर्वाह गरिसकेका उनीसँग पार्टी संगठनभित्र काम गरेको अनुभवसमेत छ।
पत्रकारिताबाट प्राप्त सामाजिक अनुभव र संगठनात्मक जिम्मेवारीबाट हासिल गरेको सिकाइलाई पार्टीको बृहत्तर हितमा उपयोग गर्ने उद्देश्यसहित उनले जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
कांग्रेसलाई थप सुदृढ, एकताबद्ध, गतिशील र जनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै केडीले नयाँ पुस्ताको विचार, ऊर्जा र क्षमतालाई पार्टी संगठनमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीभित्र आपसी सद्भाव, सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै जनतासँग कांग्रेसको सम्बन्ध अझ बलियो बनाउन आफ्नो भूमिका रहने उनको भनाइ छ।
उनले नेपाली कांग्रेसका अग्रज नेता, वडासभापति, क्षेत्रीय प्रतिनिधि, पालिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि तथा सम्पूर्ण शुभेच्छुकहरूसँग साथ, सहयोग, सुझाव र समर्थनको अपेक्षा गरेका छन्।
निष्पक्ष पत्रकारिता, सामाजिक सक्रियता र संगठनात्मक अनुभवलाई पार्टीको जिम्मेवारीसँग जोड्ने उद्देश्यसहित अघि बढेका केडीले जिल्ला सदस्यमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।


