आजको मौसमः अपराह्नदेखि चक्रवात “अर्नब” प्रभाव कम हुने
काठमाडौं, १४ कार्तिक। हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेष तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अपराह्नदेखि यसको प्रभाव क्रमिक रूपमा कम हुने देखिन्छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहने तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति भने देशभर साधारणतया बदली रहनेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, देशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
कार्तिक १४ गते (शनिबार) सम्म देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा वा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले धानबाली भित्र्याउनेलगायतका कृषि कार्यहरू बिहीबारअघि नै सम्पन्न गर्न अनुरोध गरिएको છે। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन, पर्यटकहरूलाई उच्च हिमाली भू-भागमा नजान र गइसकेकाहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
यसका साथै, चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउछाउ पहिरो जान सक्ने तथा सडक र हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकारवाला सबै निकायमा महाशाखाकाे अनुरोध छ।


