पत्रकार नियन्त्रणमा लिइएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति
काठमाडौं, १३ कार्तिक । शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले एक विज्ञप्ति जारी गर्दै पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति नलिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा सार्वजनिक बिदाको ठीक अगाडि यसरी पत्रकारलाई नियन्त्रणमा लिइनु अत्यन्तै आपत्तिको विषय भएको बताएको छ। प्रहरी प्रधान कार्यालयबाट हालै जारी विज्ञप्तिको पृष्ठभूमिमा घटेको यो घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलको ठहर छ।
सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी कुनै उजुरी वा गुनासो रहेमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको मात्र रहेको छ। समाचारकै विषयलाई लिएर सीधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित कानुनी विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई काउन्सिलले जोडदार आग्रह गरेको छ।
साथै, काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारहरूको हालको अवस्था र पक्राउ गर्नुको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ। यदि कुनै पनि कानुनी आधारबिना उनीहरूलाई नियन्त्रणमा राखिएको भए तत्काल निःशर्त रिहा गर्नसमेत आग्रह गरिएको छ।
विज्ञप्तिमा, प्रेस काउन्सिलले सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमहरूलाई सत्यतथ्यमा आधारित रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि काउन्सिल सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।


