बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट, अवस्था गम्भीर
सञ्जय मिश्रा/रौतहट, १३ कात्तिक । बारा जिल्लाको पचरौता नगरपालिका–५, इनर्वामा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि निर्घात कुटपिट गरिएको छ। घटनामा गम्भीर घाइते भएकी महिलाको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ।
पीडित पक्षका अनुसार गत कात्तिक ११ गते बुधबार बिहान करिब ११:४५ बजे मोबारेक मियाँकी पत्नी सिकिन्द्र खातुनलाई स्थानीय केही व्यक्तिले ‘तिमी बोक्सी हौ’ भन्दै घेरा हालेर ज्यानै लिने उद्देश्यले आक्रमण गरेका थिए।
घटनामा तबारक मियाँ धुनियाका छोरा कलाम मियाँ धुनिया, सर्फुन खातुन, अपसाना खातुन र रोकसाना खातुनको संलग्नता रहेको पीडित पक्षले आरोप लगाएको छ।
कुटपिटबाट गम्भीर घाइते भएकी खातुनलाई स्थानीयको सहयोगमा सुरुमा बेलदारीस्थित नगर अस्पताल लगिएको थियो। तर, स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा रिफर गरिएको उनका छोरा समिरुल मन्सुरीले जानकारी दिए।
घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, सिम्रौनगढमा उजुरी दिएको छ।
इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव साहले आफू काम विशेषले शुक्रबार दिउँसो कार्यालयबाहिर रहेकाले घटनाबारे विस्तृत जानकारी लिन नपाएको बताए। उनले घटनाको वास्तविकता बुझेर दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।
अन्धविश्वासको आडमा महिलामाथि हिंसा
एक्काइसौँ शताब्दीमा पनि बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गरिनु समाजका लागि गम्भीर चिन्ताको विषय हो। अन्धविश्वास र कुरीतिको आडमा महिलालाई अपमानित गर्ने, कुटपिट गर्ने तथा ज्यान जोखिममा पार्ने यस्ता घटनाले कानुनी राज्यको उपहास गरेका छन्।
पीडित परिवारले घटनामा संलग्नलाई राजनीतिक वा अन्य दबाबमा जोगाउने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेको छ। कानुनले बोक्सीको आरोप लगाउनुलाई दण्डनीय कसुर मानेको छ। तसर्थ, दोषीलाई कडा कारबाही गर्नुका साथै पीडित महिलाको उचित उपचार, सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको दायित्व हो।


