कोशीका चार जिल्ला सहित विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणका अनुसार शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्रमा तथा मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा पूर्ण वा आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध हुनेछ।
केरौन १३२/३३ केभी सबस्टेसनका उपकरण परीक्षण तथा सञ्चालनका लागि दुहबी–दमक १३२ केभी प्रसारण लाइनमा आवश्यक प्राविधिक काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।
यसैबीच, अर्नब चक्रवातको प्रभावका कारण शनिबार काम सुरु हुन नसकेमा वा आंशिक रूपमा मात्रै सम्पन्न भएमा आइतबार बिहान ४ देखि दिउँसो ४ बजेसम्म र सोमबार बिहान ४ देखि १० बजेसम्म पनि विद्युत् आपूर्ति बन्द हुन सक्ने प्राधिकरणले जनाएको छ।
निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार चाँडै सञ्चालनमा आउने जनाइएको छ।


