सकियो समानुपातिकको मतगणना !, प्रतिनिधिसभामा एमालेको १२१ सिट, कांग्रेसको ६३
काठमाडौं, २ पुस समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । जसअनुसार एमालेले प्रतिनिधिसभामा एक सय २१ सिट पाएको छ । प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकमा पनि सबैभन्दा धेरै ४१ सिट पाएको छ ।
एमालेले ४८ हजार १८७ मतले कांग्रेसलाई उछिन्दै एक सिट थप पाएको हो । एमालेले ३१ लाख ६४ हजार ४०६ मत प्राप्त गरेको छ भने कांग्रेसले ३१ लाख १७ हजार ०७९ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १२ लाख ९८ हजार ३९० मत प्राप्त गरेको छ ।
चौथो र पाँचौँमा मधेसवादी दल बनेका छन् । चौथोमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २११ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार ३ मत प्राप्त गरेका छन् ।
हालसम्म पाँचवटा दलले मात्रै थ्रेसहोल्ड कटाउन सकेकाले आयोगले दिएको मतपरिणामलाई आधार मान्दा एमालेले समानुपातिकमा ४१ सिट पाउँछ । त्यस्तै, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र राजपा, संघीय समाजवादी फोरम, नेपालले समान ६÷६ सिट पाउँछन् ।
आयोगको सेन्टी–लिग मेथोडअनुसार यो सिट बाँडफाँड हुने हो । तर, आयोगले पनि पछि मात्र सिट बाँडफाँडको नजिता सार्वजनिक गर्ने जनाएको छ ।
प्रतिनिधिसभामा १ सय २१ सिटसहित एमाले पहिलो दल भन्दा ६३ सिटसहित कांग्रेस दोस्रो पार्टी बनेको छ । उसले प्रत्यक्षमा २३ सिट जितेको थियो । त्यस्तै ५१ सिटसहित माओवादी केन्द्र तेस्रो ठुलो दल बनेको छ ।


