माओवादीलाई समानुपातिकमा सबैभन्दा बढी घाटा !, एमाले र कांग्रेसको भोट बढ्यो !
काठमाडौँ । विगत १० वर्षमा भएका दुई वटा संविधान सभा निर्वाचन र हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मत तुलना गर्दा माओवादीले सबैभन्दा बढी घाटा बेहोर्नुपरेको देखिन्छ।

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीले ३१ लाख ४४ हजार २०४ मत पाएको थियो। यो संख्या २०७० र २०७४ को निर्वाचनमा निरन्तर घट्दै गएको छ। २०७० को संविधान सभा निर्वाचनमा माओवादीले पहिलो निर्वाचनको तुलनामा दोब्बरभन्दा कम १४ लाख ३९ हजार ७२६ मत पाएको थियो। कूल मतदाताको संख्या बढे पनि माओवादीले यो वर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा अझ कम १३ लाख ३ हजार ७२१ मत मात्रै पायो।
एमाले र कांग्रेसको भोट भने बढेको छ। कांग्रेस पहिलो पटक समानुपातिक मतमा एमालेबाट पछाडि परेको छ। प्रत्यक्षतर्फको नतिजामा एमाले र कांग्रेसबीच ठूलो अन्तर देखिए पनि समानुपातिकमा भने कांग्रेस एमालेसित थोरैमात्र पछाडि छ।
एमालेले २०६४ सालको संविधान सभा निर्वाचनमा २१ लाख ८३ हजार ३७० मत पाएको थियो। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा एमालेले २२ लाख ३९ हजार ६०९ मत पुर्यायो भने यस पटक ३१ लाख ७३ हजार ४९४।
कांग्रेसले २०६४ सालको निर्वाचनमा २२ लाख ६९ हजार ८८३ मत ल्याएको थियो। दोस्रो संविधान सभाको निर्वाचन २०७० मा उसले २४ लाख १८ हजार ३७० मत पायो भने अहिले ३१ लाख २८ हजार ३८९ मत पाएको छ।
चार वर्षअघिको अघिल्लाे निर्वाचनभन्दा अहिलेकाे निर्वाचनमा कांग्रेसले ७ लाख १० हजार र एमालेले ९ लाख ३४ हजार मत बढाएका छन्। तर माओवादीको भोट भने १ लाख ३६ हजार भाेट घटेको छ।


