यी हुन् दलित समुदायबाट चुनाव जित्ने सांसद !

काठमाडौं । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मुख्य तीन दलबाट ९ जना दलित उम्मेदवारले प्रत्यक्षतर्फ टिकट पाए। त्यसमध्ये तीन जना प्रतिनिधिसभाका लागि र छ जना प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा थिए। तर तीन जनाले प्रतिनिधिसभामा र प्रदेशसभामा तीन जनाले मात्र चुनाव जित्न सफल भएका छन्।

नेपालको कूल जनसंख्याको १३ दशमलव २ प्रतिशत जनसंख्या ओगटेको दलित समुदायबाट अत्यन्त न्यून मात्रामा टिकट पाएका भए पनि ती उम्मेदवारमध्ये पनि सबैले चुनाव जित्न सकेनन्। प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट दलित समुदायबाट प्रतिनिधिसभामा तीन जनाले मात्र टिकट पाएका थिए।

त्यसमध्ये तीनै जनाले चुनाव जित्न सफल भएका छन्। २०७० को संविधानसभा चुनावबाट ठूलो पार्टी बनेको नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक जना पनि दलित समुदायका उम्मेदवार उठाएन। प्रदेशसभा सदस्यतर्फ कास्की क्षेत्र नम्बर- १ को ‘क’मा जीवन परियारलाई उम्मेदवार बनाए पनि कांग्रेसले जिताउन भने सकेन।

एमालेले प्रतिनिधिसभा सदस्यतर्फ दुई जना र प्रदेशसभामा दुई जना दलित नेतालाई उम्मेदवार बनाएकामा चारै जनालाई जिताउन सफल भएको छ। प्रतिनिधिसभाको सदस्यतर्फ एमालेबाट रूपन्देही क्षेत्र- १ बाट छविलाल विश्वकर्मा र कास्की- ३ बाट जगत विश्वकर्माले चुनाव जितेका छन् भने प्रदेशसभा सदस्यतर्फ मुगु क्षेत्र नम्बर- १ को ‘क’बाट दानसिंह परियार र बारा- ४ ‘क’बाट सुन्दर विश्वकर्माले चुनाव जितेका छन्।

माओवादी केन्द्रले एक जनालाई मात्र प्रतिनिधिसभाको उम्मेदवार बनाएको थियो। प्रदेशसभातर्फ भने तीन जना दलित नेताले माओवादीबाट टिकट पाएका थिए। त्यसमध्ये प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा एक जनाले मात्र चुनाव जितेका छन्। प्रतिनिधिसभातर्फ माओवादीले बाँके क्षेत्र नम्बर- १ बाट महेश्वर गहतराज र रुकुम पश्चिम ‘ख’बाट रातो कामीलाई माओवादी केन्द्रले जिताउन सफल भएको छ।

छविलाल विश्वकर्मा रूपन्देहीको क्षेत्र नम्बर- १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। उनी ३४ हजार १५१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका अब्दुल रज्जाकले २६ हजार ७७१ मत ल्याए। वर्तमान खानेपानी तथा सरसफाई राज्यमन्त्री रज्जाकलाई हराउँदै विश्वकर्माले रूपन्देही- १ मा एमालेको विरासत फर्काएका हुन्।

२०७० सालको संविधानसभा निर्वाचनमा यी दुवै चुनावी मैदानमा थिए। त्यस बेला चुनाव भने कांग्रेसका रज्जाकले जिते। एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा २०६४ सालमा कृषि तथा सहकारीमन्त्री बनेका थिए। जगतबहादुर सुनार विश्वकर्मा विश्वकर्मा कास्की क्षेत्र नं.- ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। ३२ हजार ६९० मत ल्याएर विश्वकर्मा विजयी हुँदा कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३०४ मत ल्याए। एमालेका वैकल्पिक पोलिटब्युरो सदस्यसमेत रहेका विश्वकर्मा प्रदेश नम्बर- ४ का सचिव हुन्।

२०४५ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका विश्वकर्माले पहिलो पटक चुनाव जितेका हुन्। महेश्‍वरजंग गहतराज बाँके क्षेत्र- १ मा नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज झण्डै तीन हजारको मतान्तरले विजयी भएका छन्। उनले ३१ हजार १७३ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका माधवराम खत्रीले २८ हजार २१७ मत ल्याएका थिए। २०५९ सालदेखि माओवादीको केन्द्रीय सदस्य रहेका गहतराज २०७० सालको चुनावमा यही क्षेत्रमा पराजित भएका थिए।

दानसिंह परियार मुगु प्रदेशसभा ‘क’मा वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार दानसिंह परियार विजयी भएका छन्। पाँच हजार ६५३ मत प्राप्त गरी दानसिंह विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तिलकबहादुर मल्लले पाँच हजार २९९ मत प्राप्त गरेका थिए। सुन्दर विश्वकर्मा बारा क्षेत्र नम्बर- ४ प्रदेशसभा ‘क’बाट वाम गठबन्धनका सुन्दर विश्वकर्मा विजयी भएका छ्न्। नेकपा एमाले बाराका अध्यक्षसमेत रहेका विश्वकर्मा ११ हजार ७७० मत सहित विजयी भएका हुन्।

विश्वकर्मा नेपाली कांग्रेसका ओमकृष्ण कार्कीभन्दा तीन हजार ४४७ मत बढी ल्याएर विजयी भए। कार्कीले आठ हजार ८२३ मत ल्याएका थिए। रातो कामी रुकुम प्रदेशसभा ‘क’बाट वाम गठबन्धनका तर्फबाट माओवादी नेता रातो कामी विजयी भए। कांग्रेसका उम्मेदवार कृष्णबहादुर रोकालाई आठ हजार २३३ मतले पछि पार्दै उनी विजयी भएका हुन्। कामीले १६ हजार ८१० मत ल्याएका थिए भने रोकाले आठ हजार ५७७ मत ल्याएका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।