मेरो आयु सिमित होला तर पूर्ण ईमानका साथ काम गर्छु : ओली (भिडियो हेर्नुहोस्)

'अबको केही दिनमै एमाले र माओवादी दुवै पार्टी नहरने'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको केही दिनमै एमाले र माओवादी दुवै पार्टी नहरने बताउनुभएको छ । छिट्टै नै माओवादी र एमालेको पार्टी एकता हुने भएकाले दुवै पार्टी नरहने ओलीले बताउनुभयो ।

काठमाडौंबाट जित्ने वाम गठबन्धनका सांसदलाई बधाई दिन भएको कार्यक्रममा अध्यक्ष ओलीले केही व्यक्तीले पार्टी एक हुन नदिन कहिले एमाले र कहिले माओवादीका नेताका कान फुके पनि पार्टी एकतालाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

‘केही व्यक्तिले माओवादीका नेतासँग गएर तपाईंहरुलाई त एमालेले निल्ने रे नि भन्छन्, अनि तिनै व्यक्तिले एमालेतिर आएर अब त तपाईंहरुका सिद्धान्त पनि मासिने भए भन्दै कान फुकिरहेका छन्, तर पार्टी एकता निकट भविष्यमै हुन्छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘२ वटा पार्टी मिलेपछि त्यहाँ न एमाले हुन्छ, न माओवादी हुन्छ, त्यहाँ त नयाँ पार्टी हुन्छ, नयाँ सिद्धान्त हुन्छ, विगतमा भएका राम्रा कुरा अंगाल्दै नयाँ कुराको विकास हुन्छ ।’

आफूहरुको एकता केही व्यक्तिहरुलाई अपर्झट भएको जस्तो लागे पनि यो लामो प्रक्रिया भएको ओलीको भनाई छ । एकताको प्रयास बाहिर ल्याएको भए चुनाव अघि नै भाँडिने संकेत पाएकोले कुरा बाहिर नल्याएको ओलीको दाबी छ ।

पार्टी एकता हुन्छ कि हुँदैन भन्नेमा आशंका नगर्न कार्यकर्तालाई आग्रह गर्दै ओलीले भन्नुभयो, ‘कसैले हात समाइदिएर गुरुमन्त्र दिएको भरमा हामी एक हुन थालेको होइन, देशमा वामपन्थीको बहुमत हुने तर अर्कोले शासन गर्ने अवस्थाको अब अन्त्य हुन्छ ।’

गैँडाको किसबाट सचेत रहन आग्रह

कसैले माया र चिन्ता गरेको जस्तो गरेमा उसको मायामा नभुल्न उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

‘अहिले पनि केहि व्यक्रि गैँडाका जस्ता जिव्रा लिएर माया गरेको स्वाङ पार्दै चाट्न खोज्दैछन’ राष्ट्रिय सभागृहमा खचाखच भरिएका कार्यकर्तालाई हँसाउदै ओलीले भन्नुभयो ‘गैँडाले चाट्यो भने के हुन्छ थाहा छ नि, जहाँ चाट्यो त्यैँ घाउ हुन्छ, त्यसरी यसो एक किस गरौँ न त भनेर चाट्न खोज्नेहरुप्रति सचेत हुनुहोला ।’

बढि नबोल्न मन्त्रीहरुलाई चेतावनी

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले जनमतलाई ध्यान दिएर खुरुक्क राजीनामा गर्नुको साटो तेस्रो दलसँग मिलेर फेरि सरकार बनाउछौं भन्दै हिँडेको आरोप पनि लगाउनुभयो । सरकारको यो नाटक धेरैदिन नटिक्ने दावी उहाँले गर्नुभयो । संविधानमा हुँदै नभएको कुरालाई लिएर कांग्रेसले निहुँ खोजेको र राष्ट्रपतिलाई विवादमा तानेको भन्दै सरकारका मन्त्रीहरुलाई मर्यादामा रहेर बोल्न पनि चेतावनी दिनुभयो ।

‘हिजोकै पत्रकार सम्मेलन हुर्नुहोस, अखडामा पस्न थालेको कुस्तीबाजले तिघ्रा ठट्याएजस्तो राष्ट्रपतिले यसो गर्नु र उसो गर्नु भन्ने आदेश दिएको सुनियो, सम्माननीय राष्ट्रपतिलाई अनावश्यक विवादमा तान्न खोजिएको छ, मन्त्री जीहरुलाई म भन्न चाहान्छु आफ्नो हैसियत मर्यादा र ठेगान बुझेर मात्रै कुरा गर्नुहोला ।’

संसदले राखेका भन्दा फरक प्रावधान राखेर कांग्रेसले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश बनाएको भन्दै ओलीले एउटा दलले मात्रै बनाएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नहुने बताउनुभयो । अल्पमतमा परेको थाहा हुँदाहुँदै पनि महत्वपुर्ण नियुक्ती गर्नु अशोभनीय भएको भन्दै ओलीले चुनावी हारबाट आत्तिएर जनमत विपरितका काम नगर्न कांग्रेसलाई सुझाव दिनुभयो ।

माधव नेपाल र नारायणकाजीको चेतावनी

कार्यक्रममा एमालेका नेता माधवकुमार नेपाल र माओवादीका नेता नारायणकाजी श्रेष्ठले सरकारले तत्काल राजीनामा दिनुपर्ने नत्र त्यसको जवाफ जनताले दिने चेतावनी दिनुभयो ।

‘हामीलाई नागरिकले बहुमत दिएपनि नैतिकता विहिन र अलोकतान्त्रिक शक्तीले अवरोध पैदा गरिरहेको छ, बामपन्थीको शानदार बहुमत देख्दा देख्दै सरकार निर्माणको प्रक्रियामा बाधा पुर्‍याउनेहरुलाई हामी छाड्दैनौं, जनताले छोड्दैनन् ’ नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

यस्तै एमाले नेता नेपालले हारबाट नआत्तिन कांग्रेसलाई आग्रह गनुभयो । सरकार बनेपछि कांग्रेसलाई गतिलो प्रतिपक्षी मान्ने भन्दै हारेको झोकमा जे पायो त्यै नबोल्न पनि नेता नेपालले आग्रह गर्नुभयो ।

मेरो आयु सिमित होला तर पूर्ण ईमानका साथ काम गर्छु : भिडियो

https://youtu.be/zN8IOREB5M4



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।