जब पृथ्वीनारायण शाहले युवराजसँग सोधे,- कसको सवार गरेर काठमाडौँ कब्जा गर्ने ?

मध्यपूर्व, फारस लगायत पश्चिमका भू‐भागबाट विभिन्न कालखण्डमा उपयुक्त, सुरक्षित जीविकाको खोजमा र अतिक्रमणकारीहरूको आक्रमणबाट बच्न सयौंँ वर्षपूर्व भारतवर्षमा आएका आर्य र खसहरू, भारत (हालको पाकिस्तान, बंगलादेश समेत), वरपरका भू‐भाग हुँदै विभिन्न समयमा नेपालको पश्चिमी पहाडी क्षेत्रमा प्रवेश गरेर जीवनयापन गर्दै आएका थिए । सत्य, त्रेता र द्वापर युग हुंँदै ईसापूर्व र भारतमा मुसलमानी आक्रमणपूर्व एघारौँ शताब्दीसम्म भारतवर्षको विशाल भू‐भागभर आफ्नै जाति र एउटै धर्म अपनाउने शासकहरूको राज्य भए तापनि एघारौँ शताब्दीपछि यो जातिको ठूलो समूह राज्यविहीन हुनथाल्यो । यिनीहरू आफ्नो धर्म, कूल, परम्परा, संस्कृति र खासमा अस्तित्व बँचाउन सङ्घर्षरत थिए । बाँच्नका लागि अन्न उत्पादन, पशुपालन र सीमित व्यापार र उद्योगबाहेक त्यसबेला दैनिक जीवनमा युद्ध नियमितझैँ थियो । खासगरी आर्य खसहरूको समय युद्धमा बित्दथ्यो । बसोबास त गरिरहेका थिए तर उनीहरूको भूमि सुरक्षित थिएन । राज्यको अस्तित्व र भू‐भागको निश्चितता थिएन । कहिले कुन राज्यको शासक अन्तर्गत त कहिले कुन धर्मका शासक अधिन हुन बाध्य थिए । करिब समान धर्म, संस्कृति, विगतको पृष्ठभूमि भए तापनि आपसमा लडिरहनु त्यसबेलाका आर्य खसहरूको, यस भू‐भागका वासिन्दाहरूको बाध्यता थियो ।

विक्रमको सत्रौँ शताब्दीको अन्ततिर वर्तमान नेपाल सरहदमा काठमाडौँ उपत्यकामा नेवार मल्ल राजाहरूको तीन राज्य थियो । पूर्वमा विजयपुर र चौदण्डी (सेन राजा) राज्य थियो । काठमाडौँ उपत्यकाबाट दक्षिण मकवानपुरमा सेनराजा थिए । पश्चिमतर्फ गण्डकी क्षेत्रमा २४ वटा र कर्णाली प्रदेशमा २२ स‐साना अलग राज्य थिए । त्यसभन्दा पश्चिम कुमाउ, गढवाल, काँगडा लगायतका स्वतन्त्र राज्यहरू थिए । उत्तरतर्फ तिब्बत राज्य थियो ।

काठमाडौँ उपत्यकाबाट पश्चिमतर्फको चौबीसी राज्यमध्येको एक गोरखा राज्य थियो । त्यहाँका शाहवंशीय राजाका पूर्वज भारतको चित्तौडका सिसौदिया कुलका सन्तान भएको र ईस्लाम आक्रमणपछि भागेर नेपाल आएका इतिहासकार बालचन्द्र शर्माले उल्लेख गरेका छन् । करिब १५ औँ शदीतिर चित्तौड राज्यको पतनपछि यिनीहरू पश्चिम नेपालको पहाडतर्फ लागेका थिए ।

ईसाको तेह्रौंँ शताब्दीको अन्तमा भारत, चित्तौडमा हिन्दू धर्म मान्ने राजपूत राणा रतनसिंह राजा थिए । रतनसिंहको अर्काे नाम राणा भीमसिंह पनि हो । उनको राज्यमाथि तत्कालीन दिल्लीका ईस्लाम शासक सुल्तान अलाउद्दीन खिलजीले३ सन् १३०३ जनवरी २८ मा विशाल सेनासहित आक्रमण गरेका थिए । सुल्तानका सेनाले सात महिना चित्तौड घेराउ गरेर २५ अगष्ट १३०३ मा कव्जा गरेका थिए । सात महिनासम्म भीषण युद्ध भएको थियो । युद्धमा राजा आफ्ना सात पुत्रसहित मारिएका, महिलाले जौहर गरेका र अरू सन्तान भागेका थिए ।

बालचन्द्र शर्माका अनुसार चित्तौडबाट भागेका राणा रावका सन्तानहरूमध्येका एक, पश्चिम नेपालको रीडी, भीरकोट, सतहूँ, गरहूँ, पल्लो नुवाकोटमा स‐साना राज्य खडा गरी शासन गर्दै आएका थिए । नुवाकोटका राजा कुलमण्डनका माहिला छोरा कालु शाह, कुलमण्डनको अनुमतिमा गण्डकी प्रदेशको लमजुङमा राजा हुन लमजुङेहरूले ल्याएकोमा, लमजुङका विपक्षी जाति शेखान्तहरूले झुक्याएर हत्या गरेकाले पुनः कान्छा छोरा यशोब्रम्ह शाह लमजुङका राजाका लागि पठाइए । यशोब्रम्ह शाहका दुई छोरा थिए नरहरि शाह र द्रव्य शाह । यशोब्रम्ह शाहको मृत्युपछि जेठा नरहरि शाह लमजुङका राजा भए । कान्छा द्रव्य शाहले पहिले लिगलिगकोट र पछि वि.सं. १६१६, (१५५९ ई.) मा गोरखा विजय गरे र स्वतन्त्र राज्यका राजा भए । द्रव्य शाहपछि पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह र नरभूपाल शाह राजा भए । वि.सं.१७९९ (१७४२ ई.) मा नरभूपाल शाहको मृत्युपछि पृथ्वीनारायण शाह गोरखाका राजा भए ।

पृथ्वीनारायण शाह गोरखाका राजा हँुदा वर्तमान नेपालमा ५२ वटा स‐साना राज्य थिए । बेलायतीहरू व्यापारको अभिप्रायले भारत प्रवेश गरेर त्यहाँका राज्यको आन्तरिक कमजोरीबाट फाइदा उठाउंँदै, एकपछि अर्काे राज्य जितेर सिङ्गो भारत कव्जा गर्न उन्मूख थिए । अङ्ग्रेजहरू युद्ध र रणनीतिमा पोख्त थिए । व्यापार र उद्योगबाट प्रशस्त फाइदा लिएका थिए । आधुनिक हतियार र तालिमले सुसज्जित सैन्य सङ्गठन गरेका थिए । तत्कालीन भारतका शक्तिशाली राज्यहरूलाई पराजित गर्न सफल अंग्रेजका लागि नजिकैको नेपालका पहाडी स‐साना राज्यहरू खासै चुनौतिपूर्ण थिएनन् । नेपालका राज्यहरू आपसमा युद्ध गरिरहन्थे । एकता र विस्तार गर्ने प्रायः सबै राज्यका राजाको चाहना हुन्थ्यो तर दूरदर्शी सोच, स्पष्ट योजना र पर्याप्त तयारी एवं आधुनिक शैलीलाई अवलम्बन गर्न नसक्दा सफल हुन सकिरहेका थिएनन् ।

पृथ्वीनारायण शाहका पूर्वजले पनि राज्य विस्तार गरी ठूलो भू‐भाग विजय गर्ने र शक्तिशाली राज्य निर्माण गर्ने योजना गरेका थिए तर छिमेकी शक्तिशाली राज्यसँगको निरन्तरको द्वन्द्व र अवरोध, स्पष्ट योजनाको अभाव र आन्तरिक स्रोत साधनको कमी–कमजोरीका कारण पूरा हुन सकेको थिएन । पृथ्वीनारायण शाहले पूर्वजका सपनालाई बालक उमेरदेखि नै महसुस गर्दै आएका थिए । जेठीआमा चन्द्रप्रभावती र गोर्खाका वीर योद्धाहरूसँगको सानैदेखिको सामीप्यबाट उनी भित्रभित्रै गोर्खा राज्यको विस्तारमा दृढ थिए । उनी साहसी, युद्धप्रिय युवाहरूसँग निरन्तर सम्पर्कमा रहन्थे । छिमेकी लमजुङ, तनहूँ लगायतका राज्यबाट हुनसक्ने अवरोधबारे विमर्श गरिरहन्थे । उनले उपत्यकाका मल्ल राज्यसँग सम्बन्ध बढाएर त्यहाँको कमजोरी थाहा पाउने प्रयास गरेका थिए ।

गोरखाका राजा मात्र होइन जनतासमेत निरन्तरको युद्ध र अनिश्चयको जीवनबाट वाक्क थिए । उनीहरू स्थायी राज्य र विशाल भू‐भागको अपेक्षा गर्दथे । यो भावना गोरखा वरपरका स‐साना राज्यका जनतामा पनि थियो । शक्तिशाली राज्य निर्माणमा दत्तचित्त भएर लागिपर्ने सम्भावित दूरदर्शी राजाको राज्यमा बसाइँ सरेर एकीकरण अभियानमा दिलोज्यान दिन पछि नपर्ने जनता त्यसबेला नेपाल भूमिमा धेरै थिए । पृथ्वीनारायण शाहलाई उनले थालनी गरेको राज्यविस्तार अभियानमा गोर्खाका मात्र नभएर वरपरका अन्य राज्यका राजा, सेना र वासिन्दा समेतले साथ दिएका थिए । पृथ्वीनारायण शाह विशाल र शक्तिशाली देश निर्माणका लागि उत्सुक विभिन्न जातिका युवा, बृद्ध, महिलाहरूको मनोभाव बुझ्दथे । आपूm अघिका गोर्खाका शाह राजाहरूको असफल प्रयासका बारेमा उनी जानकार थिए । खासगरी वि.सं. १७९५ मा तत्कालीन मकवानपुर राज्यका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग विवाह भएपछि पृथ्वीनारायण शाह युवराज छंदै आफ्ना विश्वासी भारदारसँग अर्काे वर्ष डोला (दुलही) लिन भनी मकवानपुर गएका र फर्कदाँं काठमाडौँ उपत्यकाको दक्षिणतर्फको चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यका हेरेका थिए । पृथ्वीनारायण शाहले आपूm राजा भएपछि काठमाडौँ उपत्यका विजय गरि छाड्ने दृढता बोकेर आफ्ना विश्वासी वीरहरू मानसिंह रोकाया, रणजित बस्नेत र वीरभद्र पाठकसंँग रणनीतिक छलफल गरेका र उनीहरूको सहयोग र हौसलाबाट आपूm उत्साहित बनेको दिव्य–उपदेशमा उल्लेख गरेका छन् ।

गोर्खाली सेनाका वीरहरूसँगको छलफलपछि पृथ्वीनारायण शाहले पाल्पा राज्यका तत्कालीन युवराज उद्योत सेनसँग प्रश्न गरेका थिए । मेरा (साथ) राज्यमा बाहुन, खस, मगर र ठकुरीसमेत चार जातका सिपाही छन् । यिनीहरूमध्ये क–कसको सवार गरेमा नेपाल (काठमाडौँ उपत्यका) कव्जा गर्ने मेरो काम चाँडो फत्ते होला ? पृथ्वीनारायण शाहको प्रश्नको जवाफ दिदै उद्योत सेन भन्छन्ः बाहुनको सवारी भनेको वयलको सवारी गर्नुजस्तै हो, यसो गरेमा पछि पातक लाग्छ । ठकुरीहरूको सवारी गर्नु भनेको सिंहको सवारी गर्नु जस्तै हो । पछाडि दगा हुन्छ । मगरहरूको सवारी गर्दा टांँगन घोडाजस्तै हो । यसो गर्दा ढिलो हुन्छ । तर खसहरूको सवारी गर्नु भनेको ताजी तुर्की घोडाको सवारी गर्नुजस्तै हो । यसैले खसहरूको सवारी गरेमा आपूmले आंँटेको काम चाँडै फत्ये होलाजस्तो मलाई लाग्छ ।

पृथ्वीनारायण शाहले वि.सं. १८३१ मा देहान्त हुनुअघि टिपाएको तथ्य वृत्तान्त (दिव्योपदेश) मा पाल्पाका युवराज तथा मामा उद्योत सेनका अर्ती सम्झेर बोलेका त छन् तर उनले सङ्गठन गरेको सेनामा खस, मगर, गुरुङ र ठकुरी बाहेक आफ्नो राज्यमा बसोबास गर्ने सबै जातका युवालाई सेनामा भर्ती भएर नेपाल एकीकरणको महान यात्रामा सहभागी हुने मौका दिएका थिए । वर्तमान नेपाल एकीकरणका युद्धमा पाँडे (पाण्डे, पन्त (पन्थ), अर्याल (अज्र्याल), थापा, बस्न्यात, रोकाया, बोहरा, पाठक, गुरुङ्ग (घले, राना (मगर), खवास, कँुवर, खत्री, शाह (शाही), बाँनिया, विष्ट, माझी, अधिकारी, भण्डारी आदि जातका सैनिकको सक्रिय योगदान थियो । हाल नेपालमा १२५ भन्दा बढी जातजातिको अस्तित्व रहेको छ र कतिपय जातिहरू सरकार विरोधी र प्रजातान्त्रिक आन्दोलनमा भाग लिएर चर्चित बन्ने प्रयासमा छन् । तर नेपाल राष्ट्र (देश) निर्माणको महान अभियानमा ती जातिको सहभागिता देखिदैन । नेपालमा केही दशकयता भएका आन्दोलनबाट नागरिक अधिकार सम्पन्न भएका छन् तर राष्ट्रको दीर्घकालीन हित र राष्ट्रियताको जगेर्नामा अधिकारकर्मीहरू चुकेका छन् । ती आन्दोलन र अभियानको राष्ट्रिय हितका दृष्टिमा खास औचित्य पाइँदैन ।

वि.सं. १७९९ मा गोर्खा राज्यको राजा भएपछि पृथ्वीनारायण शाहले बनारसको यात्रा गरे र केही बन्दुक, बन्दुक मर्मत गर्ने, चलाउने, सिकाउने मुसलमान कालीगढसमेत गोर्खा ल्याए र गोरखाली सेनामा अजिटन पद र गोरखामा घरखेत दिएर राखे । गोर्खाका गाउँगाउँमा गएर युवाहरूमाझ ‐ यत्तिकै बसेर केही हुँदैन, पौरख गर्नुपर्छ, राज्य विस्तार गर्नुपर्छ भनी युद्धका लागि उत्प्रेरित गर्नथाले । जनतासँग सामिप्यता बढाए सैनिकको हौसला बृद्धि गर्नथाले । सैनिकसँगै आफैँ युद्धमा साथ लागे । छिमेकी लमजुङ र उपत्यकाको भक्तपुर राज्यसँग सन्धि गरेर सम्भावित अवरोधबाट ढुक्क भए । सहयोगका लागि मार्ग प्रशस्त गरे ।

वि.सं.१८०१ असोजमा तत्कालीन कान्तिपुर अधिनको नुवाकोट विजयपछि क्रमशः उनले काठमाडौँँ उपत्यका वरपरका स‐साना क्षेत्रहरू विजय मात्र गरेनन्, त्यहाँका जनतालाई आफ्नै बनाए । सम्भावित सैनिक प्रतिभा भएका युवालाई घरखेत दिएर सेनामा भर्ती गरे । नुवाकोटपछि साँखु, चाँगु, महादेवपोखरी, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, कीर्तिपुर, कान्तिपुर, ललितपुर, भक्तपुर, पूर्वी नेपालका विजयपुर, चौदण्डी, किराँत प्रदेश लगायतको ठूलो र विशाल भू‐भाग विजय गरी वि.सं.१८३१ माघ १ मा मृत्यु हुनुअघि, विश्वमानचित्रमा अस्थिर र क्रमशः बिलुप्त हुंँदै गएको नेपाल र नेपालीको लागि भविष्यको एक स्वतन्त्र नेपाल राष्ट्रको परिकल्पनालाई साकार तुल्याउन स्पष्ट योजना (बाटो र आकार देखाइदिए ।

पृथ्वीनारायण शाहले भू‐भागको विजय मात्र गरेनन्, बलियो अनुशासन, स्तरीय तालिम र आम मानिसले भरोसा गर्न योग्य एक सैनिक सङ्गठनको जग पनि राखिदिए । त्यस सैनिक सङ्गठनमा विभिन्न पदहरू सृजना गरिदिए । गोरखा, गोरखादेखि पश्चिम र काठमाडौँ उपत्यका वरपर एवं पूर्वीक्षेत्रका वासिन्दाहरूमा सत्य युगका देव वंशदेखि, त्रेता, द्वापर र कली युगसम्मका आफ्ना पूर्वजको संस्कार र मनोभाव मन मस्तिष्कमा ताजा थियो । समय अलग थियो, राज्य र परिवेश अलग थियो तर प्राचीन देव वंशका अनुयायी उनीहरू, पूर्वजका प्राचीन राजकीय मनोविज्ञानमा बाँचिरहेका थिए । युवाहरूमा साहस, वीरता र त्यागको भावना त थियो तर त्यो कहाँ ? कसरी ? कहिले ? प्रष्फुटन गर्ने भन्ने अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेको परिवेशमा पृथ्वीनारायण शाह ‘मियो’ बनेर ती वीर, साहसी, समर्पित युवालाई विभिन्न पदले सुशोभित तुल्याए अनि आपूm वरिपरि सजाएर राखे । आफ्ना पूर्वजका सोही मनोविज्ञान र संस्कारअनुरूप आपूm र आफ्नो परिवार, वंश, सन्तति, कुल, संस्कृति, परम्परा, धर्म, देश समेतको सुरक्षा र सम्बद्र्धन हुनसक्ने सम्भावना देखेर यस भू‐भागका वासिन्दाहरू आपूmमा निहीत शौर्य देखाउन, त्याग गर्न, आपूmलाई समर्पण गर्न, बलीदान गर्नको खातिर पृथ्वीनारायण शाहले सङ्गठित गरेको सेनामा प्रवेस गरे । आपूmलाई सङ्गठनका उच्च पद पाउन र योग्य सावित गर्न सक्दो प्रयास गरे । त्यो प्रयास केवल पदको लागि पनि थिएन, आजका मानिसले अपेक्षा गर्नेजस्तो व्यक्तिगत कमाई र लाभका लागि थिएन । त्यस प्रयासभित्र देश निर्माणको असल चाहना थियो । सदियौं वर्षअघिदेखि आफ्ना पूर्वजले भोग्दै आएका पीडा, हीनतावोध र कमजोर भएर रहनुपर्दाका कठिनाईलाई महसुस गर्दै, अबका दिनमा आपूm र आफ्ना सन्तानले युगौँ पछिसम्म यस्ता पीडा भोग्न नपरोस् भन्ने राम्रो कारण थियो ।

‘सुबेदार’ नेपाल भूमि र नेपाली सैनिक सङ्गठनमा यही परिप्रेक्ष्यमा सृजना भएर हुर्किएको, फुलेको, फलेको एउटा महत्वपूर्ण पद हो । पृथ्वीनारायण शाह गोरखाका राजा हुँदा अस्तित्वमा रहेका स‐साना राज्यमा साना–ठूला सैनिक सङ्गठन थिए र त्यहाँँ अनेकौँ सैनिक पद थिए । तिनको योगदान आज गणनामा छैन । तर गोरखा राज्यको सैनिक सङ्गठनमा प्रचलनमा रहेको सुबेदार पद त्याग, समर्पण, एकता र बलिदानीको धरोहर बन्नसक्यो । सुबेदारहरूले आपसी सहयोगका लागि, समाजको भलाईका लागि, जातीय स्वाभिमानका लागि ‘आत्म बलिदानलाई सभ्यता मान्ने’ आफ्ना पूर्वजका आदर्श पक्षलाई साँच्चिकै व्यवहारमा उतारिदिए । त्याग र बलिदानलाई आत्मसात गर्ने कतिपय सुबेदार इतिहासका पानामा अमर बन्न सकेका छन् ।

संसारका स्थान विशेषका सैनिकको युद्ध लड्ने तौर तरिका फरक हुन्छन् । प्रायः जातीय र स्थान विशेष अनुकूल अपनाइने त्यस प्रकारका युद्धशैली त्यहाँको सैनिक सङ्गठनका लागि संख्या, हतियार आदि स्रोत–साधन जत्तिकै महत्वपूर्ण मानिन्छन् । पृथ्वीनारायण शाहको नेतृत्वमा सङ्गठित नेपाली सेनाका सुबेदार हरूले आपूmभन्दा संख्या, हतियार, तालिम आदि सबै पक्षमा सबल सैनिकसँग गुरिल्ला युद्ध लडेर शुत्र सेनालाई हायलकायल पारेका थिए । पहाड र जङ्गलले ढाकिएको नेपालको भूगोलमा यदि आपूmभन्दा बलियो शक्तिसंग लड्न परेमा गुरिल्ला शैलीमा युद्ध लडेर, देशको भूमि जोगाउन तत्कालीन सेनानायक र सुबेदारहरूले आजका सैनिकका लागि हस्तान्तरण गरेको सबल सैन्य सङ्गठन र देशको नक्शापछिको अर्काे एउटा अचूक अस्त्र हो । भारत र चीनजस्ता विशाल र शक्तिशाली देशका बीचमा रहेको नेपाल र नेपाली सैनिकका लागि गुरिल्ला युद्धशैली पूर्वजबाट प्राप्त अर्काे एक महत्वपूर्ण आत्मबल हो । वर्तमान नेपाल एकीकरण अभियान थालनीको नेतृत्वकर्ता राजा पृथ्वीनारायण शाह थिए भने सफल गुरिल्ला युद्धका प्रयोगकर्ता खासमा उनका सुबेदारहरू नै थिए । नेपाली भूमिमा गुरिल्ला युद्धको सफल प्रयोगका नायकका रूपमा त्यसकालका सुबेदारको खोज र यथोचित मूल्याङ्कन हुन बाँकी छ ।

खासगरी वि.सं. १८१९ मा मकवानपुर राज्य विजय र सोही वर्ष मीरकासीमका सेनापति गुर्गीन खाँ नेतृत्वको सेनालाई पराजित गरी हात परेका हतियारको आधारमा पृथ्वीनारायण शाहले खडा गरेका पाँच स्थायी सैनिक कम्पनीका मुख्य अधिकृत सुबेदार पद बनेपछि, नेपालमा सुबेदार चर्चामा आउन थालेको हो । तत्कालीन अवस्थामा सुबेदारहरू युद्ध र नेतृत्वको दोहोरो भूमिकामा थिए । उनीहरू सैन्य सङ्गठनभित्र तल्लो तहका सैनिकको अभिभावकझैँ थिए । त्याग उनीहरूमा प्रबल थियो । विजयको अभिलाषा उच्च थियो । जसरी मैनवत्तीको डोरीले आपूmलाई जलाएर अरुलाई उज्यालो छर्दछ, त्यसरी नै तत्कालीन सुबेदार हरूले युद्धमा आपूmलाई बलिदानी गरेर आजका नेपालीलाई सिङ्गो देशको नक्शा दिएका छन् । जसरी घरको पर्खालमा कैयौँ इँट्टाले थिचिएर, छोपिएर, पुरिएर, घरलाई सिङ्गो स्वरूप प्रदान गरिरहेका हुन्छन्, त्यसरी नै तत्कालीन सुबेदारहरूले आपूmलाई देश निर्माणको महान वेदीमा होमेका छन्, समर्पण गरेका छन् । भङ्गाला फाटेका नदीका हाँगाझैँ एक–अर्काे राज्यमा विभाजित भएका नेपालीहरू, नेपाली सेनाको सिङ्गो स्वरूपमा समाहित भएर, एकीकृत भएर युद्ध लडे र आपूm मात्र जोडिएनन् देशलाई र भूगोललाई पनि एउटै सूत्रमा जोड्न सफल भए । परधर्मीहरूको आक्रमणबाट आफ्नो भूमिलाई सदा स्वतन्त्र राख्नसके । जाति, धर्म र संस्कृतिमाथि हुनसक्ने आक्रमणबाट बचाए । ‘सुबेदार’ खासमा अलगअलग देशमा फुटेको भूमि र योद्धालाई एउटै डोरी (देश) मा जोड्ने अदृश्य ‘रसायन’ बन्यो । सुबेदार रक्षक बन्नसक्यो । ‘सुबेदार’ हरू असल अभियन्ता बन्न सफल भए ।

नेपालका सुबेदारहरूले देश मात्र निर्माण गरेनन्, टुक्रिएर, क्षीण हँुदै गएको राष्ट्रिय शक्तिलाई, नेपाली जातीय वीरतालाई एकत्रित गरी, छरिएर, सुषुप्त अवस्थामा रहेको आर्य, खस, क्षत्रीय वीरताको जिजीविषालाई पूर्णता दिए । टुक्रा राज्यमा विभाजित लडाकु र ती राज्यप्रति वफादार सैनिक र जनतालाई गोरखा अर्थात् नेपालको केन्द्रीय राज्यप्रति वफादार बनाउन सफल भए । एकताबद्ध भए शक्ति आर्जन हुने रहेछ भन्ने सन्देश दिए । आफ्नै खुट्टामा उभिएर, आफैँ लड्नसक्ने क्षमताको विकास गरे र त्यसलाई निरन्तरता दिन समर्थ बने । नेपाली वीर जातिको परिचय दिन सफल भए । नेपाली जातिमा, नेपाली भूमिमा, नेपाली सेनामा, इमान्दारी, वीरता र बहादुरीको परम्परा कायम राख्न सफल भए । यस क्षेत्रका साना–ठूला राज्यको अस्तित्व निमोठ्दै आएको अङ्ग्रेज शक्तिको आक्रमणको प्रवाह रोकेर, नेपाल भूमि र नेपाली जातिको, गोर्खाली जातिको, विश्वमै वीर गोर्खाली, वीर नेपालीको यशश्वी पौरुषत्व आर्जन गर्न तत्कालीन सुबेदारहरू सफल भए । एकीकरणको त्यही चरणबाट नेपाल र नेपालीको वीरता विश्वप्रसिद्ध हुनेक्रम सुरु भएको हो । विश्वको सैन्य रङ्गमन्चमा नेपालीहरूको बहादुरीको गाथा त्यसपछि नै लेखिएको र फैलिएको हो । बहादुर लडाकु गोरखाली र वीर नेपालीको यशश्वी गाथा शताब्दीयौं पछिसम्म अझै ताजा छ । यस सुकार्यका लागि पर्दापछाडि रहेका अरु पदका र सुबेदारको भूमिका अनुकरणीय छ । आपूm वीर बनेर चम्किएर, कोरा युवालाई वीरताको कसीमा घोटेर, सुप्रसिद्ध वीर बनाउन तत्कालीन नेपाली सेनाका सुबेदारहरूले खेलेको भूमिका अनन्त र अतुलनीय छ । यस भूमिमा वीर पुरुष उत्पादन गर्नमा, उनीहरूमा वीरता भर्न, वीरताको प्रेरणा छर्न, देशभक्तिमा समर्पित बन्न, ‘सुबेदार’ पदको विशिष्ट योगदान छ । नेपालमा मात्र नभएर विश्वमै, सुबेदारको योगदान, सदैव चीरस्मरणीय छ । तसर्थ, ‘सुबेदार’ केवल नेपाली सैनिक सङ्गठनको मात्र नभएर नेपाल देशका गौरव हुन् । विश्व सैनिक इतिहासमा ‘सुबेदार’ अथक योद्धा हुन् । वीर सपूत हुन् । विश्व सैनिक रङ्गमन्चमा कहिल्यै नअस्ताउने चहकिला तारा हुन् ।

मोहन थापाद्वारा लिखित ‘सुवेदार’ पुस्तक अंश सेतोपाटीबाट साभार गरिएको हो । पुस्तक पुस २७ गते विमोचन हुँदैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।