विसंगती बिरुद्व बोल्ने अधिकार त हामीलाई लोकतन्त्रले दिइसक्यो नि श्रीमान, अदालतको अपहेलना भन्दै हामीलाई नथुन्नु होला !

मुलुकको न्यायलय आज चर्चाको शिखरमा छ । न्यायलय, अझ सर्वोच्च अदालत र त्यस माथि पनि प्रधानन्यायधीशका विषयमा यति धेरै टिका टिप्पणी विरलै हुने गर्दछ ।

सत्याग्राही अभियन्ता डा.गोविन्द केसीलाई सर्वाेच्च अदालतको आदेशमा थुनामा राखि मंगलबार बयानका लागि अदालत लगियो । विभिन्न माग राखी पटक पटक आमरण अनसन बस्दै आएका चिकित्सक डा केसीले यस पटक अन्य माग सँगै प्रधानन्यायधीश गोपाल पराजुलीको बरखास्तीको माग राखे ।

डा केसीका आजसम्मका सारा मागहरु उचित वा अनुचित थिए भन्ने बारे टिप्पणी गर्न चाहन्न तर श्रीमान, विसंगती बिरुद्व बोल्ने अधिकार त हामीलाई लोकतन्त्रले दिइसक्यो नि ।

के विसंगती विरुद्व बोल्ने अधिकारलाई संकुचित पार्न सकिन्छ ? तर यस घटनामा जुन फास्ट ट्र्याक शैलीमा डा केसीलाई समातियो र अदालतमा बुझाइयो त्यसबारे बोल्ने अनुमति पाउँ श्रीमान ।

श्रीमान यो मुलुकमा २ लाख ९५ हजार भन्दा बढी मुद्वा छन् । न्याय पाउने आशामा कतिका लाली जोवन सकीए, कतिका खेतबारी सकिए, कतिका परिवार विस्थापित भए ।

न्याय पाउने आशामा अदालत छिरेका नौ जवान आज अशकत, जर्जर वृद्ध भैसके । न्याय खोज्न अदालत छिरेका कति जना तारिख, पेशी धाउँदा धाउँदा मरिसके ।

ब्लियो छिमेकीले निर्धो छिमेकीको साँध सिमाना मिचिदिन्छ । न्याय माग्न जाँदा वकिल वकिलकै सेटीङ मिलीसक्छ ।
मुलुकमा गरीबले न्याय पाउने वातावरण छदै छैन श्रीमान । अदालतले न्याय दिएन भन्नेहरुलाई टुँडिखेलमा हाजिर गराउनु भन्ने आदेश दिइ हेर्नुस श्रीमान, टुँडिखेल भरिन्छ, न्याय नपाएका, न्याय पखिएका र अन्यायमा परेकाहरुको भिड नियन्त्रण गर्न सकिने छैन ।

सेटिङ मिलाउन न्यायलय वरपर सल्बलाउने दलालहरु मुद्वाको मोलमोलाई गर्छन भन्ने कुरा ओप्पन सिक्रेट भैसक्यो ।
अर्थ लगाउनेले यहि अभिव्यक्तिलाई पनि अदालतको अपहेलना भन्न सक्छन् । तर श्रीमान यो अदालतको अपहेलना होइन, बरु अदालतलाई देखाएर न्यायको व्यापार गर्नेहरुको विरुद्व ओकलिएको आगो मात्रै हो ।

गरीब, निमुखा र आवाज बिहिनहरुलाई कुनै फटाहाले चाह्यो भने आजीवन अदालतको चक्करमा फसाइदिन सक्छ, त्यसको विरोध नगर्ने श्रीमान ?

आयल निगम काण्डमा गोपाल खड्काले पुर्नवहाली पाएको, एनसेलले लाभकर तिर्नु नपर्ने निर्णय भएको, चुडामणी शर्माले राजश्व छलिमा उन्मुक्ति पाएको जस्ता कयाँै फैसलाहरु चित्त नबुझाएर त्यसका विरुद्व धेरैले बोले ।

त्यस हिसाबले १÷२ जनाले होइन श्रीमान, हजाराँै लाखौँले सम्मानित अदालतको अपहेलना गरे । सबलाई पक्रने र फास्ट ट्र््याक अदालतमा झिकाउने हो भने देशमा जेलहरु बढाआँै ।

सुनुवाइ नभएर थन्किएका सर्वसाधारण मानिसका मुद्वाहरुमा धुलो जमिसके, गाला र निधारमा ८० ओटा मुजा परिसके, कति त कुर्दा कुर्दै परमधाम भैसके तर श्रीमानको बर्खास्तीको माग राखेर अनसन बसेको ४ घण्टामै डा केसी समातिए र भोली पल्टै बयानमा उपस्थीत गराइए ।

बस यही स्पीड सर्वसाधारणको मुद्वामा पनि देखिए क्या मज्जा आउँथ्यो होला । कत्राकत्रा अपराधीहरु बर्षौदेखी फरार भै टोपलेका छन्, तर अनसन बसेका एक सत्यागाही भाग्ला भन्ने पिर परेर होला सुपर फास्ट ट्र्याकमा समातिए ।

श्रीमान र श्रीमानहरुले गरेको फैसलाहरु न्यायोचित भएनन भने पटक पटक बोल्न कराउन र चिच्याउन पाइन्छ । यति बोल्दा अपहेलनाको मुद्वा हामी माथी चाँही नलागोस श्रीमान नत्र कतिखेर हाम्रो मुख बन्द होला भनेर दाउ हेरेर बसेकाहरुको हड्डी हाँस्ने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।