राष्ट्रियसभा मा कांग्रेसले पक्का जित्ने २ सिटमा रामचन्द्र र विमलेन्द्र उम्मेदवार
काठमाडौं, ६ माघ । बिहीवार र शुक्रवार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तीन बुँदे निर्णय गर्यो । बैठकअघि विभिन्न स्वरुपमा कांग्रेसका असन्तुष्टि सतहमा आएका थिए । ती असन्तुष्टिको मुल चुरो चुनावी पराजयको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाको टाउकोमा हाल्ने र उनलाई नेतृत्वबाट अलग गरी विकल्प देखाउनेसम्म केन्द्रित रह्यो ।
यद्यपि केन्द्रीय समितिको बैठकमा चुनावको समीक्षा भने भएन । केहि अघि संयुक्त वक्तब्य जारी गर्ने सात केन्द्रीय सदस्यहरुको प्रस्तुति पनि एकतावद्ध थिएन । बरु त्यो सातभाइ समुह भन्दा अलग रहेका पूर्व महामन्त्री प्रकाशमान सिंहले भने देउवालाई खुलेरै चुनौति दिए ।
जतिसुकै छलफल भए पनि केन्द्रीय समितिको बैठकले सार्वजनिक गरेका तीनवटा निर्णय भने टालटुले प्रकृतिका छन् । पहिलो बुँदा मार्फत पार्टी भित्र अत्यधिक आलोचना गरिएका सभापति शेरबहादुर देउवाले संविधान निर्माण गरेको र अहिले निर्वाचन मार्फत संविधान कार्यान्वयन गर्न भूमिका खेलेको जस लिंदै पार्टी कार्यकर्तालाई धन्यवाद दिएका छन् ।
चुनावी समीक्षा गर्ने र गत निर्वाचनमा उम्मेदवार बनेर पराजित भएकालाई अन्य अवसर दिने कुराको आलोचना भए पनि आफूप्रति पार्टी भित्रबाट आउन सक्ने चुनौति आकलन गरेका देउवाले नेताद्वय रामचन्द्र पौडेल र विमलेन्द्र निधिलाई राष्ट्रियसभामा जसरी पनि लैजाने मानसिकता बनाएका छन् । पार्टी केन्द्रीय समितिको निर्णयमा राष्ट्रियसभाको सदस्य बन्ने मापदण्डका बारेमा प्रसंग नै उल्लेख नभएपछि सदस्यहरुले प्रतिवाद गरेका थिए । उनीहरुको डर के थियो भने देउवाले फेरि पनि आफूखुसी निर्णय गर्नेछन् ।
आलोचना भएपछि देउवाले तत्काल निर्णय लेख्न र भाषा सुधार गर्न प्रकाशशरण महतलाई जिम्मेवारी दिए । देउवाको इच्छा बुझेका उनले निर्णय नम्बर २ मा थपिदिए– राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयन गर्नका लागि केन्द्रीय कार्यसमितिमा आएका सुझावलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएका साथीहरुलाई उम्मेदवार बनाउने ।’
केन्द्रीय सदस्यहरुको माग अनुसार प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेर पराजित भएकालाई राष्ट्रियसभामा उम्मेदवार नबनाउने विषय उल्लेख नै भएन । यहि निर्णयले अन्त्यमा वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापतिका आकांक्षी विमलेन्द्र निधिलाई राष्ट्रियसभामा पुर्याउने बाटो खोलेको हो ।
कांग्रेस भित्र फरक गुटको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला, कोइराला परिवार र अहिले नयाँ बनेको सातभाइ समुहले भर्खरै सम्पन्न निर्वाचनमा पराजित कसैलाई पनि उम्मेदवार बनाउन नहुने तर्क गरेका थिए । बैठकको अन्त्यमा कोइराला परिवार भित्रका डा शशांक कोइराला मौन बसिदिएपछि देउवालाई यो निर्णय गर्न सजिलो भएको हो ।
देउवाको योजना अनुसार अव निधि प्रदेश २ को खुलातर्फ राष्ट्रियसभाका उम्मेदवार बन्नेछन् भने रामचन्द्र पौडेल पनि प्रदेश ४ बाट खुलातर्फ उम्मेदवार बन्नेछन् । चुनावी पराजयमा देउवाको दोष देखाइरहेका पौडेललाई राष्ट्रियसभा सम्म पुर्याउन पाए अव आउने महासमितिको बैठकमा आफूप्रतिको आलोचना मत्थर हुने देउवाको विश्वास छ । प्रदेश २ र ४ मा खुला र महिलातर्फ एक एक स्थान राष्ट्रियसभामा जित्न सक्ने मतभार कांग्रेससँग छ । चक्रपथ


