विदेशमा भाँडा माझ्नु भन्दा त आफ्नै देशमा खेत जोत्न राम्रो

गाउँमा विदेश नजाने घर थिएनन् । सबै जना विदेश गएर फर्किंदा कमाएरै फर्किन्थे । मलाई पनि त्यस्तै लाग्यो । गाउँमा खेतीपाती गरेर खर्च धान्न गाह्रो थियो । गरिखान न कुनै व्यवसाय न जागिर । मैले पनि विदेश नै जाने सोचेँ ।

कुकको कामका लागि सन् २०१० मा मलेसिया गएको थिएँ । कुकको काममा त तलब पनि राम्रै होला भन्ठाने । मलाई के थाहा र विदेशको दुःख । २९ वर्षको उमेरमा मलेसिया पुग्दा मलाई निकै कमाउन सक्छु भन्ने आशा थियो ।

त्यो सँगै गाउँमा विदेश जाने देखासिखी नै चलेको थियो । दलाललाई १ लाख ५ हजार रुपैयाँ बुझाएर मलेसिया पुगेको म भाँडा माझ्नु पर्दा पो झस्किएँ । के लाख रुपैयाँ मैले यही भाँडा माझ्ने कामका लागि तिरेको थिएँ भन्ने सोचेर साह्रै नराम्रो लागेका थियो ।

तर के गर्नु कुकको काम मात्र गर्छु भनेर भएन । काम गर्न नजानेपछि । फेरि भाषा पनि आउँदैन थियो । धेरै मलेसियनहरु नै थिए । अलिअलि नेपाली पनि । नेपाली कुक भएकाले मलाई केही सजिलो त भयो । तर भाषा नजान्दाको पीडा त सम्झन मन पनि लाग्दैन ।

तीन महिना भाँडा माझेपछि बल्ल भान्छाको काम गर्न पाएँ । सुरु सरुमा त यसो कुकलाई सघाउने काम गरे । त्यो पनि नेपाली कुक भएकाले पाएको नत्र त कतिन्जेल भाडा माझ्नु पथ्र्यो पत्तो थिएन ।

बिस्तारै काम जाने । पकाउने काम नै गर्न थाले । तर १ वर्ष बित्नै लाग्दा बुवा बित्नुभयो । त्यो बेला कम्पनीले मलाई घर फर्कन दिएन । जान्छु भन्दा पैसा राख्न पर्छ, आएको १ वर्ष पनि भएको छैन भन्दै बिदा दिएन ।

यता घरमा बुवा बित्नुभएको म उता दिनभरी के के पकाएर बसेँ । मलाई त्यतिबेला त मरेकै जुनी लागेको थियो । तर के गर्नु बाध्यता । कमाउन गएको मान्छे बहकिन नमिल्ने काम छाडेर आउन पनि नमिल्ने ।

म त्यसपछि ३ वर्षमा घर फर्किए । विदामा आएकाले फेरि गएँ । बिहान ८ बजेदेखि राती ११ बजेसम्म काम गर्नुपर्ने । १५÷१६ घण्टा खट्दा महिनामा तलव एक हजार देखि ११ सय रियालसम्म हुन्थ्यो । घर विदाबाट फर्किएको १ वर्षसम्म काम गरे अनि फर्किए ।

यो ४ वर्षमा मैले ११÷१२ लाख रुपैयाँ कमाएर होला । तर खासै बचेन । १ वर्षको कमाइ त बुवा बिरामी हुँदा नै सक्कियो । फर्किएर घर बनाए । अलिअलि बाँकी रहेको पैसाले व्यवसाय गर्ने सोचे ।

पहिले सँगुर व्यवसाय गरेँ । तर यो खासै राम्रो भएन । त्यसपछि मैले कुखुरा फारम खोलेँ । झण्डै डेढ लाख लगानीमा सुरु गरेको कुखुरा फारमले अहिले मलाई मलेसियाको भन्दा दोब्बर फाइदा छ ।

४५ दिनका कुखुरा एक्केचोटी बेच्दा खर्च कटाएर ५० हजार जति बच्छ । मेरो फारमका कुखुरा म आफैं काठमाडौंसम्म ल्याएर बेच्छु । काठमाडौंका व्यापारीसँग पनि चिनजान भएको छ । यसले गर्दा यो व्यवसाय गर्न मलाई सजिलो भएको छ ।

अब यी कुखुराको मललाई प्रयोग गरेर तरकारी व्यवसाय गर्ने सोचेको छु । यसको अलवा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सिन्धुलीमा रहेको सूचना केन्द्रमा रिटिर्नी भोलियन्टियरको काम पनि गरिरहेको छु ।

उ बेला नजानेर विदेश गइयो । गरौं भने त देशमा पनि गर्न सकिने रहेछ । त्यसैले अर्काको देशमा भाँडा माझ्नु भन्दा त आफ्नै देशमा खेतजोत्न सबैलाई सुझाव दिन्छु । अहिले त देशमा पनि परिवर्तन आउँदैछ । काम जानेको छ, राम्रो काम हो भने त ठिकै हो । नत्र अरुको लहैलहमा विदेश कोही पनि नजानु होला ।

गंगाबहादुर रानामगर/कमलामाई नगरपालिका, सिन्धुली ।
(सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित – उज्यालो अनलाईनबाट )



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।