रुद्राक्ष खेतीतिर आकर्षित हुँदै धनकुटाको लुम्लिङ गाउँ
धनकुटा खबर । कुनै बेला खाद्यवालीको पकेट क्षेत्र मानीने धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ लुम्लिङ अहिले रुद्राक्ष दाना उत्पादन पकेट क्षेत्रको रुपमा चिनिन थालेको छ ।
केही दशक अघिसम्म खाद्यवालीको खेती हुने गरेको यहांका जमिन अहिले रुद्राक्षको विरुवाले ढाकिएका छन् ।
धार्मिक तथा स्वास्थ्यका हिसावले अति महत्वपूर्ण मानिएको रुद्राक्ष दानाको माग वढेसँगै यहाँका किसानले व्यवसायिक खेती सुरु गरेका हुन् ।
२०३२ सालमा भोजपुरको दिङ्लावाट रुद्राक्षको विरुवा ल्याएर गाउँमा खेतीको सुरुवात गर्नु भएका अगुवा किसान चन्द्र केसीले हाल चारसय रुद्राक्षका विरुवा खेती गनुभएको छ । हाल रुद्राक्ष दाना विक्रीवाटै सबै खर्च टर्ने गरेको उहाँले बताउँनु हुन्छ ।
हाल सो गाँउका १ सय ४० घरपरिवारले रुद्राक्ष खेती गर्दै आइरहेका छन् । यहाँका किसानले घटीमा पाँच वोट देखि ४ सय वोटसम्म रुद्राक्षका विरुवा लगाएका छन् । रुद्राक्ष वाट बार्षिक प्रतिपरिवारले एक लाख देखि तिसलाख रुपैया सम्मको कारोवार गर्ने गरेका छन् ।
खाद्य वालीको भन्दा रुद्राक्ष खेतीवाट दोब्वर फाइदा तथा खेति गर्न सहज हुने भएकाले यो खेति तर्फ आकर्षित भएको स्थानिय नेत्र अधिकारीको भनाई छ ।
रुद्राक्ष खेतीलाइ अरु वालीको जस्तो स्याहार सुसार गर्नुनपर्ने, सिचाइ नचाहिने तथा सुख्खा ठाउँमा गर्न सकिने तथा ब्यापारी घरघरमै किन्न आउने भएकाले रुद्राक्ष खेती नगदे वालीको रुपमा परिणत भएको हो ।
पुर्बको संखुवासभा र भोजपुरमा हुने रुद्राक्ष खेति प्रति धनकुटाका कृषकको समेत आकर्षण बढ्दो छ । धार्मिक तथा स्वास्थ्यका हिसावले अति महत्वपुर्ण मानिएको रुद्राक्ष दानाको माग वढेसँगै धनकुटामा व्यवसायीक खेतीको लहर चलेको छ ।


